खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णय
Tuesday, April 5th, 2022, 9:35 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापना हुने भएको छ । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पालामा खजुरामा विश्वविद्यालयको योजना परेको थियो । त्यसपछि खजुरा विश्वविद्यालयका लागि अनुपयुक्त भएको भन्दै अन्यत्र सार्न खोजिएको थियो ।
विश्वविद्यालयका लागि प्रदेश सरकारअन्तर्गत उच्च शिक्षा परिषद्को सोमबार खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।परिषद्का अध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँके जिल्लाको खजुरामा स्थापना गर्ने निर्णयलाई निरन्तरता दिने निर्णय गरिएको हो । साथै विश्वविद्यालयका लागि विनियोजन गरिएको पाँच करोड बजेट समेत कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।
त्यसैगरी विश्वविद्यालयको स्थापनाका लागि विश्वविद्यालय ऐनढाँचामा विश्वविद्यालयको विधान तयारी गर्न समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
बैठकमा प्रदेश सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री वसीउद्दिन खाँ, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, मुख्य न्यायाधिवक्ताश्रीकृष्ण सुवेदी सहित सम्बन्धित मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।
विश्वविद्यालयका लागि खजुराको तयारी
यसअघि विश्वविद्यालय निर्माणका लागि खजुराले जग्गा समेत छुट्याई सकेको थियो । खजुराले विश्वविद्यालयका लागि खजुरा गाउँपालिका–८, रनियापुरमा प्राविधिकद्वारा नापी गराई सोही आधारमा २०७८ भदौ २ गते गाउँपालिकाको निर्णयले साविक रनियापुर गाविस वडा नम्बर ४, १ स्थित सिट नम्बर ०३५÷१००४, ०३५÷१०४४ कित्ता नम्बर १, ४, ५ को एक सय विघा जग्गा अधिग्रहण गरिएको निर्णयसहित लुम्बिनी प्रादेशित विश्वविद्यालय स्थापनार्थ आवश्यक पर्ने सम्पूर्ण कागजपत्रहरु सामाजिक डिभिजन कार्यालयका प्रमुख रामकरण पालमार्फत तत्कालीन सचिव महादेव पन्थलाई उपलब्ध गराएको थियो ।
प्रदेश सरकारले पनि विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रममा पारित गरी आव ०७६÷०७७ मा तीन करोड र आव ०७७÷७८ सात करोड र चालू आर्थिक वर्षमा १० करोड रकमसमेत विनियोजन गरेको थियो ।
प्रदेश विश्वविद्यालयका लागि खजुराको संघर्ष
पश्चिम लुम्बिनीको गौरवको रुपमा रहेको प्रदेश विश्वविद्यालयलाई अन्यत्र सार्ने विषयलाई लिएर गाउँपालिकाले संघर्ष नै सुरु गरेको थियो । सोही अनुरुप पालिकाले फागुन १९ गते खजुरामा पत्रकार सम्मेलन गरेर विश्वविद्यालयका लागि संघर्ष गर्ने बताएको थियो ।
त्यसपछि खजुराले फागुन २२ गते विश्वविद्यालय स्थापनाका लागि संघर्ष समिति निर्माण गरेको थियो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा प्रदेश सांसद आरती पौडेलेको संयोजकत्वमा संघर्ष समिति निर्माण गरेको थियो ।
जसमा बाँके र बर्दियाका प्रदेश सांसद, जिल्ला समन्वय समितिका संयोजक, बाँकेका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्षहरु, पेशागत संघसंगठनका छाता संगठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको थियो ।
उक्त समितिले चैत १ गते विश्वविद्यालयका स्थापना गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । समितिकी संयोजक लुम्बिनी प्रदेश सभासद आरती पौडेलको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने काम भएको थियो । जसमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, शिक्षा क्षेत्रका कबिन्द्र भट्टराई, लेख प्याकुरेल, नेकपा एमाले बाँके नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायसहितको डेलिगेसन टिमले लुम्बिनी प्रदेश सरकारका मूख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको थियो ।
फोटो साभार : खबरकुरा