रेविज नियन्त्रणमा नेपालगन्ज अगाडि
Thursday, May 26th, 2022, 8:22 am
Kalpristha
शाही कुकुर बन्ध्याकरण शिविर समुदायले गर्दा नै सफल भएको बताउँछिन् । उनी समुदायका मानिसहरु नै आफैं यस शिविरका लागि आकर्षण हुने र समुदायमा भएका कुकुरका बारेमा उनीहरुले नै जानकारी दिने बताउँछिन् ।
विक्रम बुढाक्षेत्री
नेपालगन्ज उप-महानगरपालिका क्षेत्रमा चुनौतीका रुपमा छाडा पशुचौपाया देखिएका छन् । त्यसमा पनि समुदाय क्षेत्रमा रहेका छाडा कुकुरहरुको पनि त्यत्तिकै बिगबिगी रहेको पाइन्छ ।
समुदाय क्षेत्रमा रहेका छाडा कुकुरहरुबाट प्रत्यक्षरुपमा मानिसलाई सबैभन्दा ठूलो समस्या भनेको रेविज सर्ने हो ।
नेपालको परिवेक्षमा हरेक वर्ष रेविजका १ सय नयाँ बिरामी देखिन्छन् भने धेरै बिरामी त अस्पतालमा भर्ना नभएको कारणले थाह नै पाइँदैन । नेपालको लगभग आधा जनसंख्या रेविजको उच्च जोखिममा र एक चौथाई जनसंख्या मध्यम जोखिममा रहेको पाइन्छ ।
यस्तो अवस्थामा कसैको रेखदेखमा नरहेका ती कुकुरहरुको टोकाइबाटसहजै मानिसमा रेविज सर्ने भएकाले रेविजको नियन्त्रणमा नेपालगन्ज उप-महानगरपालिकाले उल्लेखनिय काम गर्दै आएको छ ।
नेपालगन्ज सहरमा विशेषगरी रातको समयमा मानिस तथा सवारी साधनको आवात जावत कम हुने भएकाले समुदायमा रहेका अधिकांश छाडा कुकुरहरु बाटो मै भेटिने गर्छन् । त्यस्तो अवस्थामा बाटोमा हिँड्ने मानिसदेखि साइकल यात्री, मोटरसाइकल यात्रीलाई ती कुकुरहरुले भुक्ने, झम्टन आउने घट्ना सामान्य भई सकेका छन् । त्यसैले त्यस्ता कुकुरहरुलाई नियन्त्रणमा ल्याउन नेपालगन्जले हरेक वर्ष कार्यक्रम संचालन गर्दै आएको नेपालगन्ज उप-महानगरपालिका पशु विकास शाखा प्रमुख लक्ष्मी शाही बताउँछिन् । समुदायमा रहेका छाडा कुकुरका कारण समस्या भएको पनि गुनासो आउने शाहीले बताइन् ।
नेपालगन्ज उप-महानगरपालिकाले हरेक वर्ष छाडा कुकुरको व्यवस्थापन तथा नियन्त्रण गर्नका लागि कार्यक्रम नै संचालन गरेको छ । नगरपालिकाको सहयोगमा एनिमल नेपालको टिमले नेपालगन्जमा रहेका छाडा कुकुरहरुलाई रेविजको भ्याक्सिन लगाउने तथा बन्ध्याकण गर्ने काम गरी रहेको छ ।
‘नेपालगन्जका समुदायमा धेरै छाडा कुकुरहरु रहेका छन् । ती कुकुरहरुमा न कुनै भ्याक्सिन लगाएको हुन्छ न कसैले रेखदेख गरेको हुन्छ । उनीहरु अन्य जंगली जनावरको पनि सम्पर्कमा आउने गर्छन् । जसको कारण सहजै समुदायमा रेविज फैलन सक्छ । त्यसैले हरेक वर्ष हामीले कुकुर बन्ध्याकरण शिविर संचालन गर्दै आएका छौं,’ प्रमुख शाहीले भनिन् ।
नेपालगन्जले हरेक वर्ष संचालन गर्ने कुकुर बन्ध्याकरण शिविरबाट २ सय कुकुरहरुको उपचार गरिन्छ । यो वर्षमात्रै नेपालगन्जले भाले कुकुर ६८ र पोथी कुकुर १ सय ३६ वटा गरी २ सय ४ कुकुरको उपचार गरेको छ ।
नेपालगन्जमा भएका सबै छाडा कुकुरहरुको उपचार सम्भव छ भन्ने प्रश्नमा प्रमुख शाही भन्छिन्, ‘हाम्रो अनुमान भनेको नेपालगन्जमा लगभग ५ सय छाडा कुकुर होलान् । अब प्रत्येक वर्ष २ सय कुकुरहरुमा रेविजको भ्याक्सिन लगाउँदै गयौं भने यो अवस्था कम हुन्छ । र बन्ध्याकरण गर्दै जाँदा कुकुरहरुको जनसंख्यामा पनि नियन्त्रण हुन्छ ।’
शाही कुकुर बन्ध्याकरण शिविर समुदायले गर्दा नै सफल भएको बताउँछिन् । उनी समुदायका मानिसहरु नै आफैं यस शिविरका लागि आकर्षण हुने र समुदायमा भएका कुकुरका बारेमा उनीहरुले नै जानकारी दिने बताउँछिन् ।
उनले भनिन्, ‘हामी भन्दा पनि समुदायका व्यक्तिहरुले नै हामीलाई भन्नु हुन्छ । कुकुर छोप्न पनि सहयोग गर्नु हुन्छ । कतिले त सम्पर्क गरेरै यहाँ शिविर संचालन गर्दिनु पर्यो भन्नु हुन्छ । हामीलाई समुदायका व्यक्तिहरुको ठूलो सहयोग भएको छ ।’
यसरी समुदायमा रहेका छाडा कुकुरलाई छोपेर शिविर संचालन गर्नु आफैंमा जोखिम काम हो । यस शिविरका लागि एनिमल नेपालबाट डाक्टरसहितको टोली आउने गरेको छ ।
यो शिविर संचालन गर्न नेपालगन्ज उप-महानगरपालिकाका निवर्तमान मेयर डा. धवल शमशेर राणा र उप-मेयर उमा थापामगरले पनि जोड दिएका थिए । छाडा कुकुरको टोकाइका घटना मेयर र उप-मेयर समक्ष पुगेपछि यसको समाधानको उपाय खोजिएको हो ।
.
नेपालगन्जमा उक्त शिविर संचालन भएपछि रेविजको जोखिममा नियन्त्रण आएको मगर बताउँछिन् ।
उप-महानगरपालिकाले कुकुर बन्ध्याकरण शिविर संचालन गर्न ५ लाख रुपैयाँ बजेट छुट्याउने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्जमा विगत २ वर्षदेखि रेविज शून्य रहेको छ । सम्बन्धित संघ-संस्थाले जिल्ला स्वास्थ्य कार्यालयलाई दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाभरी १४ वटा रेविजका बिरामी अस्पतालमा भर्ना भएका थिए । जसमा १ जनामात्र नेपालगन्ज उप-महानगरपालिकाको रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत विकल्प चौधरीले जनाएका छन् । उनका अनुसार तथ्यांकमा आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ , २०७८/०७९ मा नेपालगन्ज उप-महानगरपालिकामा शून्य रेविजका बिरामी रहेका छन् ।
.