कथा : मुद्दा
Saturday, April 16th, 2022, 1:39 pm
Kalpristha
पाँच वर्षे कार्यकालको समीक्षा बैठक र चुनावको नारा के बनाउने भन्ने विषयमा सदस्यहरूबीच आपसमा छलफल र आरोप प्रत्यारोप चलिरहेको थियो । जनप्रतिनिधिको आलोचना धेरै भएपछि “घोषणापत्रअनुसार अधिकांश काम हामीले गरेका छौँ, “बैठकमा बलबहादुरले आफ्नो कार्यकालको स्पष्टीकरण दियो । तर, जनअपेक्षाअनुसार काम गर्न नसकेकोमा उसको आलोचना सबैले गरे । सबैभन्दा अघि सरेर जगतप्रसादले नै बलबहादुरको आलोचना गर्याे ।
पार्टीले सरकार बनाएपछि जनपक्षीय काम हुन सकेनन् । सुशासन,विकास र समावेशी नारा पार्टीले जनता झुक्काउनका लागि मात्र अघि सारेको हो त ? सुशासन भनेको कुन चराको नाम हो जनताले महसुस गर्न पाएनन् । नक्सा पास गर्न टेबुल मुनिबाट कोसेली नदिई गर्न सकिएन । उस्तै लाइन उस्तै अव्यवस्था । टाठाबाठाको रजाइँ । अनुदान, राहत पनि हुनेखानेकै भागमा । फोहोरमा नगर चुर्लुम्म डुब्दा पनि नेतृत्व आँखामा पट्टी बाँधेर हिँड्यो । ठूला ब्यापारीका पक्षमा काम गर्याै । गरि खाने, सडकछापलाई निशाना बनायौ ।विकासका नाममा दखिने गरी केही गर्न सकेनौँ । गरिब, दलित र असहायको नाममा आएको बजेट पनि नाता गोता र बाहुबली कार्यकर्ताले कुम्ल्याय । हाम्रो समाजवाद बारीमा राखेको बुख्याँचाजस्तै रह्यो । न प्राण छ न त शक्ति । सर्व साधारणलाई भ्रम पार्ने । चरालाई डराउन दिने जङ्गली जनाबरलाई केही गर्न नसक्ने , जगतप्रसादले मुटु पीरो हुनेगरी बलबहादुरको आलोचना गर्याे ।
अब चुनावी मुद्दा के गराउने । जगतप्रसादको कुरामा सही थाप्दै कमिटीका अन्य सदस्य पनि बलबहादुरमाथि खनिए । बलबहादुरको पारा तात्यो । उसले पनि पार्टीकै कारण काम गर्न नसकेको, नेतृत्वले सहयोग नगरेको,अनुचित दबाब दिएको फेहरिस्त सुनायो । जहाँसम्म विकासका कुरा छ त्यसका लागि पूर्वाग्रहको चस्मा खोलेर हेर्न भन्यो । हामीले बाटा बनायौँ । तीस किलोमिटर पाँच वर्षमा कालोपत्रे गर्याै । बिजुली, शिक्षा, स्वास्य, खानेपानीजस्ता कुरामा विकासको जग बसाल्यौँ । कोरोनामा नागरिकका सुरक्षाका लागि अहोरात्र खट्यौँ । बसपार्क बनायौँ । वडा कार्यालय बनायौँ । कानुन बनायौँ । स्कुलमा दरबन्दी मिलायौँ । जनताले देख्ने गरि सबैको नजर पर्ने ठाउँमा भ्यु टावर बनाएका छौँ ।
.
बैठकमा चर्काचर्की भयो । माहोल बिग्रेकाले एकापसमा हात हालाहाल होलाजस्तो भयो ।
बैठकमा कुरा सुनेर बसिरहेको हरिबहादुरले दुवै पक्षलाई शान्त हुन आग्रह गर्दै सीमा ननाघ्न अनुरोध गर्याे । “चुनावका मुखमा आपसमा गाँड कोराकोर गर्दा प्रतिपक्षी पार्टीलाई फाइदा हुने हुँदा अहिलेका कमीकमजोरी आगामी दिनमा सच्चाइने प्रतिबद्धता गरौँ, “हरिबहादुरले भन्यो । “अख्तियारमा सबैभन्दा धेरै मुद्दा हाम्रा सरकारविरुद्ध लागेको छ । यसलाई कसरी सम्बोधन गर्ने । बाहिर सबैको एउटै भ्वाइस जानुपर्छ । बरू यसबारेमा विमर्श गरौँ । मूल विषयमा प्रवेश गरौँ । उसले समस्यामा जोड दियो ।
नजिकै बसेको प्रमुख नेता मनप्रसादले बल्ल मुख खोले । समस्यालाई बोकेर कहिल्लै सफल भइन्न । समाधान खोजौँ ,सफल भइन्छ । म महान नेता लेनिनको भनाइलाई साथीहरूमाझ राख्छु । लेनिन भन्नुहुन्छ, “महिलालाई सम्बन्ध बिच्छेदको अधिकार दिएपछि मात्र वैवाहिक सम्बन्ध बलियो हुन्छ “ । समाजवादका नायक लेनिनको चर्चित विचार हो यो । यो विचार वर्तमान अवस्थामा हुबहु लागू हुन्छ । हाम्राविरुद्ध जतिधेरै मुद्दा पर्छन उतिधेरै हामी सही बाटोमा छौँ भन्ने सबैभन्दा ठूलो प्रमाण यही हो । मुद्दा जनताको नैसर्गिक अधिकार हो । मुद्दाबारे सबैले यही प्रष्टीकरण मतदातालाई र विराधीलाई दिनुपर्छ । सबै जनालाई यो तर्क र विचार राम्रो लाग्यो । सहभागी सबैजनाका आँखा एकआपसमा जुधे । मनप्रसाद भनेको त्यसै हो र ? नेता भनेको नेतै हुन् । यो हो नी राजनीति ।
कोहलपुर, बाँके