गौतमबुद्ध विमानस्थलमा नयाँ वर्ष परीक्षण उडान गरिने
Sunday, April 10th, 2022, 8:41 pm
Kalpristha
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गते परीक्षण उडान हुने भएको छ । आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको भएता पनि नयाँ वर्षको पहिलो परीक्षण उडान गरिन लागिएको हो ।
परीक्षण उडानमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध विमानस्थल सम्म उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । उडानका लागि प्राविधिकरण एवम् उपकरण सम्बन्धी तालिम दिइसकेको महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् ।
हालसम्म गौतमबुद्ध विमानस्थलमा नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन्।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई पहिलो ६ महिना ल्याण्डिङ र पार्किङ शुल्कमा शतप्रतिशत र दोस्रो ६ महिनामा ५० प्रतिशत छुट दिने योजना प्राधिकरणको छ।
सात वर्षपछि निर्माण सम्पन्न
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम म्यादभन्दा चार वर्षपछिमात्रै निर्माण सम्पन्न भएको छ । २०७१ सालमा सम्झौता भई तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर २०७१ सलामा शिलान्यास गरिएको यो विमानस्थल ७ वर्षपछि मात्रै निर्माण सम्पन्न भएको छ ।
विमानस्थलको आइसिबी वान अन्तर्गत ६ अर्ब ८२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको हो। चिनियाँ निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा आइसिबी वान अन्तर्गतको कामको ठेक्का सम्झौता गरेको थियो।तर जहाज उडान र अवतरणको लागि आवश्यक भिजिविलिटीका थप काम समेत आइसिबी वान अन्तर्गत नै राखिएपछि २०७५ साल मंसिरमा कस्ट भेरियसन गर्दा ६० करोड रकम थप गरिएको थियो ।
त्यस्तै, आइसिबी टु अन्तर्गत ५० करोड लागतमा मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका उपकरण जडान र परीक्षणको काम सम्पन्न भएको छ।
योसँगै विमानस्थलको पश्चिमतर्फ ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी कार्गो भवनसमेत निर्माण गरिएको छ।विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहण गर्दा २२ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरणमै लगानी भएको छ।विमानस्थल निर्माणको लागि विमानस्थल आसपासका करिब २३ सय घरधुरीलाई सरकारले मुआब्जा दिएर जग्गा अधिग्रहण गरेको थियो।
सबै चरणका काम सम्पन्न गर्दा यो विमानस्थलमा सरकारले ३० अर्बभन्दा बढी लगानी गरेको छ। जसमा नेपाल सरकारको ३७ दशमलव ४ र एसियाली विकास बैंकको ६२ दशमलव ६ प्रतिशत लगानी छ।
२०७९ को सुरूवातसँगै सञ्चालन हुने विमानस्थलबाट सुरूमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने सरकारले लक्ष्य लिएको छ।