कथा : ‘छोरी चाहि राम्रै रहिछे’
Saturday, May 28th, 2022, 10:27 am
Kalpristha
विक्रम बुढाक्षेत्री
हातमा लट्ठी समातेकी ऊ, ईलाका प्रहरी कार्यालय अगाडिको गेट छेउकै पर्खालमा अडेस लगाएर उभिरहेकी थिई । उसको नजिक अरु पनि केही पुरुष र महिलाहरु थिए । ती मानिस भुईमा बसेका थिए । ऊ र ती मानिसको अनुहारमा युद्धको रणमैदानमा होमिएको झ-झल्को दर्शाउँथ्यो ।
उमेर ऊ १४, १५ वर्षकी देखिन्थिई । उस्ले लगाएका तीकुर्ता सुरुवाल अलि फोहोर देखिन्थे । उसका ती दूधे ओठ पानी नपाएर सुकेको बन्जरजमिन जस्तो लाग्यो, मलाई । आखाँ पनि थकानले हो वा अनिन्द्राले राता-राता भएका थिए, उसका । उसका ती कम्मर छुने पहरा जस्ता कपाल पनि धरै दिनदेखि नस्यारिएको जस्तो लाग्यो, मलाई । उसका धुलाम्मे खाली खुट्टाले धेरै लामो यात्रा गरेर यहाँसम्म आएको जस्तो भान भयो मलाई ।
सडकमा केही यत्रतत्र छरिएका ढुंगा, काठका टुक्रा र टायरको मुस्लोमा पनि मेरो नजर गयो । मैले सहजै अनुमान लगाए । यहाँ आन्दोलन भएको हुन सक्छ भनेर ।
सो दृष्यले मलाई नेपालमा घटेका जनआन्दोलनको दृष्यावलोकन गरायो । मानौ २०४६।०४७, २०६२/६३ को आन्दोलनको झल्को थियो त्यहा ।
‘तर मलाई के मतलब । म यो ठाउँका मान्छे नै हैन । म त केही दिनका लागि पो यो ठाउँ आएको । होला केही कारण । केही माग गर्न यहाँ आएको होलान्’ यी यस्तै मेरा मनका भावहरुले मलाई अघि बढ्न अनुरोध गर्यो ।
‘मलाई कुनै झमेलामा फस्नु थिएन, यो नौलो सहरमा । मलाई त आफ्नो काम निम्ट्याउनको स्वार्थ छ, यहाँ’ मेरो मस्तिष्कले मलाई भनिरहेको थियो ।
मेरा मस्तिष्कको आदेशमा मेरा पैताला अघि बढ्न खोज्दै थिए । तर मेरा आँखाले उसलाई छोड्न चाहेन । मस्तिष्कको आदेशमा अघि बढ्न खोजेका मेरा पैतला र आँखाको फरक क्रियाकलापका बीच मेरो मन पनि स्तब्ध भयो । उसलाई पन यी तीनको झमेलामा फस्न थिएन सायद ।
जब मस्तिष्कको आदेशमा हिँड्न नसकिएको बेला मनको सुन्न भन्ने मैले कतै सुनेको थियो । तर यहाँ दुईटै भएन । अन्तत जित आँखा कै भयो ।
……….
