कथा : खुशी
Saturday, May 21st, 2022, 8:04 am
Kalpristha
शोभा गुरुङ्ग
समय परिवर्तशील छ र यहि परिवर्तनको रफ्तार सँगसँगै मानव अगाडि बढिरहेको छ र बढ्ने प्रयास गर्दैछ । यसै रफ्तारसँग अगाडि बढ्न सकिएन भने जीवनको कुनै सार्थक मूल्य हँुदैन । यसै विचारलाई आत्मसाथ गर्दै आज पहिलोपटक म आफ्नो गाउँ छोडी शहर जाँदैछु । किनकी मैले सानोतिनो जागिर पाएकोछु । मनमा अनेकौ खुशीका तरंगसँगै घरबाट साइतको टीका थापी आमाबाबुको असंख्य आर्शिवाद लिई परिवारजनका खुशीहरु मनभित्र गाठो पार्दै घरबाट निस्केकोछु ।
हतारिँदै भए पनि बस छुट्न १०/१५ मिनेट अगाडि नै म बस स्टेशन पुग्दछु । मेरो सिट एकजना केटीको छेउमै परेछ र त्यहाँ बस्न मलाई साह्रै अप्ठयारो महसुस भई रहेको छ । पछाडिको सिटका दुईजना आवारा किसिमका केटाहरुले ती केटीलाई छेडछाड गरिरहेका थिए । गाडी छुट्न लाग्यो सिटमा गएर बस्छु म ।
छेउकै सिटमा बसेकी केटी कामना पत्रिका हेर्न व्यस्त छिन् । शायद उनले नहेरेको कामनाको नयाँ अंक होला । लजालु झार झै खुम्चिएर बसे पनि उनको नजर छली बेला बेलामा उनीलाई हेर्न भने म चुक्दिन । मनमनै विचार गर्छु “कस्ती राम्री केटी होलिन ।” फेरि सोच्छु “शायद शहरका केटीहरु यस्तै राम्रा हुन्छन् होला ।”
ठिक्कको कपाल, गोरो मंगोलियन अनुहार, राता राता गाला, कही कतै केही खोट नभएको । आँखामा गाजल, अनि ओठमा लगाएको त्यो लालीले थप सौन्दर्यता दर्शाई राखेको थियो, उनको । पत्रिका फर्काइरहेका ती कोमल हातहरु उत्तिकै आकर्षक लागिरहेका थिए । उनको रुपको सौन्दर्य शालीनतम अनुहारले पहिलो हेराईमै असंख्य मायाका फूलहरु फुल्न थाले मनमनै म भित्र ।
“दाईको यात्रा कहाँसम्मको होला ?” भन्ने उनको शब्दले म झस्किए र हत्तपत्त काठमाडांैसम्म भन्न पुगेछु । अनि उनको यात्रा पनि काठमाडौंसम्मकै भएको र “अपाङ्ग बालबालिकाहरुका लागि तालिममा प्रशिक्षकको रुपमा जान लागेको जानकारी प्राप्त भयो । धेरै पढेलेखेकी धनी बाबुको पहुँच भएकी छोरी होली भनेर सोचे मनमनै । अनि बहिनीको घर चाहि कहाँ नि ? घरमा को को हुनुहुन्छ भन्ने मेरो प्रश्नको जवाफ उनले खुशी हुँदै दिइन “मेरो घर पोखरा हो । घरमा आमा र दुईजना बहिनीहरु छन् । एकजना मेरो दाई हुनुहुन्छ वहाँ कामको सिलसिलामा भारत मै हुनुहुन्छ । म पाँच वर्षको हुदाँ बाबाले सबैलाई छाडेर जानुभयो त्यसैले अहिलेको समयमा मैले भन्नु पर्दा घरमा बाबाले गर्ने कर्तव्य मैले नै पूरा गर्दैछु ।”
यत्रो समस्याको वावजुद अनुहारमा कति उज्यालोपन, कति चमक, निरासता र दुःख कहि कतैबाट नझल्केको । तारिफ गर्छु म उनको हिम्मतको । आफू पनि जिन्दगीमा धेरै समस्याहरुसँग संघर्ष गरेको हुनाले संघर्षशिल मानव प्रति मेरो लगाव दुई कदम अगाडि नै छ त्यसमा पनि एउटी महिलामा यस्तो हिम्मत र आँट हुनु पक्कै पनि त्यसमा आधुनिक नारीको लक्षण मिसिएको हुनु पर्दछ ।
