शिक्षामा अगाडि बढ्दैछ खजुरा
Monday, April 18th, 2022, 9:07 pm
Kalpristha
केही साता अघि बाँकेको खजुरा गाउँपालिकामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापना विषयले ठूलो चर्चा पायो । खजुरमा निर्माण गर्ने निर्णयसहित अघि बढेको पक्रियालाई अन्यत्र सारिन लागेपछि खजुराले संघर्षसमिति नै बनाएर प्रदेश विश्वविद्यालय खजुरामा स्थापना गर्न लागेको थियो ।
यसअघि विश्वविद्यालय निर्माणका लागि खजुराले जग्गासमेत छुट्याई सकेको थियो । खजुराले विश्वविद्यालयका लागि खजुरा गाउँपालिका–८, रनियापुरमा प्राविधिकद्वारा नापी गराई सोही आधारमा २०७८ भदौ २ गते गाउँपालिकाको निर्णयले साविक रनियापुर गाविस वडा नम्बर ४, १ स्थित सिट नम्बर ०३५÷१००४, ०३५÷१०४४ कित्ता नम्बर १, ४, ५ को एक सय विघा जग्गा अधिग्रहण गरिएको निर्णयसहित लुम्बिनी प्रादेशित विश्वविद्यालय स्थापनार्थ आवश्यक पर्ने सम्पूर्ण कागजपत्रहरु सामाजिक डिभिजन कार्यालयमार्फत पठाएको सबैमा अबगत नै छ । त्यसपछि खजुरामा विश्वविद्यालयका लागि अनुपयुक्त भएको भन्दै अन्यत्र सार्न खोजिएको थियो ।
तर खजुराको संषर्घले गर्दा चैत २२ गते विश्वविद्यालयका लागि प्रदेश सरकारअन्तर्गत उच्च शिक्षा परिषद्को खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय ग¥यो ।
‘प्रदेश विश्वविद्यालय हाम्रो लागि गौरवको विषय हो । यदि हामीले खजुरामा विश्वविद्यालय बनाउन सकेनौं भने यो हाम्रो लागि सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ,’ यो भनाइ पत्रकारसामुखजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताएका थिए ।
माथि उल्लेखित घटनाले खजुरा गाउँपालिका शिक्षाका लागि कति सम्वेदनशिल छ भन्ने प्रमाण पेस गर्छ । कक्षपति खजुरा गाउँपालिकाका हरेक बालबालिकाले उच्चस्तरको शिक्षा पाउनु पर्छ भन्ने मान्यतामा राख्छन् ।
………
बाँकेको खजुरा गाउँपालिका–३ खजुरामा रहेको ज्ञानोदय नमुना माध्यामिक विद्यालय जिल्लाको मात्र नभएर प्रदेशमा नै चर्चामा रहेको विद्यालय हो । २०३४ सालमा स्थापना भएको ज्ञानोदय पालिकाको कान्छो विद्यालयका रुपमा पनि परिचित छ । ज्ञानोदयको इतिहास छोटो भएता पनि भौतिक प्रगति र शैक्षिक प्रगतिमा विद्यालयले राम्रो फड्को मार्न सफल भएको छ ।
त्यस्तै खजुरा गाउँपालिका–३ मा सामुदायिकस्तरबाट स्थापना भएको ज्ञानोदय बहुुमुखी पब्लिक क्याम्पसर निजीस्तरबाट स्थापना भएको खजुरा क्याम्पसले खजुरामा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । भने खजुरा –३ मै रहेको जनता नमुना माध्यामिक विद्यालयमा रहेको कृषि विज्ञान अध्यापनले बाँके बाहेक अन्य जिल्लाका विद्यार्थीलाई पनि आकर्षण गरेको छ ।
यी त केही स्थापित विद्यालयमात्र हुन् , खजुराका । खजुरा गाउँपालिकामा कक्षा ५ सम्मको ११ वटा सामुदायिक विद्यालय, कक्षा ८ सम्मको पाँचवटा सामुदायिक विद्यालय, कक्षा १० सम्मको नौवटा सामुदायिक विद्यालय र कक्षा १२ सम्मका ३० वटा सामुदायिक विद्यालय रहेका छन् ।
त्यस्तै ६६ वटा बालविकास केन्द्र, चारवटा सामुदायिक अध्ययन केन्द्र, १७ वटा मदरसा, दुईवटा सामुदायिकस्तरका प्राविधिक विद्यालय, तीनवटा सामुदायिक एवम् निजिस्तरका क्याम्पस, दुईवटा सामुदायिकस्तरका नमुना विद्यालय छन् ।
संस्थागतमा दुईवटा मन्टेशवरी, तीनवटा माविस्तरका विद्यालय र पाँचवटा कक्षा १० सम्म अध्यापन हुने विद्यालय रहेका छन् ।
माथि उल्लेखित तथ्यांकअनुसार वडा नम्बर १, २, ३ र ४ मा प्रयाप्त विद्यालयहरु रहेका छन् ।
हाल पालिकाले विद्यालयमा शिक्षकको समस्या नहोस भनेर मावि, निमावि र प्राविमा गरी ६६ जनालाई पालिकाको स्रोतमा नियुक्त गरेका पालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।
……………
खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजनाको खाका पनि निर्माण गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणमा गरिएको हो ।
तयार गरिएको खाकामा खजुरा गाउँपालिकाको स्थानीय परिवेशसहितको विषयवस्तु समेटिएको छ । जसले खजुराको शैक्षिकस्तरलाई नमूना बनाउन भूमिका निर्वाह खेल्नेछ ।