ऊसँग न मेरो कुनै चिनजान नै थियो । न मैले ऊलाई कहिले देखेको नै थिए । ऊ र म एउटै सहरको पनि होइनौ । तर पनि मेरा आँखाले ऊमा केही खोजे जस्तो जस्तो लाग्यो । सायद मेरो मनले मलाई नै थाहा नदिँई आँखालाई केही आदेश गरे जस्तो ।
म ऊ र अवस्थालाई नियाल्दै थिए । यक्तिकैमा पकेटमा रहेको मोबाइलले भाइब्रट गर्यो । चिनेकै मान्छेको फोन होला भन्ने मेरो आंकलन रह्यो र मैले फोन पकेटबाट निकाले । काठमाडौंमा सँगै बसेको साथी समग्रकोपो रहेछ फोन ।
म र समग्र सानैदेखि एसएलसिसम्म संगै पढेको । तर उसको बुबाको सरकारी जागिरेले उसलाई कोहलपुर ल्याएको थियो । हामीबीच फोनको माध्यामबाट कुराकानी हुने भएता पनि नभेटेको ५/६ वर्षै भई सकेको थियो ।
आँखा अगाडिको अवस्थालाई केही बेसाउँदै मैले फोन उठाए । तर हेलो भन्न नपाउँदै उताबाट एक लाइन गाली आयो ।
‘के हो त त ठूलो भएछस् । कोहलपुर आएर पनि फोन नगर्ने । पत्रकार भए भन्दैमा आफूलाई ठुलो ठान्ने । काठमाडौंबाट आउँदा एकपटक फोन त गर्नु पर्छ । कहाँ छस् अहिले’ समग्र एक लहरै कराउँदै थियो । म पनि उसका कुरा एक लहरैले सुन्दै थिए ।
‘जहाँ भए पनि आज त मसँगै बस्ने हो बुझिस् । रमाइलो गर्नु पर्छ । कमसेकम मेरो ठाउँ आउँदा कोहलपुरमा साथी छ भनेर त सम्झनु पर्छ यार’ समग्रले थप्दै थियो ।
काठमाडौं छोडेको १०/१२ वर्षमा सम्रगको बोली पनि फेरिए छ ।
‘सरी यार म तलाई फोन गर्ने वाला थिए । मेरो अलिकति काम छ म सेकर फोन गर्छु’ मैले समग्रलाई प्रति उत्तर दिए ।
समग्रसँग कुरा गर्ने क्रममा पनि मेरो आँखा उसलाई नै हेरिरहेको थियो । र ‘हुन्छ’ भन्दै जवाफ फर्काउँदै थिए ।
यक्कासी मेरा आँखा ऊसका आँखामा आएका आँसुमाकेन्द्रीत भयो । ममा अलिकति हलचल आयो जस्तो भयो । मेरा आँखा, मन, मस्तिष्क र पैताला अब एक साथ अडिएका थिए । मानौं ऊसका आँखामा आएका आँसु देखेर सबैले सर्वसम्मत नै गरेर एक ढिक्का हुन गठबन्धन गरे जस्तो ।
उता समग्र के-के भनिरहेको थियो, मैले त्यति ध्यान दिन सकिन । मेरा कानले उसका कुरा त सुनिरहेको थियो तर गठबन्धन भने ऊसका आँखामा आएका आँसुमा केन्द्रीत भयो ।
समग्रले भनेका कुरालाई ध्यान नदिए पनि प्रति उक्तरमा हैले ‘हुन्छ हुन्छ’ भन्दै थिए । उताबाट फोन काटियो ।
मेरा मनमा धेरै प्रश्नले फेरि ओगटन थाले ।
‘ऊ किन रोएकी होला, के भएको होला, यति बिहानै-बिहानै यो प्रहरीचौकी अगाडि के त्यस्तो काम पर्यो होला’ जस्ता प्रश्नले मेरो मन भरिन लागि रहेको थिए ।
ऊसका आँखामा आएका आँसुलाई ऊसले टाउको नउठाएरै हातको हत्कोले पुछी ।
मेरो पेसा नै पत्रकारिता भएको कारण मैले मेरा मनका जिज्ञासा मेट्नु पर्छ भन्ने लाग्यो मलाई । र अब म त्यो दृष्यलाई अवलोकन गर्न लागेँ ।
……..
