‘राहत बाड्नु र उद्धार गर्नुमात्रै विपद् व्यवस्थापन हैन’
Tuesday, April 26th, 2022, 7:38 pm
Kalpristha
नेपालमा हरेक वर्ष विभिन्न प्राकृतिक एवम् मानविय क्रियाकलापबाट निम्तिने प्रक्रोपका कारण हुने विपद्ले ठूलो मात्रामा जन, धनको क्षति गरिरहेको हुन्छ । बाँकेमा मात्रै चैत महिनामा राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट दुई दर्जन घरहरु जलेर नस्ट भए ।
नेपालमा प्रकोपका रुपमा आउने बाढी, पहिरो, हिमपात, खडेरी, आगलागीलगायतका घटनाले ठुलै प्रभाव पारे पनि स्थानीय निकायले पीडितलाई राहत बाढ्ने र उद्धार गर्ने काममात्र गरिरहेको पाइन्छ । तर विपद् व्यवस्थापनका विषयमा भने कमै कामहरु भएको पाइन्छ । यद्यपी कतिपय स्थानमा त विकासका नाममा विनास पनि भई रहेको छ । हाल नेपालमा प्रकोपबाट निम्तिने विपद् व्यवस्थापनका बारेमा कालपृष्ठ संवाद्मा कुराकानी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव एवम् प्रवक्ता डा. डिजन भट्टराईसँगको कुराकानी ।
विपद् व्यवस्थापनलाई कसरी परिभाषा गर्नु हुन्छ ?
प्राकृतिक तथा मानविय क्रियाकलापबाट निम्तिने प्रकोपले विपद् निम्तिन्छ । विपद् भनेको धन, जनको क्षेति हो । यसलाई यसरी बुझौं । बाढी, पहिरो, आगलागी भनेका प्रकोप हुन् । तर ती प्रकोपबाट जे क्षति हुन्छ, त्यो विपद् हो । प्रकोप र विपद् फरक–फरक चिज हुन् । मानौं एकै किसिमको भूकम्प हाइटी र जापान दुवै ठाउँमा आयो भने हाइटीभन्दा जापानमा कम क्षति पुग्न सक्छ । प्रकोप त दुवै स्थानमा एउटै हो तर त्यसले जापानमा कम क्षति पुग्यो भने त्यो कम विपद् हो । हाइटीमा बढी क्षति पुग्यो भने त्यो ठूलो विपद् हो ।
नेपालको परिवेक्षमा विपद् व्यवस्थापनमा सरकारी संयन्त्र कस्ता–कस्ता छन् ?
नेपाल सरकारले केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि ढाचा बनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ । त्यस्तै गृहमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समिति छ । साथै राष्ट्रिय विपद् न्यूनीकरण प्राविधिकरण, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, प्रदेश विपद् न्यूनीकरण कार्यकारी समिति, जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र स्थानीयस्तरमा पनि विपद् जोखिम न्यूनीकरण गर्ने निकाय छ । यसमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संविधानले स्थानीय तहलाई स्वातन्त्र दिएको छ भने अन्यमा योजना केन्द्रबाट तल्लो तहसम्म कार्यन्वयन हुन्छ । अनि अर्को सरकारले पूर्ण क्षति भएका घरपरिवारलाई घर बनाउनका लागि हिमालमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने योजना पनि बनाएको छ । जसअनुसार २०७७ जेठभन्दा पहिला भएका घटनामा ६ हजार घर बनाउन पहिलो किस्ता निकासा पनि भई सकेको छ ।
विपद् व्यवस्थापनमा स्थानीय निकाय आफैं स्वतन्त्र भएता पनि उनीहरु राहत र उद्धारमा मात्रै किन केन्द्रीय छन् ?
यसमा सबैभन्दा ठूलो कुरा अज्ञानता हो । हामीहरुमा पनि पहिला विपद् व्यवस्थापन भनेको राहत बाड्ने, उद्धार गर्ने भन्ने थियो । तर त्यो हैन रहेछ । त्यस्तै स्थानीय निकायमा पनि अझैसम्म विपद् व्यवस्थापनको ज्ञान छैन । यस विषयमा विस्तारै विकास भई रहेको छ । सबैमा विपद् व्यवस्थापन विपद् निम्तिनुभन्दा पहिलानै त्यसको रोकथाम गर्नु पर्छ भन्ने ज्ञान विकास भई सकेको छैन । त्यो विस्तारै हुँदै जाने कुरा हो र भई रहेको पनि छ ।
अज्ञानताका कारण विपद् व्यवस्थापनमा काम गर्न कत्तिको चुनौति देख्नु हुन्छ ?
