महिला उद्यमीलाई प्रोत्साहन गर्दै कोसेली घर
Wednesday, June 1st, 2022, 10:57 am
Kalpristha
महिला उद्यमी संघले बेला बेलामा महोत्सवको आयोजना गरेर पनि महिला उद्यमीका उत्पादनहरुको बजारीकरण लागि काम गरिरहेको छ । यसमा पनि नेपालगन्ज उप-महानगरपालिकाले सघाउँदै आएको छ ।
सौरभ राना
नेपालगन्जमा महिला उद्यमी संघले महिला उद्यमीका उत्पादनहरुको बजारीकरणका लागि उपयुक्त थलो बनाउने योजना बुन्दै थियो । एउटै छानामुनी महिला उद्यमीका तमाम उत्पादनहरु राखेर बिक्रीवितरणलाई प्रभावकारी बनाउने योजना बुन्दै गर्दा कोसेली घरको अवधारणा आयो । तर, त्यसलाई मूर्तरुप दिन अनेक अप्ठेराहरु थिए ।
नेपालगन्ज उप-महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले पाँच लाख रुपैयाँ सहयोग गरेपछि भाडाको घरमा सुरु भयो, कोसेली घर ।
२४ वैशाख २०७६ मा नेपालगन्ज उप-महानगरपालिकाको कार्यालय नजिकै कोसेली घर संचालनमा आयो । ‘हामीलाई आर्थिक सहायता चाहिएको थियो । अभियानलाई सार्थक बनाउन नेपालगन्ज उप-महानगरपालिकाले अभिभावकत्व ग्रहण गर्यो,’ कोसेली घर सञ्चालक संस्था महिला उद्यमी संघ बाँकेकी प्रथम उपाध्यक्ष सावित्रा बस्नेत सम्झिन्छिन् ।
भाडामा चल्न थालेपछि आफ्नै घरबाट कोसेली घर संचालन गर्ने उद्देश्यका साथ नेपालगन्ज उप-हानगरपालिकाको सहयोगमा नगरभित्र सार्वजनिक जग्गाको खोजीमा महिला उद्यमी संघ लाग्यो । जेठमै वडा नम्बर २ मा जग्गा पत्ता लागेपछि सबै प्रक्रिया पुर्याएर धमाधम कोसेली घर बनाउन थालियो ।
घरेलु कार्यालयले दिएको १० लाख र उप-महानगरपालिकाको पाँच लाखले घर तयार भयो । २४ साउन ०७६ मा कोसेली घरको उद्घाटन भयो । त्यसपछि महिला उद्यमीका उत्पादनहरुको बजारीकरण र प्रबद्र्धन गर्न अझ सहज हुँदै गयो । एउटा स्थायी बिक्री केन्द्र निर्माण हुँदा उद्यमीहरुलाई थप हौसला मिल्यो ।
उप-महानगरपालिकाबाट प्रत्येक वर्ष प्राप्त भइरहेको पाँच लाख रुपैयाँ, लुम्बिनी प्रदेश सरकारको १० लाख र घरेलुको थप ३ लाख रुपैयाँले कोसेली घरको संरचनालाई अझ मजबुत बनाउने, पर्खाल लगाउने, रंगरोगन गर्ने काम गरेको बस्नेत बताउँछिन् । कोसेली घरको व्यवस्थापन र सुधारका लागि नेपालगन्ज उप-महानगरपालिकाको सक्रिय अभिभावकीय भूमिका हौसला र प्रेरणाको स्रोत रहेको र लुम्बिनी प्रदेश सरकार र घरेलु कार्यालयले पनि सघाएको महिला उद्यमीहरु बताउँछन् ।
कोसेली घरमा महिला उद्यमीले उत्पादन गरेका सामान्य घरेलु उत्पादनहरुदेखि लिएर हस्तकलाका सामानसँगै औद्यागिक उत्पादनहरु राखिएका छन् । उद्यमीले आफ्ना उत्पादनहरु कोसेली घरमा आएर दिन्छन् अनि कोसेली घरले ती सामानहरु बिक्री गरिदिएर उनीहरुलाई पैसा दिन्छ । कोसेली घरमा परम्परागत हस्तकलाका सामान र खाद्यान्नको बिक्री बढी हुने गरेको छ । बिक्री हुन समय लाग्ने वस्तुको मूल्य उद्यमीले ढिलै पाउँछन् । गुणस्तरलाई ध्यान दिँदै वस्तुहरु बिक्रीका लागि राख्ने गरेको बस्नेत बताउँछिन् । उनीहरुको अर्थोपार्जनको स्केललाई बढाउँदै आत्मनिर्भर बनाउन भूमिका खेलेको छ । उत्पादनलाई अझ सुदृढ र व्यापक बनाउन हौसला बढाइरहेको छ । महिला उद्यमी संघले बेला बेलामा महोत्सवको आयोजना गरेर पनि महिला उद्यमीका उत्पादनहरुको बजारीकरण लागि काम गरिरहेको छ । यसमा पनि नेपालगन्ज उप-महानगरपालिकाले सघाउँदै आएको छ ।
नारी विकास केन्द्र …….
