बाँके जिल्लाको नेपालगन्जलाई पश्चिम नेपालमा स्वास्थ्य क्षेत्रको हवका रुपमा चिनिन्छ । नेपालगन्जमा लुम्बिनी प्रदेशका बर्दिया, दाङ जिल्लालगायत सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ठूलो संख्यामा बिरामीहरु आउने गर्दछन् । तर हालको अवस्थामा खजुरामा पनि विभिन्न जिल्लाबाट चेकजाँचका लागि बिरामीहरु आउने क्रम बढेको छ ।
जसको कारण हो खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल । जसमा क्यान्सरलगायत ओपिडि सेवा पनि उपलब्ध रहेको छ ।
खजुरामा रहेको सुशील कोइराला जस्तै पालिकाले खजुरा गाउँपालिका–३ मा १५ शै्याको अर्को अस्पताल निर्माण गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै त्यसलाई अस्पताल रुपमा निर्माण सुरु गरिएको हो । जसको शिलान्यास २०७७ मंसिर १५ गते गरिएको थियो ।
खजुराले नेपाल सरकार संघको १८ करोड ६ लाख रुपैयाँ लागतमा उक्त अस्पतालको भौतिक निर्माणको काम संचालनमा रहेको छ ।
यसमानेमा खजुराले स्वास्थ्यको क्षेत्रमा फड्को मार्दै पालिकावासीलगायत पालिकाभन्दा बाहिरका बिरामीको पनि सेवा गर्दै आएको सर्ववित्तितै रहेको पालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् ।
खजुराले पालिकाका सबै जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन हरसम्मत योजना बनाएर काम गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा पालिकाले स्वास्थ्य सेवाका लागि ८१ लाख दुई हजार बजेट र नागरिक आरोग्य केन्द्रका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसअनुसार पालिकामा काम भई रहेको छ ।
अध्यक्ष कक्षपतिले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताउँछन् । गाउँपालिका उप–प्रमुख एकमाया विक जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले पालिकास्तरमै अस्पताल निर्माण भएको बताउँछिन् ।
हाल खजुरा गाउँपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र रहेका छन् । प्रत्येक वडामा एक स्वास्थ्य केन्द्र स्थापन गर्ने लक्ष्य पूरा गरेको पालिकाले वडास्तरबाटै जनताको स्वास्थ्यमा पहुँच बढाएको हो । हाल पालिकामाएउटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँचवटा स्वास्थ्य चौकी र दुईवटा आधारभुत स्वास्थ्य केन्द्र गरी आठवटा स्वास्थ्य संस्थाहरु छन् ।
पालिकाको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल सबै स्वास्थ्य संस्थालाई पालिकाको स्वास्थ्य शाखाले नियमित अनुगमन गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘वडामा रहेका स्वास्थ्यचौकीमा आउने समस्यालाई वडाबाटै समस्याको समाधान गर्न उहाँहरुलाई सिकाउने गर्दछौं । त्यसपछिका समस्यालाई स्वास्थ्य शाखा र पालिकासम्म समन्वय गरेर समस्याको समाधान गर्ने गरेका छौं । जहा जनशक्तिको अभाव हुन्छ । त्यहा नजिकैको स्वास्थ्य शाखासँग समन्वय गरेर काम गर्छौ ।’
शिविरबाट हजार बढी लाभान्वित
