उत्पादन बढाउन पालिकास्तरीय पकेट क्षेत्र छुट्याउनु पर्ने
Monday, April 18th, 2022, 9:18 pm
Kalpristha
बाँके जिल्लामा कृषि उत्पादन बढाउन पालिकास्तरीय पकेट क्षेत्र छुट्याउन जरुरी रहेको सम्बन्धित निकायहरुले औल्याएका छन् । जिल्लामा रहेका हरेक पालिकाको उत्पादन क्षमता मापन गरेर उत्पादनका आधारमा आगामी योजना तर्जुमा गर्दा उत्पादनमा वृद्धि हुने बाँकेमा रहेका कृषि विज्ञहरुले बताएका हुन् ।
सोमबार नेपालगन्जमा कृषि ज्ञान केन्द्र बाँकेले आयोजना गरेको योजना तर्जुमा गोष्ठीका सहभागीले उत्पादनलाई मात्र जोड नदिएर चक्लाबन्दीलाई प्राथमिकता दिनु पर्ने बताए ।
ज्ञान केन्द्रले आगामी योजना तर्जुमा गर्न स्थानीय तहसँग छलफल गोष्ठीको आयोजना गरेको हो । ज्ञान केन्द्रका प्रमुख सागर ढकालले कृषि उत्पादन बढाउन र कृषिलाई बजारीकरण गर्न सबैको समन्वय हुन जरुरी रहेकाले गोष्ठीको आयोजना गरिएको बताए ।
ढकालले कृषिमा काम गर्न धेरै निकाय भएता पनि सबैको कार्यदिशा फरक फरक भएको बताए । उनले आगमी वर्षमा कृषिमा आत्मनिर्भर तथा किसानले गरेको लगानी फलदाय गर्न किसानका समस्यालाई बुझेर आगमी कार्यविधि बनाइने बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले गोष्ठीबाट बाँके निवासी किसानको हितमा योजना बनाउन सहयोग पुग्ने बताए । उनले किसानलाई आश्वासन दिनेमात्र नभई उनीहरुका लागि साच्चिकै काम गर्ने खालको योजना तर्जुमा बनाउनु पर्ने बताए ।
कार्यक्रममा डुडुवा गाउँपालिका कृषि शाखा प्रमुख सुशील कुमार वर्मा, कोहलपुर कृषि शाखा प्रमुख छत्र बहादुर खत्रीलगायतले अनुदानले किसानलाई अल्छी बनाएको बताए । उनीहरुले किसानलाई उत्पादनका नाममा अनुदान दिँदा उनीहरुले एकपटक प्रयोग गर्ने र ती उपकरण बिग्रिएपछि फेरी अनुदानको भर पर्ने प्रवित्ति रहेको बताए । किसानलाई सिँचाईका नाममा मोटर दिनुभन्दा ज्ञान केन्द्रले एकपटकमा एक पालिकामा सिँचाइको व्यवस्था मिलाउने वा बिग्रिएर रहेका सिँचाइ मसिनको मर्मत सम्भार गर्नेतर्फ केन्द्रित हुनु पर्ने सहभागीहरुको सुझाव रहको थियो ।
कार्यक्रममा उपस्थिति अधिकांशको भनाई आगामी वर्षमा ज्ञान केन्द्रले उत्पादनका आधारमा पालिकालाई बाडफाड गर्ने योजना तर्जुमा गर्नुपर्ने बताए ।
कार्यक्रममा किसानको आकर्षण कम
कार्यक्रममा कृषि ज्ञान केन्द्रका ढकालले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कार्यक्रमहरुमा किसान योजनाहरु कमै मात्रामा माग गर्ने गरेको बताए । उनले कार्यक्रममा माग भएअनुसार किसानको आकर्षण कम आउने गरेको बताए ।
त्यस्तै उनले कतिपय अनुदानग्राहीले सम्झौताअनुसार कार्यलाई निरन्तरता दिन नसकेको बताए । उनले कृषिमा अत्मनिर्भर नहुन कृषि उपजको संगठित बजारीकरण हुन नसक्नु, कृषि उपजमा मूल्य थप हुन नसक्नु, सरोकारवालाहरुबीच सहकार्य हुन नस्कनु रहेको औल्याए ।
त्यसैगरी ढकालले उत्पादन अवस्थाका बारेमा जानकारी दिँदै मोटा धानको बाहुल्यता भएता पनि बजारमा मसिनो चामलको माग बढेको बताए । उनले जिल्लामा सिँचाइ सुविधा विस्तार हुँदै जाँदा चैते धान तथा बसन्ते मकै उत्पादनको सम्भाव्यता बढे पनि सो काम गर्न नसकिएको बताए । उनले बाँकेवासी ताजा च्याउमा आत्मनिर्भर हुँदै गएपनि प्रशोधन उद्योगसँग सम्बन्धित विकास हुन नसकेको बताए ।
ढकालले भारतबाट आयातित हुने तरकारीसँग प्रतिस्पर्धा गर्न चुनौति रहको, विभिन्न नगदेवालीहरुको बीउको कम उत्पादन हुने, फलफूलका गुणस्तरीय बेर्नाको उत्पादन कमलगायतका समस्या बाँकेका किसानले भोग्दै आएको बताए ।
ढकालले अब बसन्ते मकै, मसिनो धान तथा चैते धानलाई प्राथमिकता दिन आवश्यक रहेको औल्याएका थिए ।