शिक्षामा फड्को मारेको नमुना ज्ञानोदय
Monday, March 21st, 2022, 8:44 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, ७ चैत
बाँकेको खजुरा गाउँपालिका–३ खजुरामा रहेको ज्ञानोदय नमुना माध्यामिक विद्यालय जिल्लाको मात्र नभएर प्रदेशमा नै चर्चामा रहेको विद्यालय हो । पालिकाको कान्छो विद्यालयका रुपमा पनि परिचित ज्ञानोदयको इतिहास छोटो भएता पनि भौतिक प्रगति र शैक्षिक प्रगतिमा विद्यालयले राम्रो फट्को मार्न सफल भएको छ । यद्यपी ज्ञानोलयले जिल्लामा रहेका सामुदायिकस्तका विद्यालयहरुमा आफ्नो नमुना पेस गरेको छ ।
२०३४ सालमा स्थापना भएको ज्ञानोदयलको सुरुवात प्राथमिक तहको अध्यापनबाट भएको थियो । माटोको गाह्रो र खरको छानो तथा टहराबाट तत्कालिन विद्यालय व्यवस्थापन अध्यक्ष उदयानन्द न्यौपाने र विद्यालयका प्रध्यानाध्यापक बालकृष्ण पौडेलले विद्यालयको अध्यापन सुरु गरेका थिए । यसबेला ज्ञानोदय नजिक अन्य सामुदायिक विद्यालयले मावि तहसम्म अध्यापन सुरु गरिसकेका थिए ।
२०३४ सालदेखि २०५० सालसम्म ज्ञानोदयमा प्राथमिक तहसम्ममात्र अध्यापन भई रह्यो । तर विद्यालयले उक्त १६ वर्षमा चारजना विद्यालय व्यवस्थापन अध्यक्ष र एकजना प्रध्यानाध्यापक भने परिवर्तन गरिसकेको थियो ।
२०५० सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा महेन्द्र मल्ल र नयाँ प्रध्यानाध्यापक घनश्याम अधिकारी आए । १६ वर्षको मेहनतपछि २०५१ सालमा ज्ञानोदयले आफ्नो पहिचान बढाउन सफल भयो । प्राथमिक तहदेखि ज्ञानोदय निम्न माध्यामिक विद्यालयमा परिणत भयो ।
निम्न माध्यामिक विद्यालयमा परिणत भएपछि ज्ञानोदयले शैक्षिक एवम् भौतिक विकासमा गुणत्मक प्रगति गर्दै आएको इतिहास हेर्न सकिन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मल्लपछि बेदनिधि प्याकुरेल, शिवराज श्रेष्ठ, पूर्ण बहादुर भण्डारी, कोपिला कंडेल र हाल भक्तबहादुर केसी एवम् प्रध्यानाध्यापकमा अधिकारीपछि कृष्ण बहादुर थापा, विनोद कुमार श्रीवास्तव, कृण बहादुर थापा, ऋषिराम सापकोटा, धमानसिंह बस्नेत र हाल पुनः ऋषिराम सापकोटा आइपुग्दा ज्ञानोदयले व्यक्तिको संख्या भन्दा बढी प्रगति गरेको छ ।
१६ वर्षमा प्राथमिक तहदेखि निम्न माध्यामिक तहमा उत्तिर्ण भएको ज्ञानोदय पुनः २०५४ साल माध्यामिक तहमा परिणत भयो । साथै २०५६ सालमा उच्च माध्यामिक हुँदै २०६६ सालमा स्नातक तह वीएड र २०७३ सालमा प्राविधिक सिभिल इन्जिनियरिङ कक्षा ९ अनुमति पाएको थियो ज्ञानोदयले । त्यस्तै २०७३ सालमा ज्ञानोदयले शिक्षा मन्त्रालय शिक्षा विभागबाट नमुना माध्यामिक विद्यालयको रुपमा छनोट भएको थियो ।
हाल ज्ञानोदयमा नमुना गुरुयोजना निर्माण गरी कार्यान्वयन अगाडि बढेको छ ।
ज्ञानोदय नमुना माध्यामिक विद्यालयको वर्तमान अवस्था हेर्ने हो भने विद्यालय कूल २ विघा क्षेत्रफलमा फैलिएको छ ।
हाल विद्यालयमा एक हजार नौ सय ५० जना विद्यार्थी रहेका छन् । विद्यालयमा ६२ शिक्षकले कक्षा १२ सम्मका लागि ३५ वटा कक्षा संचालन गरेका छन् । विद्यालयका हरेक शिक्षकलाई अध्यापनका लागि ल्यापटप दिइएको छ ।
