कविता : जेल बाहिरको जेल
Saturday, March 26th, 2022, 12:51 pm
Kalpristha
जीवित खड्का मगर
जब हरिया सपनाहरूको हवाइजहाज एयरपोर्ट ओर्लिन्छ
र सबैभन्दा पहिले
मानिसहरूको खुट्टामा जंजीर लगाउँछ
अनि ओठहरूको मुस्कान झिकेर ओठमा राख्दै
आँखाहरूको दृष्टि आफ्नै आँखामा राख्छ
तब यस्तो लाग्छ,
अपराधीहरूले झैँ सजाय भोग्ने
यो एउटा कैदखाना हो ।
यहाँका सहरबाट हतार–हतार
बुर्ज खलिफासँग सेल्फी खिच्न हिँडेका टावरहरू
समुन्द्रलाई कोक्रो बनाएर
नानीको आमाले जस्तो भुरामाछा हल्लाइरहने छालहरू
या प्रत्येक घर, बंगला र गल्लीहरूको चौबाटोमा
तानाशाहको सालिक जस्तो उभिएर
आफ्नै शीरमाथि घाइते जून हेर्दै
मख्ख परिरहेका मस्जिदहरू
सबै–सबै मातिरहेछन्
त्यही सालिकले फेर्ने सास जस्तो
कट्टर हावाको प्रदुषण पिएर ।
यहाँ राहदानीहरू रोबर्ट भएका छन्
बोल्दैनन् मान्छे जस्तो
बिजुलीका नाङ्गा तारहरूले
आवाज माथि पासो थापेका छन् ।
उहिले–उहिले
बेलायत भ्रमणबाट फर्केपछि
जंगबहादुरलाई यहाँको उँट हेर्ने रहर लागेछ क्यार !
तर यो घाम खसेको मरुभूमिमा
उँट मालिकले
दुश्मन जस्तो लखेट्न थालेपछि
जंगेलाई जंग चढेछ
आवेगमा एउटा आँखा झिकिदिएर जंगेले
उसलाई यतै कतै झुन्डाइदिएको जस्तो लाग्ने भ्रम …
कि त्यसैले यहाँ मृत्युका डोरी सबैभन्दा सस्तो झुन्डिन्छ ।
जहाँ,
कुनै युवक काम गर्दागर्दै झोँक्र्याइरहेको हुनसक्छ
दलालको रिण चुक्ता गर्ने भारी तनावमा
या, मोबाइल फोनमा –––
’आमा ! म सन्चै छु ’ भन्न नपाउँदै
पिठ्युँ माथि बसेको मालिकबाट
घोडाले झैँ कोर्रा खानसक्छ
अथवा,
गम्भीर आरोपमा
ब्यस्त सडकको चौबाटो माथि झुण्डिनसक्छ
या कसाइँको हातबाट दुइ टुक्रा छिनिनसक्छ
ओ, नेपाल सरकार !
जेलमा रहेका तिम्रा नगरिकलाई जस्तो
साउदीको अदालतले तिमीलाई पनि
मृत्युपत्रमा हस्ताक्षर गरिदियो भने
कस्तो अनुभूति गर्छौ …?
गुल्मी