९ महिनामा ३० प्रतिशत भाडादर वृद्धि
Monday, April 4th, 2022, 11:26 am
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपलगन्ज, २० चैत
नेपाल सरकारले पुनः भाडादर वृद्धि गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारी र मालवाहक गाडीको भाडादर आइतबारदेखि बढाएको हो । सरकारले नौ महिनाको अवधिमा दुईपटक भाडादर बढाई सकेको छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा१० प्रतिशत भाडा बढाएको सूचना आइतबार जारी गरेको हो ।
सूचना अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छ ।
अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने भएकाले सकारात्मक निर्णय भएको यातायात व्यवसायीहरु बताउँछन् ।
.
यातायात व्यवसायीले डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदो मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए ।
वैज्ञानिक भाडा समायोजन गर्ने सूत्रअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत र अन्य पार्टपुर्जासहित अन्य पक्षको ६५ प्रतिशत छ ।
यसअघि पनि असार २९ गतेदेखि लागू हुनेगरी सरकारले लामो दूरीमा चल्ने सवारीको भाडादरमा २० देखि २८ प्रतिशतसम्म बढाएको थियो । यो पालि भने सरकारले १० देखि १५ प्रतिशत भाडा बडाएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यसअघि पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाएको थियो । जसमा सबैभन्दा धेरै काठमाडौं–अत्तरीया–मार्तडी रुटमा ५ सय ७६ रुपैयाँ भाडा बढेको थियो ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको थियो ।
त्यसैगरी २०६९ सालपछि भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिँदै आएको थियो । २०७५ मा पनि बजारको अध्ययनबाट नगरी समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो ।
यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निणर्यबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।
असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । पेट्रोलको मूल्य अहिले प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।