“मेरो भिजिटिङ कार्ड कहिले काहि कुनै मोडमा मलाई सम्झनु परे अथवा म अपांगसँग कुनै जानकारी लिनु परेमा” भन्दै एउटा सानो भिजिटिङ कार्ड मेरो हातमा थमाउँछिन् ।
खुशी, … खुशी लामा नाम रहेछ उनको । अनुहार जस्तै नाम पनि खुशी, कस्तो सार्थक नाम । भनिन्छ कुनै व्यक्तिको नामले पनि उसको जीवनमा धेरै प्रभाव पारेको हुन्छ । हो रहेछ …… । खुशीको नामले त यो भनाइलाई शतप्रतिशत पुष्ट्याई गरेको जस्तो लाग्दछ ।
“म अपांग …….” खुशीको मुखबाट निस्केको त्यो शब्दले फेरि एकपटक नराम्रो लागेको छ , तर खुशी अपांग ? के, कस्तो, कहाँ ? सोध्ने, जानकारी लिने हिम्मत छैन । कुरा नसुनेको जस्तो गरी “ खुशी …….., कस्तो प्यारो नाम । नाम जस्तै तपाईको जीवनमा सधैं खुशी छाइरहोस, मेरो शुभकामना छ तपाईलाई । मेरो नाम जीवन हो, म पनि कामको सिलसिलामा काठमाडांै नै जाँदैछु ।” आफ्नो सानो परिचय दिन पुग्छु म ।
केहि घण्टाको मिठो कुराकानीसँगै हाम्रो रमाईलो यात्रा पनि समाप्त हुने बेला भएको छ । बसपार्कमा बस रुक्छ । यात्रुहरु क्रमशः ओर्लिदै जान्छन् । म पनि आफ्नो सामान ठीक पार्दै “खुशी जाउँ अब…” भनि अगाडि बढ्न थाल्दछु तलबाट उनलाई लिन दुईजना उनका सहयोगीहरु आई उनलाई बोकेर गाडीमा राख्छन् । उनको खुट्टा घुँडादेखि तल काटिएको जस्तो देखिन्थ्यो । म झस्किए …।
मेरो यात्राको क्रममा मैले मेरो मनको बारीमा बिजारोपण गरेको ती असंख्य बीउहरु त्यसै खेर गए मलजल नपाउँदै । मानिस स्वार्थी हुन्छ । यो कटु सत्यलाई मैले पनि आत्मसात गर्नुपर्ने नै रहेछ भनि मनको बारीलाई फेरि सम्समाउँदै बसबाट तल ओर्ले ।
यात्राको क्रममा मैले जे जति खुशी बटुलेको थिएँ त्यो केवल दिवास्वप्न भनौ या खुशीसँग बस्दा पलाएका काल्पनिक खुशीका मुनाहरु स्वतः मभित्र प्रवेश भएका होलान भन्दै ती तीतामीठा दृश्यहरुलाई त्यहि थान्को लगाउँदै ट्याक्सी खोज्दै थिएँ, मेरो आँखा अन्तिमपटक फेरि खुशी बसेको गाडीमा गएर अड्यो । गाडीको अघिल्लो सिटमा बसी ती ओसिला आँखाहरु मतिर हेर्दै खुशी “ बाई…..बाई….” गर्दै थिइन् । मैले पनि प्रतिउत्तरमा निर्जीव प्राणी सरह हात हल्लाई “बाई…बाई…” को संकेत गर्दै उनको गाडी आँखाबाट ओझल नहुँदासम्म हेरिरहेँ ।
यसरी मेरो यात्राको खुशी मबाट बिलीन भएको पनि आज धेरै वर्ष भई सक्यो तर त्यो केहि समयको यात्रालाई चाहेर पनि भुल्न नसकि रहेको भान म भित्र भएको अनुभुति गर्दछु । थाहा छैन फेरि यस्तो खुशीको यात्रा हुने हो वा होइन ।
नेपालगन्ज, बाँके