नयाँ दिशामा मोडिँदै बाँकेको राजनीति
Wednesday, June 1st, 2022, 6:59 am
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाको सोमबार भएको कार्यपालिका निर्वाचन मतपरिणामले बाँकेको राजनीतिलाई नयाँ दिशातर्फ मोडिदिएको छ । जसको सिधा असर पर्ने देखिन्छ, आउँदै गरेको प्रदेश र संघीय सांसदको निर्वाचनमा ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ जेठ
राजनीति सधंै एकै दिशामा जादैन भन्ने तर्क धेरैले गर्छन् । राजनीतिमा हरेक सम्भावना खुला रहन्छन् भन्ने मान्यता राख्छन्, राजनीतिक खेलाडीहरु । अहिले यी मान्यता बाँकेको राजनीतिमा मेल खान पुगेको छ ।
सत्ता गठबन्धन दलहरुबीचको सहकार्यबाट अलग्एिर जनता समाजवादी पार्टी(जसपा) नेपालगन्ज उप–महानगरपालिकामा पहिलो दल बनेको छ । पहिलो दल बन्न जसपाले नेकपा एमालेको साथ लिएर एउटा कित्तामा प्रस्तुत भयो । यता कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, राप्रपा, एकिकृत समाजवादी र जनमोर्चा एउटा मोर्चामा देखिएका छन् ।
बाँकेमा किन जसपा गठबन्धनबाट बाहिरियो भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ । गठबन्धनबाट बाहिरिएको विषयमा जसपा र गठबन्धन दलका अन्य पार्टीको आ–आफनै तर्क छन् ।
नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण गौडेलका अनुसार जसपाले सुरुवातदेखि गठबन्धनमा इमानदारिता देखाएको थिएन । केन्द्रीयस्तरमा एउटा निर्णय भएर राजनीतिक दलहरु अगाडि बढिरहेको बेला नेपालगन्जमा जसपाले अन्तिम समयसम्म मेयरमा दाबि गरिरहेको थियो ।
गौडेल भन्छन्, ‘जसपाको नेतृत्वले घमण्ड गर्नु भएन । उहाँहरु गठबन्धनलाई सुरुदेखि मान्ने पक्षमा हुनु हुन्थेन् । पछि आएर जानकी गाउँपालिका र डुडुवाको विषयमा उहाँहरुको धेरै असहमति भयो । हामी बाँकेको सबै स्थानीय तहमा सके गठबन्धन, होइन भने गठबन्धन दलबीच मित्रवतरुपमा प्रतिस्पर्धा गर्ने निर्णयअनुसार अगाडि बढेको थियौं । कार्यपालिका निर्वाचनमा आएर जसपाले इमानदारिता देखाएन । जसपाको गतिविधिले बाँकेमा कांग्रेसलाई कमजोर बनाउने अवस्था देखियो । जसलाई हामी स्वीकार गर्ने पक्षमा छैनौं ।’
स्थानीय निर्वाचनमा गठबन्धन गरे पनि जसपा आन्तरिकरुपमा एमालेसँग मिलेर शंक्ति आर्जन गर्ने रणनीतिमा रहेको आरोप लगाउँछन्, कांग्रेसका नेता । सोहि रणनीतिमा अगाडि बढ्ने क्रममा जसपाले गठबन्धन दलहरुको बिचको सहकार्यलाई समेत तोड्दै कार्यपालिकामा नेपालगन्ज, डुडुवा, जानकी गाउँपालिकामा एमालेसँग सहकार्य गरेको तर्क गर्छन्, कांग्रेस नेता । त्यसले जसपालाई अहिले फाइदा पुगेको देखिन्छ । तर दीर्घकालीनरुपमा भने जसपाका लागि अहिलेको रणनीति घातक बन्ने सम्भावना पनि उत्तिकै रहेको बताउँछन् गठबन्धन दलका नेताहरु । तर कांग्रेसले लगाएको आरोपलाई भन्ने जसपाका नेताहरु गलत भएको तर्क गर्छन् ।
कार्यपालिका निर्वाचन सकिएसँगै आफूहरु गठबन्धनलाई मान्न तयार भएको बताउँछन्, जसपा बाँके अध्यक्ष एवम् नेपालगन्ज उप–महानगरपालिका उपमेयर कमरुद्दीन राई ।