बिहानको ९ बजेको छ । मानिसहरुको संख्या बढ्न लागेको छ, प्रहरीचौकी अगाडि । एक एक गर्दै मानिसहरुको भिड र केही मानिसका हातमा रहेको काठको लौराका कारण मलाई ठूलै आन्दोलन हुने कोही भन्ने लाग्यो ।
सोही भिडका केही व्यक्ति बाटोमा सवारी साधनलाई रोक्दै जताबाट आएको हो त्यतै फर्काउन लागे । उनीहरुले सडक पनि बन्द गर्न सुरु गरेका थिए ।
केही हुल प्रहरी सुरक्षाका साथ प्रहरीचौकीको अगाडि आए । उनीहरु आन्दोलनकारीलाई रोक्न आए ।
तर त्यो हुलमा समाजका नेता जस्ता देखिने मानिसको कमि देखेँ, मैले । सायद र्भखर चुनाव सकिएर होला, कोही जितको बधाई लिँदै होलान् त कोही हारको गम बिसाउँदै होलान् ।
केही भिडियो क्यामरा लिएर पत्रकारकर्मी पनि आई पुगेँ ।
मैले मेरो मोबाइलको क्यामरा खोलेर त्यो दृष्यलाई कैद गर्न लागेँ ।
प्रहरीचौकीबाट एकजना प्रहरी सर आउनु भयो । सायद उहाँ त्यहाको ईन्चार्ज हुनुन्थ्यो होला । म अलि ढाडा भएका कारण उहाँको फुलीलाई प्रष्ट्याउन सकिन ।
उहा उपस्थित भएको भिडलाई सम्बोधन गर्दै, ‘तपाईहरु उत्तेजनामा नआउनु होस् । हामीले दोषी पक्राउ गर्न प्रक्रिया अगाडि बढाई सक्यौं । तपाईहरुले सरकारले निर्माण गरेको नियमअनसार कै न्याय पाउनु हुन्छ ’ भन्दै हुनु हुन्थ्यो । तर उहाँको कुराले त्यो भिडलाई खासै असर गरेन् । उहाँको कुरा न पर्खालमा अडेस लागेकी ऊनले सुनिन न अरु कसैले ।
मानिसहरुको भिड अझै बढ्दै थियो । ऊ पनि सोही मानिसहरुको भिडमा मिसिई । मानिसहरुले एक पुरुष व्यक्तिको फोटो पनि बोकेका थिए । ‘हत्यारालाई फासी देँ’, ‘पीडितलाई न्याय देँ’ भन्दै उनीहरु कराउन लागेँ ।
बाहिर आएका उनी प्रहरी ईन्चार्ज मुख खुम्च्याउँदै टाउको हल्लाएर मानिसहरुको भिडलाई हेर्दै भित्र पसेँ ।
मानिसहरुमा एकप्रकारको उत्तेजना देखिएको थियो । तर ऊ भने मानिसहरुको भिडमा शान्त थिई । सायद उसमा नारा लगाउने ताकत थिएन होला । तर उसका आँखामा आँसु झराल्ने चाही ताकत रहेछन् । ऊ अझै रुदै थिई ।
त्योे हुल मानिसको जमात र ऊ मृतक रामलाल क्षेत्रीको न्यायका लागि आएका रैछन् । हिजोमात्रै एक ट्रकले ऊसको बुबा रामलाललाई मारेको रैछ । घरको एकमात्र आर्थिक जोहो गर्ने मूली मान्छे रामलालसँगै उनले चलाउने अटोरिक्सा पनि काम नलाग्ने गरी दुर्घटनामा परेको रैछ ।
एलानी जमिनमा बस्ने उनीहरुको परिवार दुई छोरा, एक छोरी र मृतक रामलालसहित उनकी श्रीमति गरी पाँचजनाको परिवार रहेछ । जसमा ऊनी जेठी रहेछिन् । सायद त्यो भिडमा परिवारका अरु पनि थिए होला । तर मेरा आँखा बस ऊनीमा नै केन्द्रित रहको थियो ।
…….
