लघुकथा : शीर्षक
Saturday, May 7th, 2022, 3:13 pm
Kalpristha
मकै गोड्न निस्केकी सविताले माथिबाटै तल्लो पाटोमा कोदालो सित्त्याइन् । ए, के गरेकी, झन्डै बेंड भाँचिएको ! झस्किँदै उर्मिलाले सतर्क गराइन् ।
हेर्नु न दिदी हुलका हुल माग्नेहरू आएर फुत्कनै दिँदैनन् । मेलामा आइपुग्न ढिला भएकोमा स्पष्टीकरण दिइन् सविताले ।
किन के भो र सविता ? उर्मिलाले जिज्ञासा राखिन् ।
खै के भनौं दिदी ! गाईभैसीलाई पानी दिन भ्याछैन । भोट माग्नेहरूको लर्काे, एकपछि अर्को । नानाथरी कुरा , फतफताइन् सविता ।
हो भन्या, त्यही भएर म त झिसमिसेमै मेला पसेकी ! तिमी पनि अलि बेलामा आउली भन्ठानेकी थिएँ ।
हो दिदी म बेलैमा छोरीलाई अहिले पकाउने खर्च पानी देखाएर निस्कँदै थिएँ तर यी मगन्तेले बाटो छेकी छेकी भोट माग्छन् । यता खाने खर्च छैन, धारामा पानी छैन,बत्ती बल्दैन, खेतीपातीका लागि मल बिउ पाइँदैन । दिने कोही आउँदैन ! यतिमात्र कहाँ हो र ! मान्छेले काम गर्न छाडे । हेर्नु त युवाहरू ! नेताका पछि पछि हिँडेर आआफ्नो भविष्य अलपत्र पारेका ! यो चुनाव त युवालाई जँड्याहा र भत्ताको नाममा बुढाबुढीलाई अल्छी बनाउने खेल बेथितिको वाहन जस्तो लाग्छ दिदी ।
हो है ! तिमीले साँच्चै भन्यौ, केटाहरू जति जाँडमा बिके । काम नगरी पछि लाग्ने भतुवाजस्ता । आफ्नो जमिन बँझ्याएर अरुले देला र खाउँला ! कस्ता मोरा आसे भाका ! तर सविता बुढाबुढीलाई भने राहत मिलेको छ है । राम्रोलाई त राम्रो भन्नुपर्छ ।
अँ, यो त ठिकै हो तर युवाहरूको सोचाइ ठिक भएन । व्यवहार पनि गतिलो गर्दैनन् । घरधन्दामा पटक्कै ध्यान छैन । तपाईं जे भन्नुस् दिदी यो चुनाबे गतिविधि त केटाकेटी बिगार्ने र पारिवारिक अनुशासन मासेर केही मान्छेको स्वार्थ पूरा गर्ने जालझेल मात्र होरहेछ !
खै ! के भा यी युवाहरू ! हिँडे पनि ठिक्क मर्यादित भएर स्वाभिमान नकुच्चिने गरी हिँड्नुपर्ने नि ! भोलि फेरि यही समाजमा शिर उठाएर डुल्न मिल्ने गरी ! कस्तो विचार नगरेका ?
काठमाडौं