दुधेबालक देखि वृद्धसम्म यार्सा पाटनमैै व्यस्त
Thursday, June 2nd, 2022, 9:05 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
एक ओटा यार्सा भनेको हजारको नोट हो । लक्ष्मी पाउन सहज हुँदैन यो त भाग्यमा लेखेकाले मात्र पाउँछन् । यसो त पाटन पुगेका सबैले यार्सा पाएर फर्कन्छन् भन्ने छैन । यो भनाइ त्रिपुरासुन्दरी नगरपालिका वन क्षेत्रमा पर्ने भाङ्का पाटनमा यार्सा खोज्दै गरेका ६५ वर्षीय रनबहादुर बुढाको हो ।
उमेर र मौसम फेरबदलका कारण यो वर्ष पाटन नजाने निधो गरेका त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडाका बुढा गाउँका सबैजना नाबालकसहित पाटनतीर गएपछि आफू पनि यार्सा खोज्न पाटन पुगेको उनी बताउँछन् । उनी विगत सम्झँदै दिनको ५० देखि ६० ओटासम्म यार्सा टिपेको तर यो पटक मुश्किलले तीन दिनमा ६ ओटामात्र पाउन सफल बताए ।
एक पटकको कमाईले वर्षभरिको घरखर्च र पढाई खर्च समेत धान्ने भएपछि मानिसहरु यत्तिखेर गाउँघर खालीगरेरै यार्सागुम्बा पाइने हिमपाटनहरुमा पुगेर अस्थाई बस्ती बसालेका छन् ।
प्रत्येक वर्ष जेठको पहिलो साता देखि असारको दोस्रो साता सम्मको समयअवधी बेमौसमी खेती मानिने यार्सागुम्बालाई घर भित्र्याउने समयको रुपमा डोल्पालीले लिँदै आएका छन् ।
छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, दैलेख जुम्लालगायत नेपालगन्ज, काठमाडांै सिन्धुपाल्चोक र रामेछाप सम्मका हजारौ मानिसहरुलाई यत्तिखेर हिमपाटनहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्बाले तानेको छ ।
वर्षदो असिनापानी र कठाङ्गिदो जाडोको प्रवाहा नै नगरी जीवनलाई जोखिम मोल्दै कस्टपुर्ण यार्सायात्रालाई पार लगाउने प्रयात्नका साथ घुँडा धर्सेर चिसो सिरेटोसंंगै बुट्यानयुक्त घाँसमा लुकेर उर्मिरहेको जीवनबुटी खोज्ने कार्यमा मानिसहरु व्यस्त छन् ।
यत्तिखेर मानिसहरु पाटनमा गएकाले डोल्पाका गाउँबस्तीहरुमा सन्नाटा छाएको छ । के दुधेवालक के वृद्ध के अपांग के असक्त के विद्यार्थी सबैजना पाटनमा प्रकृतिप्रदत्त हिमाली सुन भनेर चिनिने यार्सागुम्बा टिप्न गएपछि गाउँघर सुनसान बनेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका १ का ७९ वर्षीय रविप्रसाद न्यौपाने सबैजना यार्सा टिप्नैको लागि पाटन गएका कारण गाउँ नै सुनसान भएको बताउँछन् ।
यत्तिखेर यार्सा सिजन भएकाले विशेष गरी उपल्लो डोल्पाका डोल्पोबुद्द छार्काताङसोङ र शे फोक्सुण्डो गाउँपालिका मध्य डोल्पामा पर्ने काइके गाउँपालिका र ठूलीभेरी नगरपालिका ५ र ६ मा पर्ने सम्पूर्ण विद्यालय बन्द छन् ।
तिब्बती भाषामा यार्साकुन्भूको परिभाषा यार भनेको वर्षा,चा भनेको घाँस वा झार, कुन् भनेको हिउँद र भू भनेको कीरा हो । तसर्थ यसको नाम वर्षे झार हिउँदे कीरा पनि हुन आउँछ ।
हिउँमा हिउँदभित्र कीराको रुपमा रहने र हिउँ पग्लेपछि बनस्पतीको रुपमा जमिनमाथी देखापर्ने हुँदा यसलाई यार्साकुन्भू भन्ने गरिएको भनाइ छ ।
…..