खजुरा गाउँपालिकाले निरन्तरता दिएको सबैभन्दा महत्वपूर्ण योजना स्वास्थ्य शिविर हो । प्रत्येक वर्ष पालिकाले प्रत्येक वडामा विभिन्न किसिमका स्वास्थ्य शिविर पनि संचालन गर्दै आएको छ । शाखा प्रमुख पौडेलका अनुसार पालिकाले विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा विशेषज्ञ चिकित्सकसहितको टोलीसहित वडा–वडामा पुगेर पालिकाका सबै नागरिकको स्वास्थ्य चेकजाँच गर्दै आएको छ ।
पौडेलले भने, ‘पालिकाको नियमित कार्यक्रमअन्तर्गत वार्षिक रुपमा विशेषज्ञ चिकित्सक टोलीका साथ सबै वडामा स्वास्थ्य जाँच गर्ने सिविर रहेको छ । पहिलो दुई वर्ष शिविरलाई नियमित संचालन गरियो । कोरोनाका कारण दुई वर्ष केही प्रभावित भयो । फेरि शिविरलाई निरन्तरता दिएका छौं ।’
पालिकाले सामाजिक सुरक्षा भत्ता पाएका ज्येष्ठ नागरिकलाई शिविरमा विशेष प्राथमिकता दिएको छ । विभिन्न कारणले टाढा गएर जाँच गर्न नसक्ने अवस्था भएको हुँदा चिकित्सको टोलीसहित जाँच गर्ने र आवश्यक परामर्श दिने काम शिविरमा हुने गरेको पौडेलले बताए ।
आर्थिक वर्ष २०७६÷०७८ मा एक हजार एक सय बढी ज्येष्ठ नागरिकले मात्रै शिविरबाट स्वास्थ्य लाभ लिएका थिए । यस वर्ष पनि खजुराका एक हजार ६५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले संचालित ८ दिने निःशुल्क ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य शिबिरको सोमबार सोनपुर स्वास्थ्य चौकीमा समापन गरिएको थियो । शिविरको सुरूवात सितापुरबाट भएको थियो ।
पौडेलका अनुसार शिविरबाट७० प्रतिशतमा मधुमेह र उच्चरक्तचाप, १० प्रतिशतमा वाथ, २० प्रतिशतमा अन्य विभिन्न समस्या देखाँ परेको थियोे ।
पालिका उपाध्यक्ष एकमाया बिक ज्येष्ठ नागरिकको स्वास्थ्य संमवेदनशीललाई ध्यान दिँदै घरदैलोमै निशुल्क सेवा दिइएको बताउँछिन् ।
त्यस्तै पालिकाले ज्येष्ठ नागरिकको निःशुल्क चेकजाँच शिविर पनि संचालन गर्दै आएको छ । पालिकाले यो वर्ष नेपालगन्जमा रहेको फत्तेवाल आँखा अस्पताल र भिजन आँखा अस्पतालसँग मिलेर दुईपटक शिविर संचालन गरेको हो । पौडेलका अनुसार यसरी आँखा शिविरबाट धेरै आँखाका बिरामी पत्ता लागेको र उनीहरुको उपचार गरिएको छ ।
आँखा शिविरमा दुई हजार आठ सय ७८ जनाको निःशुल्क आँखा चेकजाच भएको थियो । जसमा दुई सय २८ ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया भएको पौडेलले जनाए ।
त्यसैगरी पालिकाले दुई वर्षदेखि सुत्केरीसँग स्वास्थ्यकर्मी योजना संचालन गरेको छ । जसमा स्वास्थ्य संस्थाबाट सुत्केरी गराएका आमा र बच्चाको हेरचाहका लागि स्वास्थ्यकर्मी घरदैलोमा पुग्ने गरेका छन् ।
पौडेल भन्छन्, ‘मातृशिशु दर कम गर्न र आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न योजना संचालन गरिएको हो । यो धेरै प्रभावकारी दखिएको छ ।’
सुत्केरीसँग स्वास्थ्यकर्मी योजना अनुसार सम्बन्धित संस्थाक नर्सिङ स्टाफबाट सुत्केरी भएको ३ र ७ औ दिनमा बच्चा र आमाको अवस्था जाँच गर्ने गरिएको छ । दुई वर्षमा पालिकाले एक हजार दुई सय ४३ जना सुत्केरी आमाहरुलाई सेवा दिई सकेको छ ।
खजुरा गाउँपालिकाले नेपाल सरकारको वार्षिक कार्यअनुसार ९६ प्रतिशत काम सम्पन्न गरेको पाइएको छ । मातृशिशु, सुत्केरी सेवा, हात्तिपाइले, कोभिड एवम् निमित खोप, पोषणका कार्यक्रमहरु पालिका शाखाले नियमित संचालन गरिरहेको छ ।