मेरा छेउँमा उभिएर ती दृष्य हर्ने २/४ जनाको पनि जमात थियो । उनीहरु उमेरले ५० नाघेका जस्ता देखिन्थे । उनीहरुलाई सो आन्दोलन प्रति कुनै साहनुभूति भएको मैले पाइन् । उनीहरु आन्दोलनको आनन्द लिँद आपसमा कुरा गर्दै थिए । मानौ उनीहरु छुट्टी बिताउन त्यहा आएका होलान जस्तो ।
त्यसमध्ये एकजनाले त ‘छोरी चाहि राम्रै रहिछे’ समेत भन्न भ्याए । ती व्यक्तिलाई ऊनको विवाहका समेत चिन्ता भई सकेको जस्तो भान मलाई भयो ।
………
त्यो आन्दोलनमा दुई थरीका मानिस देखेँ मैले । कोही ताकतले कराउँदै थिए भने ऊ ताकतले रुदै थिई । बस दुईटै ताकतले न्याय मागिरहेका थिए । तर मैले दुईटै ताकतमा फरक भावना देखँे । ऊ आफ्नो बाबुको पीडामा रोई रहेकी थिई भने त्यो हुल न्यायका लागि ।
मलाई त्यो मानिसकोहुलले क्रियाकलापले केही फरक त पारेन तर ऊसको आँसुले मलाई हलचल गरायो ।
फेरि मेरो मन अनेकौं प्रश्नले भरिन लाग्यो । ‘बिचरा अब यो परिवारको हालत के हुन्छ होला’, ‘उनीहरुको लालनपोषण, शिक्षादिक्षाको जिम्मा कस्ले गर्देला’, ‘एउटा अटो चालक परिवार जो जसको परिवार एलानी जमिनमा बस्छ अब उनीहरुको आर्थिक अवस्था झन कति दयनिय हुने होला’ यी मेरा मनमा भरिएका प्रश्नको जवाफ तत्काल खोज्न म असमर्थ भए जस्तो लाग्यो, मलाई ।
जेठ महिनाको घाम चर्किँदै आयो । समयले दिनको १२ बज्ने संकेत गर्दै थियो । मानिसहरु थाकेर तिदर बितर हुन सुरु भई सकेको थियो । प्रहरीले सवारी साधनको संचालनलाई सामान्य बनाउँदै लगेको थियो ।
ऊ फेरी अघि कै ठाउँमा गएर उस्तै गरी उभिई । न कुनै पानी, न कुनै खाना बिहानदेखि उसले केही मुखमा हालेको मैले देखिन । सायद उसको भोक प्यास सबै कसैले छिने जस्तै उसको अनुहारमा भाव देखिन्थ्यो ।
फेरि मेरा आँखा ऊमाथि अडियो । तर यो पाली मेरा पाइलाले न मेरो मनको सुन्यो न आँखाको सुन्यो, ऊ हिँड्न लाग्यो । उसलाई पनि आफ्नो गन्तब्यमा पुग्नु छ ।
सायद मानाँै मेरो आँखा, मन, मस्तिष्क र पैतालाले गठबन्धन तोडी सकेका थिए । उनीहरुको स्वार्थ पूरा भई सकेको थियो । अब सबै अलग अलग भएका छन् ।
मेरो आँखा अगाडि ती अघिका दृष्य आई रहेका छन् । मन भावुक भएर एकाग्र भएको छ । मस्तिष्कले न्याय, अन्यायका कुरा सोच्दै छ र पैताला गन्तव्य तिर लमक-लमक हिँडिरहेको छ । सबै मौन छन्, आ-आफ्नो कार्यमा ।
बस मस्तिष्कले भन्छ ‘फेरि पनि ऊ र उनीहरु न्यायका लागि सडकमा आउने होलान् । फेरि पनि सडकमा टाएर बल्ने होला । गन्तव्यमा हिँडेका यात्री आन्दोलन सकिने प्रतिक्षा गर्ने होलान् । प्रहरी आन्दोलनमा उक्रिएकाको अगाडि मुख दर्शक बन्ने होला । फेरि पनि ऊनी जस्तै अर्की चेलीले आफ्ना बुबा गुमाउने होलिन्, फेरि पनि ऊनी जस्तै चेली न्यायको मागमा सडकमा उत्रीने होलान र केही त्यो आन्दोलनलाई हेर्दै फेरि भन्ने होला ‘छोरी चाहि राम्रै रहिछे’ ।’
अनि मजस्ता आफूलाई वरिष्ठ पत्रकार ठान्नेले फेरि अर्को समाचार लेख्ने शिर्षक पाउने होला ।
खजुरा, बाँके