पालिकाले प्रारम्भिक बालविकास तथा शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षा, उच्च शिक्षा र माध्यमिक शिक्षासँग उच्च शिक्षाको सम्बन्ध, प्राविधिक तथा व्यवसायीक शिक्षा, तालिम र अनौपचारिक शिक्षा, शिक्षक कर्मचारी व्यवस्थापन तथा विकास र शैक्षिक सुशासन तथा गुणस्तर व्यवस्थापन, पाठ्यक्रम, पाठ्यसामाग्री तथा मूल्यांकन, शिक्षामा समतामूलक समावेशीकरण र मनोसामाजिक परामर्श, शिक्षामा सूचना र संचार प्रविधि, संस्थागत संरचना क्षमता विकास र अन्तरसम्बन्ध, आपतकालीन तथा संकटपूर्ण अवस्थामा शिक्षा र शिक्षण संस्थाहरुको भौतिक पूर्वाधार निर्माण जस्ता विषयवस्तुमा छलफल गरी खाका तयार गरिएको शाखा प्रमुख मल्लले जानकारी दिए ।
पालिका अध्यक्ष कक्षपति भन्छन्, ‘अब हामीले गुणस्तरीय शिक्षामा जोड दिने हो । पालिकाले नयाँ प्रविधिलाई पनि शिक्षामा जोड्नै लागेको छ ।’
खजुराले शिक्षामा बैकल्पिक प्रणालीबाट सिकाई सहजिकरणका लागि आईसिटी कार्यक्रमअन्तर्गत शिक्षकलाई ल्यापटप वितरण, अनलाइन कक्षाको सुभारम्भ र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कम्प्युटर ल्याब, डिजिटल बोर्डलगायतका जोड दिएको छ । खजुराको ज्ञानोदय नमुना मावि र जनता नमुना माविलाई पालिकाले उक्त प्रविधिसँग जाडिसकेको छ ।
अध्यक्ष कक्षपतिले खजुराले ‘संबृद्ध खजुराको लागि शिक्षामा प्रविधिको आवश्यकता, प्रविधिमैत्री साधारण तथा प्राविधिक शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चारवर्ष अघि पालिकाका १४ माध्यामिक र ६ आधारभूत तहका सामुदायिक विद्यालयमा आईसिटीमैत्री शिक्षण सिकाई प्रविधि सुरु गर्नको लागि पालिकाले प्रत्यक विद्यालयलाई ल्यापटप, स्र्माट वोर्ड र प्रजेक्टर उपलब्ध गराएको बताउँछन् ।
कक्षपतिले पालिकाका सामुदायिक विद्यालयका सबै विद्यालयको स्तरोन्नतिका लागि पालिकाले एक सय ९० शिक्षकलाई ल्यापटप वितरण गरिनेसमेत बताए ।
……….
माथि उल्लेखित कार्यक्रम पालिकाले गरेको केही अंशमात्र हुन्। पालिकाले हरेक वर्ष शिक्षामा गुणस्तर वृद्धि गर्न र विद्यालयको स्तरोन्नतिका लागि वार्षिक कार्यक्रम तर्जुमा गरेको हुन्छ ।
जसमा आर्थिक वर्ष २०७८।०८९ मा पालिकाले शिक्षा युवा तथा खेलकुद शाखाका लागि दुई करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा पालिकाका ४७ वटा विद्यालयमा आधारभुत तह निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयनका लागि सामुदायिक विद्यालयलाई बत्ति, पानी, मसलन्दलगायतका लागि छुट्याइएको छन् ।
त्यस्तै गरी ६६ जना पूर्व प्राथमिक शिक्षकहरुको थप पारिश्रमिकअन्तर्गत २७ लाख ७२ हजार, ४८ जना आधारभुत तहमध्ये मावि, निमावि र प्रावि कर्मचारीको पारिश्रमिकबापत २० लाख १६ हजार, प्रावि ६, निमावि १९ र माविका ६ जना शिक्षकअनुदानका लागि ८७ लाख ७८ हजार आठ सय ५० रुपैयाँ, एकमुष्ट शिक्षण सिकाईका लागि २९ लाख ५० हजार एक सय ५०, योगिनी मावि गौघाट र शुक्र मावि केगाउँलाई चारकोठे भवनका लागि १४ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
यी बाहेक विभिन्न समुदायका बालबालीका का लागि छात्रवृत्ति, शैक्षिक महोत्सव, विभिन्न विद्यालय एवम् मदरसा व्यवस्थापन, भर्ना अभियानलगायतमा पनि बजेट छुट्याइने गरिएको पालिका योजना शाखा प्रमुख दिलबहादुर पौडेलले जनाकारी दिए ।
………..
खजुरा गाउँपालिकाले गरेको अर्को महत्वपूर्ण काम भनेको अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता हो । बाँके जिल्लामा सबैभन्दा पहिला खजुराले नै मेयर रनिङ शिल्ड आयोजना गरेको हो ।
हरेक वर्ष पालिकाले आयोजना गर्ने मेयर रनिङ शिल्डले विद्यालयको स्तरोन्नति गर्न मद्दत पुग्ने गरेको विद्यालयहरुको भनाइ रहेको छ ।
पालिकाको वडा नम्बर २ गौघाटको योगिनी माध्यामिक विद्यालयमा सम्पन्न भएको आर्थिक वर्ष २०७८।०७९ को चौथो मेयर रनिङ शिल्डबाट सो विद्यालयको खेल मैदान, सौचालयलगायतका संरचना बनाउन मद्यत पुगेको विद्यालयका प्रध्यानाध्यापक गगन खड्काले बताए ।
योगिनीमा संचालन भएको मेयर कपका लागि पालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै यसअघि पनि संचालन भएको मेयर प्रतियोगिताका लागी पालिकाले हरेक वर्ष पाँच लाख रुपैयाँ छुट्याउने गरेको छ ।