विद्यालयको २०७६ देखि २०७८ सम्मको औषत प्रतिशत हेर्ने हो भने कक्षा १२ सम्मको सिकाई अवधि ७२ प्रतिशत रहेको छ ।
विद्यालयमा आधुनिक भौतिक संरचना रहेका छन् भने केही निमार्णका क्रममा रहेका छन् । विद्यालयमा कम्प्युटर ल्याब, जीवशास्त्र प्रयोगशाला, भौतिकशास्त्र प्रयोगशाला, रसायनशास्त्र प्रयोगशालाहरु रहेका छन् ।
विद्यालयले सोमबारमात्रै एकैसात भूकम्प प्रतिरोधात्मक तीनवटा भवनको र चारवटा ल्याबको उद्घाटन गरेको छ । विद्यालयले आयोजना गरेको ४४औं वार्षिकोत्सव एवम् अभिभावक भेलामा कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, बाँके जिल्ला प्रमुख सूर्य बहादुर खत्रीले विद्यालयका पुर्व कार्यसमितिका पदाधिकारी, सल्लाहकार, अभिभावकहरुका बिच भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन गरिएको भवनमा एक करोड ५० लागतमा निर्माण गरिएको आठकोठे भवन, एक करोड ५० लाखमा निर्माण गरिएको ६ कोठे तीनतले भवन र एक करोड ५० लाखमा निर्माण गरिएको चारकोठे भवनको उद्घाटन गरिएको छ ।
त्यस्तै कार्यक्रममा कम्प्युटर ल्याब, जीवशास्त्र प्रयोगशाला, भौतिकशास्त्र प्रयोगशाला, रसायनशास्त्र प्रयोगशालाको पनि उद्घाटन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गरिँदै ।
ज्ञानोदयले गरेको प्रगतिमा विद्यालयसँग जोडिएका हरेक व्यक्तिको कर्म जोडिएको पालिका अध्यक्ष कक्षपति बताए । उनले भने, ‘विद्यालय व्यवस्थापन समिति, विद्यालयका कर्मचारी, शिक्षकहरुको इमान्दारीपूर्वक कामको प्रतिफल हो यो ।’
कक्षपतिले ज्ञानोदयमा नमुना माविमा हुनुपर्ने सबै सुविधा रहेको बताए । ‘नमुना मावि भनेको सुविधासम्पन्न विद्यालय हो । जुन ज्ञानोदयमा उपलब्ध रहेको छ । यो विद्यालयको चर्चा जिल्लामा मात्रै नभएर प्रदेशस्तरसम्म रहेको छ ।’
कक्षपतिले संस्थापक विद्यालयले पनि नमुना विद्यालय बन्न प्रतिस्पर्धा गर्नु पर्ने बताए । उनले प्रतिस्पर्धाको समयमा कुनै पनि विद्यालयले अध्यापनमा स्तरउन्नति गर्न नसकेको खण्डमा पछि पर्ने बताए ।
कक्षपतिले पालिकाका सामुदायिक विद्यालयका सबै विद्यालयको स्तरोन्नतिका लागि पालिकाले एक सय ९० शिक्षकलाई ल्यापटप वितरण गरिने बताए ।
सिडियो खत्रीले ज्ञानोलयले सामुदायिकमात्र नभएर संस्थापक विद्यालयलाई पनि चुनौति दिएको बताए । उनले विद्यालयको शैक्षिकस्तर देखेर मात्रै विद्यार्थीको आकर्षण हुने बताए ।
भवनको उद्घाटन गरिँदै ।
कार्यक्रममा विद्यालयमा २५ वर्षभन्दा बढी समयदेखि अध्यापन गराउँदै आइरहेका शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो । २५ वर्ष भन्दा बढी समय ज्ञानोदयमा व्यत्तित गरेका अहिलेका प्रध्यानाध्यापक ऋषिराम सापकोटा, चन्द्र प्रकाश खड्का, सरणहरि सापकोटा, विनोद कुमार श्रीवास्तल, पदमा कुमारी शर्मा, कमल चौधरी एवम् कर्मचारी राम बहादुर थापालाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो ।
साथै विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रमका अतिथिद्वारा पाचौं ज्ञानोदय स्मारिका पनि सार्वजनिक गरिएको थियो ।