लघुकथा : मरेको मन
Saturday, April 16th, 2022, 1:31 pm
Kalpristha
सुशीला दिदी घरमा कम अस्पतालमा ज्यादा हुन्थिन् ।
ठूलो परिवार चिनजानका मान्छे, माइती मावली, छर छिमेकी हरेक हप्ता कोही न कोही बिरामी, कोही न कोही सुत्केरी, कसै न कसैको अप्रेसन, धोतीदेखि रोटीसम्म, जाउलोदेखि चटनीसम्म बोकेर रातदिन कुरुवा बस्नु खाना पानी ओसार्नु मानौ उनको पेशा नै हो । खासमा उनी मानवीयताको सेवक थिइन् ।
सबैको हाइहाइ थिइन् सुशीला दिदी ।
एउटा सिटामोलसम्म नखाएकी दिदी ४५ वर्षको उमेरमा अचानक बिरामी परिन् । नजिकैको अस्पतालमा उनको उपचार हुन नसक्ने देखिएपछि दिदीलाई भरतपुर पुर्याइयो । दिदी बिरामी परेपछि उनका श्रीमान् र सन्तान खुव अतालिए ।
पाठेघरमा घाउ देखिएपछि भरतपुर रिफर गरिएकी दिदीको अप्रेसनपछि बायप्सी रिपोर्टमा दोश्रो स्टेजको क्यान्सर देखियो । दिदीका पति र उनका किशोर सन्तानले सकेको स्याहार सुसार गरे । लामो समयको अस्पतालको बसाइले पदमराजको जागिर, घर र छोराछोरीको पढाइसमेत लथालिङ्ग भएको थियो । तर पनि दिदीको स्वास्थ ठिक हुनु पहिलो प्राथमिकता थियो उनिहरूका लागि ।
झन्डै ३ महिनाको भरतपुरको बसाइ र उपचारपछि घर फर्काइएकी दिदी नियमित उपचार र हेरचाहबाट स्वस्थ हुँदै गएकी थिइन् । आफूले स्याहारेर सहयोग गरेका कसैले पनि दिदीको दुखमा कस्तो छ भनेर सोध्न सम्म आएनन् । छोराछोरी र पतिबाहेक उनको ख्याल आफ्नै हँु भन्नेलेसमेत नगरेको देख्दा दिदीलाई आफन्त प्रतिनै वितृष्णा जागेको थियो । उनको मन मान्छेसँग खिन्न भएको थियो । मन मरेको थियो ।
विस्तारै दिदी स्वस्थ हुँदै गएकी थिइन् । काम व्यवहारले बिस्तारै लय समात्न थालेको थियो ।
दिदी अब अरूको स्वास्थभन्दा आफ्नो ख्याल राख्न थालेकी थिइन् । अरूलाई दिने समय पति र सन्तानलाई दिन थालेकी थिइन् ।
उता गाउँमा भने व्यापक हल्ला चलेको थियो ः ‘सुशीला भाउजू त घमण्डी पो भइछिन् । नाता गोता चिन्नै छोडिछिन् । कसैलाई वास्तै नगर्ने भइछिन् । शहरका मान्छे सबै यस्तै हुन् ।’
खोइ किन हो दिदी भने आफ्ना बारेका यस्ता टीका टिप्पणी सुनेर पनि आनन्द मानिरहेकी थिइन् ।
नेपालगन्ज, बाँके