बाँकेको नेपालन्ज उप-महानगरपालिकाले पिछडिएका तथा विपन्न परिवारलाई उद्यमी बनाउन रामलिला मैदान नजिक रहेको नारी विकास केन्द्रमा विभिन्न किसिमको तालिम दिँदै आएको छ । नारी विकासमा प्रदान गरिने तालिममध्ये सिलाइकटाइ तालिमले वडा नम्बर १० की सन्तोषी चौधरीलाई धेरै ठूलो राहत पुगेको छ ।
नगरले प्रदान गरेको उक्त सिलाइकटाइ तालिमको एड्भान्ससम्मको तालिम लिई सकेकी सन्तोषी परिवारको आर्थिक अवस्थालाई सेवा पुगाउने बनेकी छिन् ।
सान्तोषीले सुरुमा आफ्नै घरायसी कामका लागि सिलाइकटाइ तालिमको प्राथमिक तहसम्मको तालिम लिएकी थिइन् । पछि उनलाई सिलाइकटाइबाट आर्थिक जोहो गर्न सकिन्छ भन्ने लागेपछि एड्भान्स तालिम पनि लिएको सन्तोषी बताउँछिन् ।
सन्तोषी भन्छिन्, ‘खासमा त मैले सुरुमा घरकै कपडाहरु, बच्चाबच्चीका कपडाहरु, च्यातिएका कपडाहरु आफैं सिलाएर केही पैसा बचाउन सकिन्छ की भनेर तालिम लिएको थिए । पहिला बेसिक तालिम लिए । अहिले एडभान्स तालिम पनि लिई सकेको छु ।’
सन्तोषी अहिले सामान्य कपडामात्रै नभएर महिलाले लगाउने ब्लाउज, लेडिज पाइन्ट, कुर्ता सुरुवाललगायतका कपडाहरु सिलाउने भई सकेकी छिन् । उनले सुरुमा आफ्नै घरायसी कामका लागि सिक्न सुरु गरेको सिलाइकटाइ तालिम अहिले कमाउने बाटो पनि बनेको छ ।
सन्तोषी जस्तै नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १८ कारकाँदोकी सरुपा सुनारले पनि नगरले प्रदान गरेको हाते कडाई तालिम लिएकी छिन् । उनी अब एडभान्स तालिमको पर्खाईमा रहेकी छिन् ।
सन्तोषी र सरुपा नेपालगन्ज उप-महानगरपालिकाले प्रदान गरेको तालिमका केही पात्रमात्रै हुन् । नेपालगन्ज उप-महानगरले नगरवासीलाई उद्यमी बनाउन निरन्तर महिला विकासको भवनमा विभिन्न किसिमका तालिमहरु संचालन गरिरहेको छ ।
नगरले महिला विकासको भवनमा चारवटा तालिम निरन्तर संचालन गरिरहेको हुन्छ । सिलाइकटाइ, डल बनाउने, हाते कडाई, मोबाइल बनाउने, नेतृत्व क्षमताको तालिम, ड्राइभिङ, पशुपालन सम्बन्धी तालिम जस्ता धेरै तालिमहरु महिला विकासको भवनमा संचालन हुने गर्दछ ।
नेपालगन्ज उप-महानगरपालिकाका निवर्तमान प्रमुख डा. धवल शमशेर राणा नारी विकासको भवनमा निरन्तर तालिम संचालन भई रहेको बताउँछन् । त्यस्तै प्रमुख प्रशान्त विष्ट पनि नगरले नारी विकासको भवनमा संचालन गरिरहेका तालिमले साना उद्यमीलाई टेवा पुगेको बताउँछन् । उनले उक्त कार्यक्रमलाई अझ बढवा दिँदै लाने बताए ।
नगर साझेदारी कार्यक्रम…….
