दोभाषे भाषामा युवाको चासो
Monday, May 9th, 2022, 8:27 pm
Kalpristha
मातिडी, बाजुरा की १७ वर्षीय श्रुतिकुमारी शाही तीन महिनादेखि नेपालगन्जमा छिन् । उनीले आफ्नो परिवारलाई नभेटेको तीन महिना पुग्यो । उनी परिवारको सल्लाह र आफ्नै खुसीले नेपालगन्ज बसेकी हुन् ।
कारण हो उनी दोभाषे तालिम सिक्न नेपालगन्ज बसेकी छन् ।
उनी जस्तै महेन्द्र, धनुषाकी २० वर्षीय ममताकुमारी यादव पनि तीन महिनादेखि घर छोडेर दोभाषे तालिम सिक्न नेपालगन्जमा बसेकी छिन् । उनी ग्रामीण क्षेत्रकी मधेसी युवा हुन् । यादवले आफूलाई माथि उठाउन दोभाषे तालिममा सहभागिता लिएको बताइन् ।
उनीहरु लगायत १७ जना तीन महिनादेखि बाँकेको नेपालगन्जमा देभाषे तालिम सिक्न बसेका छन् र सोमबार बिदा भएका छन् । उनीहरुमध्ये बाँकेका दुईजना छन् ।
उमेरमा साना भएता पनि दोभाषे तालिममा उनीहरुको आकर्षण आफैंमा नौलो थियो । कोही बाध्यताले दोभाषे तालिममा आएका थिए भने कोही बैराहरुका लागि केही गर्नुपर्छ भन्ने अठोटले तालिममा सहभागि भएको देखियो ।
तालिमले आफूहरुलाई दोभाषे भाषामा सहजता बनाएको शाही र यादवले बताए । शाहीले भनिन्, ‘अब त दोभाषे भाषा मज्जाले बोल्न सकिन्छ । हामीले जति सिक्न आएका थियौं । त्यो भन्दा बढी सिक्ने अवसर पनि पायौं । अब कुनै कार्यक्रममा दोभाषे बोल्नु पर्यो भने पनि गाह्रो हुँदैन ।’
यादव पनि आफूले दोभाषे भाषा सिकेर यसै क्षेत्रमा काम गर्ने बताइन् । ‘मलाई यसै क्षेत्रमा काम गर्न उर्जा जागेको छ । बैराहरुका लागि केही गर्न मन लागेको छ ।’
उनीहरुसँग कालपृष्ठकर्मीले कुरा गर्ने क्रममा उनीहरुले दोभाषे र सामान्य बोली दुवै प्रयोग गरिरहेका थिए ।
कार्यक्रममा तालिममा सहभागी युवाहरुले नै अतिथिले बोलेका कुराहरुलाई दोभाषेमा बताएका थिए ।
तालिमको अन्तिम दिन सोमाबार समापन गरिएको छ । कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका–२ का वडा अध्क्ष सुनिल हमालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हमालले बैरा व्यक्तिहरुले आफ्नो हक अधिकारका लागि खुलेर माग्नु पर्ने बताए । उनले स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुलाई आफ्नो हकअधिकार सुनिश्चित गर्न आग्रह गर्नु पर्ने बताए ।
कार्यक्रममा एनडिएफएनका महासचिव सन्तोष केसीले दोभाषे तालिमले लक्ष्यभन्दा बढी प्रभाव देखाएको बताए । एनडिएफएनका केन्द्रीय सचिव भावुकजंग थापा, बाँके बहिरा संघका अध्यक्ष प्रदिप बुढालगायतको उपस्थिति रहेको थियो ।
दोभाषे तालिम नेपालका लागि बिरलै तालिम हो । नेपालमा यो दोस्रोपटक आयोजना गरिएको छ । यसअघि बुटवलमा दोभाषे तालिमको आयोजना गरिएको थियो । जहाँ १७ जिल्लाका २० जनालाई आधारभुत दोभाषे तालिम दिइएको थियो ।
त्यस्तै माग १८ गतेदेखि नेपालगन्जमा दोभाषे तालिमको आयोजना गरिएको छ । दोभाषे तालिम विश्वका लागि पुरानो भएता पनि नेपालका लागि भने नयाँ हो । बैरा व्यक्तिहरुसँग सहज अन्तरक्रिया गर्न तथा बैरा व्यक्तिलाई सहज सूचना प्रवाह गराउन दोभाषे तालिमको आयोजना गरिन्छ ।
यस्ता दोभाषे तालिममा युवाहरुको आकर्षण देखिन थालेको छ । त्यसैले सोमबार सम्पन्न तीन महिने तालिममा सबै युवाहरु नै थिए ।