पालिकाले उपलब्ध गराउने स्वास्थ्य सेवामा जनताको प्रतिक्रिया के छ ? भन्ने प्रश्नमा शाखा प्रमुख पौडेल भन्छन्, ‘हामीले सन्तुष्टभन्दा पनि जनताको असन्तुष्ट के छ भन्ने बुझ्नु पर्छ । जनताहरुको अपेक्षा चाहेको सबै किसिमको औषधि निःशुल्क घरदैलोमा पाइयोस भन्ने । तर नेपाल सरकारको मापदण्डा अनुसार नै हामीले निःशुल्क औषधि उपलब्ध गराउने हो । यो कुरा जनतालाई बुझाउनु पर्ने आवश्यक छ । अनि अर्को समस्या, उपचारमा सबैको सक्रियाता छ तर त्यसको निरोघधाममा सक्रियता छैन । केही वर्ष अघिसम्म र अहिले फरक स्वास्थ्य समस्या छ । पहिलो सरुवा रोग बढी देखिन्थ्यो भने अहिले खानाबाट निम्तिने रोग बढी छ । अब पालिकाले जनतामा जनचेतना बढाउनु पर्ने देखिन्छ ।’
यसका अलवा पालिकाले स्वास्थ्य संस्था मर्मत कार्य, पूर्णखोप दिगोपना तथा घरधुरी सर्वेक्षण, निःशुल्क औषधि खरिद, विभिन्न तालिम संचालन, आकस्मिक तथा विपदको लागि स्वास्थ्य सामग्री खरिद, विभिन्न स्वास्थ्य कार्यक्रमको समिक्षालगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।
कोभिडमा उत्कृष्ठ काम
बाँकेमा बढी कोरोना संक्रमित भएको पालिकाका रुपमा खजुरालाई लिइन्छ । तर पनि कोभिड महामारीमा खजुराले गरेको काम उत्कृष्ठ रह्यो । अध्यक्ष कक्षपतिका अनुसार कोरोनाको समयमा पालिका कोभिड नियन्त्रणमै केन्द्रित रहेको थियो ।
खजुरामा एक हजार ६ सय बढीमा संक्रमण पुष्टि भएको थियो भने ४४ जनाको मृत्यु भएको थियो ।
नेपाल सरकारको नीति अनुसार क्वारेन्टाइन गर्ने, होम आइसेलेसनमा बस्न लगाउने, विभिन्न टोलहरुमा क्वारेन्टाइनबनाउने काम खजुराले तीव्र गतिमा गरेको थियो । प्रत्येक वडाका विभिन्न ठाउँमा २७ वटा स्थानमा खजुराले क्वारेन्टाइन बनाएको थियो ।
वडा नम्बर७मा रहेको जनक शिक्षा सामग्रीको भौतिक भवन र वडा नम्बर १ मा रहेको राधापुर स्वास्थ्यचौकीलाई खजुराले आइसोलेसन केन्द्रका रुपमा संचालन गरेको थियो ।जनक शिक्षामा अक्सिजनसहितको ४० बेड र राधापुरमा पनि अक्सिजनसहितको १० बेडको आइसोलेसन संचालन गरियो । जसबाट ७४ जनालाई सेवा दिइएको थियो भने १२ जनालाई अन्यत्र रिफर गरिएको शाखा प्रमुख पौडेलले बताए ।
पालिकाले दुवै आइसोलेसनका बिरामीलाई निःशुल्क खान बस्नको पनि व्यवस्था गरेको थियो ।
त्यस्तै सुशील कोइराला क्यान्सर अस्पतालसँग समन्वय गरेर बिरामीको रगत, एक्सेरे जस्ता चेकजाँच पनि गरिएको थियो ।
पालिकाले कोरोना समयमा २४घण्टा दुईवटा एम्बुलेन्स पनि संचालन गरेको थियो ।
हाल पालिका ८५ प्रतिशत व्यक्तिले पहिलो मात्राको कोरोनाको खोप लगाइसकेका छन् भने ७३ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् । पौडेलका अनुसार २० प्रतिशतले बुस्टर डोज लगाएका छन् । हाल पालिकाको वडा नम्बर ७ मा नियमित कोरोनाको खोप लगाउने कार्य भई रहेको छ ।
पौडेल पालिकामा खोपका बारेमा नपाएको बिरलै भएको बताउँछन् । हाल पालिकाले कतिले खोप लगाए लगाउन बाँकी छन् भन्ने डाटा बनाइ रहेको छ । जसमा छुटेका व्यक्ति वा समुदाय छन् भने सोही स्थानमा गएर खोप लगाउने योजनारहेको पौडेलले बताए ।