त्यसैगरी नगरले साना उद्यमलाई माथि उठाउन महत्वपूणर् रुपमा गाउँ नगर साझेदारी कार्यक्रम पनि संचालन गरेको छ । उक्त कार्यक्रमअन्तर्गत नगरले साना उद्यमीलाई बिना धितो दुई लाख रुपैयाँसम्मऋण दिने गर्दछ । नगरपालिकाले हालसम्म चार सय जनालाई बिना धितो ऋण दिई सकेको छ ।
साना उद्यमीलाई पर्ने आर्थिक अभाव समस्यालाई समाधान गर्न उक्त कार्यक्रम लागू गरिएको थियो । राण भन्छन्, ॅयसबाट पैसा पनि रिटर्न भई रहन्छ । साना उद्यमीका लागि फण्डिङ पनि भई रहन्छ । यो साना उद्यमीलाई धेरै लाभदायी छ ।’
मागका आधारमा तालिम…….
त्यस्तै नगरपालिकाले जनताको आवश्यकता अनुसार उनीहरुको मागका आधारमा पनि विभिन्न तालिमहरु दिने गर्दछ । सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहका अनुसार नगरवासीले जुन व्यवसाय गर्न चाहेका छन् । सोही अनुसारको तालिम उपलब्ध गराएर सुरुमा उनीहरुलाई नगरले १३ हजारदेखि १५ हजार रुपैयाँसम्म दिने गर्दछ ।
यो वर्ष नगरले बाख्रा पालन, तरकारी खेती, सिलाइकटाइ जस्ता तालिम दिएको छ । साथै असार मसान्तसम्म अझै १० जनालाई चोयाको झोला, १० जनालाई हाउस किपिङ र १० जनालाई फास्टफुडको तालिम दिई सक्ने शाहले बताइन् ।
नगरमा विशेष अनुदानतर्फ संघीय योजनाअनुसार ८३ लाखको कार्यक्रमअन्तर्गत समूह गठन, समिति गठन, अनुसिक्षण, समविकास, किसोरी विकास, सिप विकास तालिम पनि संचालन भएका छन् ।
अर्को ५ लाख रुपैयाँको उद्यमी सहयोग कार्यक्रम पनि नगरमा संचालन भएको छ ।
यसका अलवा सचेतना तालिम, उद्यम विकास तालिम, महिला उद्यम सहजकर्ता, समग्र उद्यमी अनुगमन जस्ता कार्यक्रम पनि वार्षिक रुपमा नगरले संचालन गरिरहेको छ ।
यस बाहेक नेपालगन्जमा संघीय योजना अन्तर्गतका ससर्तअनुदानका पनि कार्यक्रमहरु संचालनमा रहेका छन् । जसमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा), लघु उद्यमी सृजनार भई रहेका उद्यमीहरुको प्रवन्धनका लागि वडासँग सहकार्य गरेर पनि कामहरु भई रहेको उद्यम विकास सहजकर्ता विन्दु विसीले बताइन् ।
सहजकर्ता विसी आर्थिक वर्ष २०७७/०७८ मा ५६ जनालाई उनीहरुको मागका आधारमा सिलाइकटाइ तालिम दिएको बताउँछिन् । त्यस्तै यो वर्ष पनि ३६ जनालाई क्रिष्टलको माला, चुरापोते, गुडिया र कोशन बनाउने तालिम दिई सकिएको विसीले बताइन् । साथै ४१ जनालाई असार मसान्तसम्ममा गडौली मल, अचार र बुटिक तालिम दिने उनले बताइन् ।
यसका साथै नगरले साना तथा ठेला व्यवसायीका लागि एक ठाउँमा व्यवस्थापन गर्नका लागि नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० विटियस रोडमा सटहरु पनि बनाएको छ । सो सटरहरुको काम अन्तिम चरणमा पुगि सकेको नेपालगन्ज उप-महानगरपालिकाले जनाएको छ ।
सहयोग : शंकर खनाल/विक्रम बुढाक्षेत्री