अवधी भाषामा नेपालको संविधान अनुवाद
Wednesday, April 6th, 2022, 9:28 pm
Kalpristha
नेपालको संविधान २०७२ लाई पहिलोपटक अवधी भाषामा अनुवाद गरिएको छ । नेपालमा बसोबास गर्ने अवधी समुदायका नागरिकहरुलाई आफ्नै मातृ भाषामा पढ्न र जान्नका लागि सहज हुने उद्देश्यले अवधी भाषामा संविधान अनुवाद गरिएको हो ।
नेपालको नवलपरासीदेखि पश्चिम बर्दिया जिल्लासम्म बसोबास गरेका अवधी समुदायले उक्त संविधानबाट लाभ लिने विश्वास लिइएको छ ।
डुडुवा गाउँपालिका बाँकेको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपाली संविधानलाई अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको हो ।
अनुवादित अवधी संविधानको मंगलबार नेपालगन्जमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विमोचन गर्दै अनुवादित संविधानलाई सबैले पढेर आफ्नो ज्ञान र व्यवहारमा कार्यन्वयन हुने बताए ।
अध्यक्ष चौधरीले भने, ‘संविधानका मौलिक हकअन्र्तगत प्रयोग गरिने विभिन्न अधिकार माग्दा पहिला कर्तत्व्यको पालना गर्नुहोस, अनिमात्र संविधानले सार्थकता पाउने छ ।’ उनले संविधानबाट सबैलाई संस्कार सिक्नुपर्नेमा जोड दिँदै कानूनका बारेमा आफूलाई थाहा भएपछि थुप्रै अधिकारका बारेमा वकालत गर्न संविधानले सहजता दिने बताए ।
अवधी अनुबादक शिवप्रसाद पाठकले संविधानको मर्मबारे व्याख्या गर्दै अवधी अगुवा पत्रकार विजय बर्माले अवधी संविधानलाई समुदायले अपनत्व गर्ने आधार तथा समुदायको बारेमा जानकारी दिए ।
विमोचन कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीलगायतले अवधी संविधानबारे आ–आप्mनो धारणा राखे ।
अवधी संविधान शिवप्रसाद पाठकले अनुवाद गरेका हुन् । अवधी भाषा विज्ञ विक्रममणि त्रिपाठीले भाषा शुद्धाशुद्धी र राकेश कुमार मिश्रले सम्पादन तथा संयोजन गरेका थिए ।
नेपालको संविधान २०७२ लाई नेपालीबाट थारु र अवधी भाषामा मात्रै अनुवाद गरी प्रकाशन गरि सकिएको छ । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा अनुमती र भाषाका बारेमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट सिफारिस लिई संविधान प्रकाशनमा ल्याइएको छ । बाँके जिल्लाकै डुडुवा गाउँपालिकामा अवधी भाषी बाहुल्यता रहेकाले अवधी संविधानले कानूनका बारेमा जानकार बनाउने छ ।