निकाय नै विपद् व्यवस्थापनमा अनविज्ञ
Sunday, April 24th, 2022, 8:26 pm
Kalpristha
प्राकृतिक प्रकोपबाट हुने क्षतिको दृष्टिकोणमा नेपाल उच्च जोखिममा रहेको छ । साथै प्रदुषित शहरको रुपमा काठमाडौं, नेपालगन्ज, जनकपुर, धनगढीलगायतका सहरहरु पर्ने गर्दछन् ।
नेपालमा हरेक वर्ष प्राकृतिक एवम् मानविय क्रियाकलापबाट निम्तिने प्रकोप विभिन्न समयमा भई रहको हुन्छ । कतै हिमपाद, कतै बाढी पहिरो त कतै खडेरी, आगलागी जस्ता घट्ना भई रहेका हुन्छन् ।
यसरी आउने प्रकोपको विपद्बाट वार्षिक अर्बौ रकम र सय बढी व्यक्तिहरुको ज्यान गई रहेको हुन्छ । तर यसमा सम्बन्धित निकायले राहत बाढ्ने, उद्धार गर्ने जस्ताका कामहरुमात्र गरिरहेको पाइन्छ ।
नेपालमा प्रकोपबाट निम्तिने विपद् व्यवस्थापनमा न्यून क्रियाकलाप भएको पाइन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव एवम् प्रवक्ता डा. डिजन भट्टराई हामीमा विपद्को ज्ञान नै नभएको बताउँछन् । डा.भट्टराई नेपालमा विपद् न्यूनिकरण तथा व्यवस्थापन निकायलाई नै विपद् व्यवस्थापनका बारेमा थाहा नभएको बताउँछन् ।
‘हामीहरुले अहिलेसम्म विपद् भनेको राहत बाढ्ने, उद्धार गर्ने मात्र बुझेका छौं । नेपालका सबै स्थानीय निकायमा पनि यहि भएको पाइन्छ । तर कसैलाई पनि यसको न्यूनिकरणबारेमा थाहा छैन र उहाँहरु सिक्न पनि नचाहेको जस्तो लाग्छ,’ डा.भट्टराईले भने ।
भट्टराईले नेपालगन्जमा आयोजित पत्रकारका लागि विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धि दुईदिने कार्यशाला गोष्ठी सो कुरा उल्लेख गरेको हुन् । पब्लिक अफेयर्स रिसर्च एण्ड कम्युनिकेसन्स (पार्क) ले युएसआइडिको तयार परियोजनाको सहयोगमा संचालन गरेको उक्त कार्यक्रममा उनले प्रक्रोप र विपद् फरक–फरक कुरा भएको बताए ।
भट्टराईका अनुसार प्रकोप प्राकृतिक वा मानविय क्रियाकलापबाट आइपर्ने घटनामात्र हो । तर त्यस घटनाबाट हुने मानविय क्षति वा धनजनको क्षति विपद् भएको उनले बताए ।
भट्टराई हामीले प्रक्रोपको न्यूनिकरण गर्न असक्षम भएता पनि त्यसबाट हुने विपद्को न्यूनिकरण तथा व्यवस्थापन गर्न सक्ने बताउँछन् ।
उनी भन्छन्, ‘हामीले प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्न सक्छौं । तर त्यसका लागि हामीमा ज्ञान हुनु जरुरी छ । २०७४ भन्दा अगाडि त हामी सबै विपद् व्यवस्थापन भनेर उल्टो बाटो हिँडेको रहेछौं । अब विस्तारै वास्तविक विपद् व्यवस्थान तिर हाम्रो पाइला बढेको छ ।’
अज्ञानताका कारण नेपालमा हामी आफैंले प्रकोप निम्त्याइरहेका छौं । नेपालका पहाडी भू–मागमा विकासको नाममा हुने डोजर आतंकले धेरै पहिरो गएको छ भने मानिसको मृत्युसमेत भएका घटना आइरहेको छन् । यी यस्ता समस्या अज्ञानताका कारण भएको डा.भट्टराईले बताए । उनलेका अनुसार हाल कतिपय स्थानीय निकायले डोजर चलाउन तथा अनावश्यक बाटो निकासीलाई बन्द गरेको बताए ।
कार्यक्रममा शनिबारदेखि सुरु भई आइतबार समापन भएको हो । कार्यक्रममा इ कागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापाले विपद् न्यूनिकरण तथा व्यवस्थापनको पाटोलाई बलियो बनाउन पत्रकारको पनि भूमिका रहेको बताए । उनले प्रकोप र विपद्का बारेमा पत्रकारले समाचार तथा सूचना प्रवाह गरेर सचेत गराउन सक्ने बताए । उनले कसरी प्रकोप तथा विपद्का समाचारलाई समेटन सकिन्छ भन्नेबारेमा अन्तरक्रिया गरेका थिए ।
दुईदिने कार्यशाला गोष्ठीमा दैलेख, सुर्खेत, दाङ, बाँके, बर्दिया र कैलाली गरी ६ जिल्लाका पत्रकारहरु सहभागिता रहेको थिए । सहभागि पत्रकारहरुले विपदका क्रममा आफूले गरेका रिपोर्टिङ, भोगेका समस्या र अनुभव सुनाएका थिए । साथै गोष्ठीबाट आगामी दिनमा विपद्का विषयमा थप रिपोर्टिङ गर्न सहयोग पुगेको उनीहरुले बताए ।
कार्यक्रममा युएसएआइडि जिइएसआई विज्ञ आशा मगर जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल ईन्जिनियर विनोद पराजुली, पार्कका आनन्द श्रेष्ठलगायतले पनि सहभागिता जनाएका थिए ।