कार्यपालिकाको निर्वाचन पछि नयाँ ढंगले आफूहरु अगाडि बढ्ने उनले बताए । कार्यपालिकाको निर्वाचनपछि आफूहरु सहकार्य गरेर गठबन्धन दलहरुसँग मिलेर जाने उनको भनाइ छ ।
राई भन्छन्, ‘ हिजोको दिनमा जे भयो त्यसलाई बिर्सेर अगाडि बढ्ने हो । नेपालगन्जको कार्यपालिकामा जसपा बिनैं कांग्रेस र माओवादीले अगाडि बढ्ने प्रयास गरे । त्यसकै परिणाम हामी बाध्य भएर एमालेसँग मिलेको हौं । यसमा कांग्रेसका केहि नेताले पनि बदमासी गरेका छन् ।’
नेपालगन्ज कार्यपालिकामा जसपा गठबन्धनबाट बाहिरिनुमा डुडुवा गाउँपालिका पनि एउटा प्रमुख कारण हो । किनकि डुडुवा गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित नरेन्द्र चौधरी र जसपाका केहि नेताहरुबीच आन्तरिक मतभेद् छ ।
कांग्रेसले बाँकेका आठैंवटा स्थानीय तहका कार्यपालिकामा गठबन्धन दलहरुबीच सहकार्य गर्ने योजना बनाएको थियो । तर जसपा डुडुवा र जानकी बाहेक अन्य पालिकामा गठबन्धन गर्न तयार भयो ।
कार्यपालिका निर्वाचन अघि गठबन्धन दलको बैठककै क्रममा डुडुवाका अध्यक्ष नरेन्द्र चौधरी र जसपा नेता एवम् पूर्वमन्त्री मोहम्मद इस्तियाक राईबीच सहमति गराउने प्रयास पनि भएको थियो । तर अन्तिम आएर स्थानीय नेता तथा कार्यकर्ताले नमानेको भन्दैं जसपा डुडुवामा सहकार्य गर्न तयारी भएन ।
डुडुवा र जानकीमा सहकार्य गर्न तयार नभएपछि अन्य दलहरुसँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउँछन्, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकी ।
कार्यपालिकामा जे–जस्तो नतिजा आए पनि नेपालगन्ज उप–महानगरपालिकाको सोमबार भएको कार्यपालिका निर्वाचन मतपरिणामले बाँकेको राजनीतिलाई नयाँ दिशातर्फ मोडिदिएको छ । जसको सिधा असर पर्ने देखिन्छ, आउँदै गरेको प्रदेश र संघीय सांसदको निर्वाचनमा ।
गठबन्धन दलका शिर्ष नेताहरुले अहिलेको सहकार्य प्रदेश र संघीय निर्वाचन पछि पनि जारी रहने बताउँदै आएका छन् । यस्तो अवस्थामा बाँकेमा रहेका तीन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, जसपाले संघीय सासदमा दाबी गर्ने पक्का छ ।
स्रोतका अनुसार अहिले जसपाले गठबन्धन भन्दा बाहिर गएर एमालेसँग सहकार्य गर्नुको एउटा कारण संघीय सासदको निर्वाचनमा आफूलाई सुरक्षित गर्ने रणनीतिका रुपमा पनि लिइएको छ । जसपा नेता आफूहरुलाई जस्तोसुकै परिस्थिति आए पनि तयारी अवस्थामा राख्न चाहन्छन् ।
यता कांग्रेस २ नम्बर क्षेत्रमा बलियो भएका कारण त्यसलाई गुमाउन चाहन्न । यसैगरी संघीय सांसदमा निर्वाचित जसपाका नेता मोहम्मद इस्तियाक राई पनि २ नम्बर क्षेत्र छोड्ने पक्षमा हुँदैनन् । यस्तो अवस्थामा कांग्रेसले ३ नम्बर क्षेत्र लिनुको विकल्प हुँदैन । यदि कांग्रेसले आफ्नै अडनलाई कायमै राखेको अवस्थामा जसपाले एमालेसँग मिलेर निर्वाचनमा जाने पनि सम्भावना रहन्छ । जसको संकेत गरिसकेको छ नेपालगन्ज कार्यपालिकाको निर्वाचनले ।