लघुकथा : फेसबुकका आमाहरु
Saturday, May 21st, 2022, 8:01 am
Kalpristha
ढाकामोहन बराल
आज बिहान छोरी छिटो उठिछन् ।
‘बाबा मलाई हेल्प गर्नु न हिजो केही किन्न भ्याइन । आज हजुर र म केही किन्न जाउँ न’ उनले भनिन् ।
मिठाई, जुश र कपटा पनि किनिन् । सबै उनले जम्मा गरेको पैसाबाट खरिद गरेकी हुन् । नपुग थोरै मैले थपेँ । घर आएपछि आफ्नो आमालाई सबै दिएर मोबाइल फोन समातेर बसिन् ।
‘छोरी बिहानै देखि मोबाइल न खेलाउन । पढेर बस्ने कोसिस त गर कमसेकम’ हल्का हप्काए जस्तै गरें ।
‘हैन बाबा आज मदर्स डेको स्टाटस राखुँ भनेको राम्रो फोटो सर्च गरुँ कि मामुसँग बसेर नयाँ खिचुँ भैराछ’ छोरीको जवाफ थियो ।
‘हजुर पनि केही राख्नु न बाबा’ उनले पुनः भनिन् ।
अन्य बाबुहरु जस्तै छोरीले आफ्नो आमाप्रति देखएको सम्मानलाई देखेर म पनि प्रसन्न भएँ । म भने अर्को कोठामा संगै रहनु भएको आमालाई फेसबुकमा खोज्न चाहिन, छोरी उठ्नुभन्दा अगाडि दैनिक दर्शन गर्ने गरेकी आमालाई आज मातातिर्थ औंसी हो भन्न चाहिन, सारा सँसार देखाउने आमालाई हजुरको मुख देखाउनुहोस भन्न चाहिन, हाँस्दा अनि रुँदा, ठेस लाग्दा अनि अगाडि बढ्दा, आश्चर्य हुँदा र अद्भुत वस्तु देख्दा सधैं-सधैं ओठमा आउने शब्द आज एक दिनको लागिमात्र बनावटी रुपमा दोहोराउनु आवश्यक ठानिन मैले । मलाई त सबै वहाँले नै दिनु भएको छ भने मैले मेरो हो भनेर के दिउँ वहाँलाई । मोबाइल हेरें फेसबुकका भित्ताहरु धेरै आमाहरुका फोटाले भरिएका रहेछन् । त्यहाँ वर्षभरी आमासँग एक शब्द नबोल्नेहरुकी पनि आमा रहिछन् ।
पोखरा, कास्की