हैन यसमा चुनौतिभन्दा पनि विस्तारै परिवर्तन हुने कुरा हो । हामीमा २०७४ सालभन्दा पहिला नीतिगत स्पष्टता थिएन । बल्ल त हामीमा विपद् व्यवस्थापनका कुराहरु हुँदैछन् । पहाडी स्थानहरुमा बाटो बनाउने भनेर धमाधन बाटाका ट्रयाक खुलाइयो । तर ती बाटाका ट्रयाकले निम्तिएको जोखिम तथा विपद्का कारण उहाहरुको चेतना जागेको छ । हैन है अब बाटो बनाउनु भन्दा पहिलो पानीको निकास खोज्न जरुरी छ भन्ने चेतना उहाँहरुमा देख्न सकिन्छ । कतिपय स्थानीय निकायले निर्णय नै गरिसक्नु भएको छ ।
विपद् व्यवस्थापनमा के–के समस्या देख्नु हुन्छ ?
पहिलो त हामीसँग तीन तहको सरकार भएता पनि समन्वयको अभाव रहेको छ । अर्को प्रकोप आउने सूचना पाउँदा पाउँदै पनि त्यसबाट हुने सम्भावित क्षतिबारे हामी सचेत छैनौं । कतिपय स्थानमा सूचना प्रवाहको समस्या पनि छ । स्थानीय निकायमा रहेका विपद् व्यवस्थापन समिति आफैं विपद् व्यवस्थापनमा अनविज्ञ छन् । प्रक्रोप भयो भन्दैमा क्षति भई हाल्छ भन्ने छैन । त्यसैले प्रक्रोप र विपद्का बारेमा जानकारीको कमी छ । पूर्व तयारीका कुराहरुमा हामी कमजोर छौं । सरकारले विपद् व्यवस्थापनमा सोचे जति बजेट ल्याउन सकेको छैन ।
त्यसो भए हामीले विपद् व्यवस्थापनमा केही गर्न नसकेको हो त ?
त्यसो हैन हामीले विपद् व्यवस्थापनमा फड्को मारेका छौं । यसअर्थमा कि पहिला हामी उल्टो बाटो हिँडिरहेका थियो । अहिले सुल्टो बाटो हिड्दै छौं । चेतनाको विकास गर्दै छौं ।
विपद् व्यवस्थापनमा हामीले गर्नु पर्ने कामहरु के–के छन् ?
पहिलो छ विपद् प्रतिको बुझाइलाई बढाउनु पर्यो । अनि तीनै तहको सरकारबीच समन्वय र समझदारी हुनु पर्यो । नीति गत रुपमा सार्वजनिक तथा निजीगत क्षेत्रमा ठूलो लगानी गर्न सक्नु पर्यो । जोखिमको आंकलन र प्रविधिमैत्री हुनु जरुरी छ । अझै पनि हामीहरु पूर्वानुमान गर्न पछि छौं । किनकी हामीसँग सो किसिमको प्रविधि छैन । सामाजिक पद्धतिमा सुदृढिकरण तथा बलियो संरचना निर्माणलाई प्राथमिकता दिनु पर्यो । हामीमा यो ज्ञान हुन जरुरी छ कि विपद् व्यवस्थापनमा हामीले १ रुपैयाँ लगानी गर्छौं भने त्यसले प्रकोप पछि हुने विपद्मा ७ रुपैयाँ बचाउने काम गर्छ ।
बाँकेमा आगलागीका घटना भई रहेका छन् । यसबाट बच्न के गर्नु पर्ला ?
आगलागीको घटना प्राय विद्युतिय समस्या वा आगोबाट हुन्छ । त्यसमा पनि खरको घर भएका घरहरुमा बढी आगो लाग्ने गरेको पाइएको छ । यसमा स्थानीय निकायले खर हटाएर टिनको व्यवस्था गर्नु पर्छ । बाक्लो बस्ती तथा जोडिएका घरहरु निर्माणमा ध्यान दिने र बस्ती विकास गर्नु पर्छ । खाली ठाउँ, चउर जस्ता ठाउँहरु बस्तीको छेउमा हुनु जरुरी छ ।