लघुकथा : बुढाकी प्यारी
Saturday, April 23rd, 2022, 8:42 am
Kalpristha
हिजो राति १० बजेतिर मोबाईल हेर्दै थिएँ । फ्रेण्ड रिक्वेस्टमा आखाँ पर्यो । ओहो ! ७४३ रिक्वेस्ट ! कस कसका होलान् यति धेरै रिक्वेस्ट ।
नाम पढे । केही परिचित बाँकी धेरैजसो अपरिचित । केही अनुहार र नाम मिलेकाहरुको प्रोफाईल हेरेर एसेप्ट गरे ।
नयाँ रिक्वेस्ट देखियो त्यहीँ बेला । ‘बुढाकी प्यारी म‘ नाम सहित फोटो लालीगुराँस ।
हरदम जिस्किरहनु पर्ने साथीहरुलाई संम्झे । अहँ पटक्क संम्झना आएन । सत्यवती हो कि ? अनुमान लगाए । उसलाई बुढाले असाध्यै माया गर्छ भनिरहन्थी ।
उसको सत्यवती नामको मेसेन्जरमा कल गरे । ‘सत्यवती तिमीले ’बुढाको प्यारी म’ भन्ने नयाँ आईडी बनाको हो ?‘
‘होइन साथी अहिले म व्यस्त छु पछि कल गर्छु ।‘ भनेर कल काटी ।
मेरो दिमाग रन्थनियो ।
‘कस्ता मान्छेहरु बुढाकी प्यारी म अरे । नचाहिदो फेक आई डी बनाएर अरुको दिमाग चाट्यो ।‘ मन मनै भनेको थिए बरबराएछु ।
मेरा बुढा कराए ‘राती राती मोबाईल खेलायो, बरबरायो कामकाज छैन । सुत्नु नि खुरुक्क ! आधारात भईसक्यो बाँदर चाला ।‘
मसिनो स्वरमा ‘मोबाइल चार्जबाट हटाको । अब सुत्न आँटेको‘ भनेँ ।
बुढाको प्यारी म सहितको स्क्रिन सट राखेर फोटो, नाम ठेगाना सहि नभएको रिक्वेस्ट स्विकार गर्दिन लेखेर पोस्ट गरेर सुते ।
बिहान उठेर मोबाईल समाते । ‘बुढाकी प्यारी म‘ भन्ने आईडी बाट मेसेन्जरमा लामै मेसेज रहेछ ।
‘दिदी ! म मनमाया क्या । बुढाले दिनरात कुटेर हैरान बनायो । बाच्नै नसक्ने भएँ । छोरी १० बर्षकी र छोरो ८ को भयो अब म नभएपनि बाच्छन् खान पाएपछि । म आज पल्लो गाँउको सुन्दरेसँग भाग्न लागेकी छु । यो मेरो नयाँ आईडी हो ।हजुरले कहिले काहीँ बच्चाहरुको फोटो देखाइ दिनु है मलाई । म यहिँ आईडीबाट हजुरसँग मात्र सम्पर्कमा रहने छु ।सहनु सम्म सहे केहि लागेन मेरो । रात दिनको लात घुस्सा कति सहँनु..‘
भक्तपुर