खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो
Wednesday, May 11th, 2022, 5:58 pm
Kalpristha
चालू आर्थिक वर्षको ९ महिने अवधिमा सबै उपभोग्य वस्तुको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अधिकांश उपभोग्य वस्तुको मूल्य उच्चदरमा बढेको हो ।
यस अवधिमा नेपालको समग्र मुद्रास्फीति (महँगी) ७ दशमलव २८ प्रतिशत छ । जुन, गत आर्थिक वर्षको सोही अवधिमा ३ दशमलव १० प्रतिशतमा सिमित थियो । केन्द्रीय बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य वस्तुको मूल्य उकालो लागेको छ भने खानेतेल, दाल, गेडागुडी, अण्डा, मासु, पेयपदार्थ लगायतको मूल्य समेत बढिरहेको छ ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत छ । यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तको तुलनामा घ्यू तथा तेलको मूल्यवृद्धि २८ दशमलव ३६ प्रतिशतसम्म छ । यसैगरी, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११ दशमलव ५६ प्रतिशत बढेको छ भने दाल तथा गेडागुडीको मूल्य १० दशमलव ५३ प्रतिशतले बढेको छ । यसका साथै, सुर्तीजन्य पदार्थको मूल्य ८ दशमलव ९१ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात भाडा २० दशमलव १६ प्रतिशतले बढेको छ । यसैगरी, शिक्षातर्फको महँगी ८ दशमलव ७९ प्रतिशतले बढ्दा विविध वस्तु तथा सेवाको महँगी ८ दशमलव १७ प्रतिशतले बढेको छ । यसरी, चालू वर्षको समग्र मूल्यवृद्धि हेर्दा खानेतेलको मूल्य सबैभन्दा धेरैले बढेको छ भने सार्वजनिक यातायातको भाडा पनि उच्चदरले बढेको पाइएको छ । यस्तै, यस अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ दशमलव २२ प्रतिशत छ ।
यही समयमा तलब तथा ज्यालादर गत वर्षको चैत मसान्तको तुलनामा ८ दशमलव ५२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १ दशमलव ८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९ दशमलव ४४ प्रतिशत र ८ दशमलव २७ प्रतिशतले बढेको छ ।
यस्तै, केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले भारतको तुलनामा नेपालमा बढी महँगी बढेको देखाएको छ । भारतमा ६ दशमलव ९५ प्रतिशतमा सिमिति मूल्यवृद्धि नेपालतर्फ ७ दशमलव २८ प्रतिशत पुगेको छ । जुन, भारतको भन्दा ० दशमलव ३३ प्रतिशतले बढी हो ।
साभार: रातोपाटी