अतिक्रमणको चपेटामा बर्दियाका कृष्णसार
Sunday, March 19th, 2017, 9:05 pm
amit
बर्दिया- नेपालमा लोपउन्मुख वन्यजन्तुको रुपमा मानिने कृष्णसारको मुख्य बासस्थान बर्दिया मानिन्छ ।
कृष्णसार नेपालबाट लोप हुन थालेपछि यसलाई वन्यजन्तु ऐन २०२९ले कृष्णसारलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । राज्यले संरक्षित वन्यजन्तु मानेर संरक्षणको प्रयास गरेपनि यो वन्यजन्तु यतिखेर संकटमा परेको छ । कृष्णसार संकटमा पर्नुको मुख्य कारण यसको बासस्थान अतिक्रमण हुनु हो ।
यसको बासस्थानलाई स्थानियले अतिक्रमण गर्न थालेपछि यो वन्यजन्तु संकटमा परेको हो । सदरमुकाम गुलरियादेखि करिव ७ किलोमिटर पश्चिम उत्तर खैरापुर क्षेत्र कृष्णसारको मुख्य बासस्थान हो । कृष्णसारको संरक्षणका लागि उक्त क्षेत्रलाई मन्त्री परिषदको निर्णयबाट २०६५ पुसमा कृष्णसार संरक्षण क्षेत्रको रुपमा घोषणा गरिएको थियो । यसको क्षेत्रफल करिव ७ सय ८ बिघा क्षेत्रफल मानिन्छ । तर यो क्षेत्रफल अहिले करिव ५ सय बिघामा खुम्चिएको जानकारहरु बताउँछन् ।
करिव ३ सय बिघा क्षेत्रफल अतिक्रमणमा परेको बताइन्छ । २०२६ साल देखि ऐलानी जग्गाको रुपमा वसोवास गर्दै आएका सुकुम्वासीहरुले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि कृष्णसार संरक्षण क्षेत्र अतिक्रमणमा परेको हो । कृष्णसार संरक्षण क्षेत्र भित्र रहेको पूरानो ऐलानी वस्ती र केही नयाँ सुकुम्वासी वस्तीले यो क्षेत्रलाई अतिक्रमण गरेका छन् ।
अतिक्रमण गरी बसेकालाई अन्यत्रै पुर्नस्थापना गर्ने सरकारी निर्णय छ । तर यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सुकुम्वासीलाई १० धुर र पुरानो वस्तीलाई ३ कठ्ठा जग्गा उपलव्ध गराई पुर्नस्थापन गर्ने सरकारी निर्णय भएपनि यो काम सुरु हुन नसक्दा कृष्णसार क्षेत्र अतिक्रमण मुक्त हुन नसकेको हो । संरक्षित क्षेत्रमा हाल ६१ वटा भाले १ सय ४९ पोथी गरी २ सय १० वटा कृष्णसार छन् ।
यसैगरी अतिक्रमणसँगै आहाराको खोजीमा कृष्णसारहरु संरक्षण क्षेत्र छाडी बाहिर गाउँ तर्फ जाने क्रम पनी बढदै गएको छ । आहाराको खाज्दै बाहिर जादाँ कृष्णसार चोरी शिकारीको चपेटामा पर्दै गएका छन् भने, भुस्याहा कुकुरको आक्रमणमा समेत कृष्णसार पर्दै आएको छ । आहारा खोज्दै गाउँ पसेका २ भाले र ३ पोथी कृष्णसार अघिल्लो वर्ष हराए भने छाडा छाडिएको पशुचौपायाबाट सरेको खोरेत रोगका कारण अघिल्लो वर्ष १५ वटा कृष्णसार मरका थिए । कृष्णसार संरक्षित क्षेत्रको विकासका लागि पञ्चवर्षिय व्यवस्थापन योजना पारित गरिएको भएपनि अतिक्रमित क्षेत्र खाली नहुँदा योजना अघि बढाउन समस्या परेको कृष्णसार संरक्षण व्यवस्थान समितिले जनाएको छ ।