यार्सागुम्बा पाइने बस्तीहरुमा यसलाई जीवनबुटी जरा च्याउ च्याउकीरा कीरा र हरियो सुनको नामले चिन्ने गरेको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख राधाकृष्ण दासले बता । वनस्पति र प्राणी दुवैको विशेषतायुक्त यो यार्साकुन्भू बहुउपयोगी जडीवुटीको रुपमा चिनिन्छ । यार्साकुन्भू औसत ५.० देखि १० से.मि. लामो र १.८ देखि २.१ से.मि.मोटो र सुनौलो तामा रङको हुने गर्छ ।
यसको औसत तौल ०.५० देखि ४.२ ग्राम सम्म हुने र डोल्पामा पाइने यार्सागुम्बा अपेक्षाकृत ठुलो आकारको हुन्छ । एक किलोग्राममा २ हजार ५ सय देखि ३ हजार ३ सय वटा सम्म यार्सागुम्बा हुने जिल्ला डिभिजन वन कार्यालय डोल्पाले प्रकासित गरेको यार्सागुम्बा परिचय हाते पुस्तकमा उल्लेख छ ।
डोल्पा र दार्चुला जिल्लामा मुख्यरुपमा पाइने भए पनि मुगु, हुम्ला, जुम्ला, मनाग, गोरखा बझाङ, रुकुम, लमजुङ, सिन्धुपाल्चोक, संखुवासभा, धादिङ, ताप्लेजुङ र रसुवा लगायतका २० जिल्ला र भुटान, भारत, चीन र तिब्बतमा पनि यार्सागुम्बा पाइन्छ ।
सामान्यतया ६ महिना हिउँ पर्ने र ६ महिना हिउँ पग्लने हिमरेखाको आसपास समुद्र सतहबाट ३ हजार देखि ५५ सय मिटरसम्मको घाम लाग्ने पारिलो मोहडाका पाटन क्षेत्रमा यार्सागुम्बा पाइने अनुसन्धान कर्ता शिव देवकोटाले ०६४ सालमा डोल्पामा गरेको सर्वेक्षणमा उल्लेख गरेका छन् ।
यौनवद्र्दक, क्षयरोग, लहरेखोकी, किड्नी उपचार र फोक्सो रोगको उपचार उच्च एवं निम्न रक्तचाप नियन्त्रण थकान घटाउने शरीरको रोगसंग लड्न सक्ने क्षमतामा विकास र अनियमित मासिक स्राव रोक्नको लागि यसको प्रयोग हुने गरेको डिभिजन बन कार्यालय डोल्पाका प्रमुख राधाकृष्ण दासको भनाइ छ ।
प्रतिगोटा २०० देखि ३०० रुपैया सम्म पाटन क्षेत्रमा मुल्य पर्ने यो यार्सागुम्बा डोल्पाको सदरमुकाम दुनै आइपुग्दासम्म प्रतिगोटाको ५०० देखि १००० रुपैयासम्म पर्ने गर्छ ।
..
डोल्पामा प्रतिकिलो यार्सागुम्बाको १४ देखि १६ लाख सम्म पर्छ भने छिमेकीमुलुक चीनको स्वशासित क्षेत्र तिब्बतमा १६ देखि २६ लाखसम्म पर्ने गर्छ ।
यो वर्ष शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा पर्ने सामुदायिक बनहरुमा जेठको १३ गतेबाट यार्सागुम्बा संकलनको लागि पाटन खुला गरिए पनि निजी तथा सामुदायिक बनहरुमा पर्ने यार्सापाटनहरु जेठ १५ बाटमात्र खुला गरिएका छन् ।
दुई वर्ष अघि निकुन्ज वन क्षेत्रमा पर्ने हिमपाटनहरुमा बाहिरी जिल्लाबाट मात्र ७ हजार ९ सय ९९ जना यार्सा संकलकहरुले प्रवेश गरेका थिए । तर २०७७ मा विश्वभर फैलिएको कोरोना भाइरसका कारण यार्सागुम्बा संकलनमाथि रोक लगाइएको थियो ।
निकुन्जका रेन्जर तथा निमित्त संरक्षण अधिकृत लवकुमार गुरागाईले यो वर्ष डोल्पामा के कति मानिसहरु पाटनमा पुगे भन्ने यकिन तथ्यांक नभएको बताए । उने भन्नु भयो सबै जना स्थानीय तह निर्वाचनमा व्यस्त रहेकाले मानिसहरु पनि निर्वाचन अघि नै पाटन प्रवेश गरिसकेकाले पनि तथ्यांक संकलन गरिएको छैन ।
दुई वर्ष अघि यार्सा संकलकहरुवाट झण्डै ३ करोड रुपैयाँ प्रवेश शुल्क वापत कर उठाएको निकुञ्जले यो वर्ष भने यार्सापाटनमै निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको अतिरिक्त नेपाल प्रहरी सशस्त्र प्रहरी निकुञ्ज मध्यवर्ती वन उपभोक्ता समितिका पदाधिकारी र निकुञ्ज कर्मचारीलाई प्रवेश शुल्क उठाउन परिचालन गरेको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज मध्यवर्ती वन उपभोक्ताहरुलाई प्रवेश शुल्क वापत ५०० मध्यवर्ती वन क्षेत्र भन्दा वाहिरका जिल्लावासीलाई २००० र जिल्ला वाहिरलाई ३००० प्रवेश शुल्क निर्धारण गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी लगायत निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारी प्रहरी नायव उपरिक्षक निरन्जन थापा सहितको सरोकारवालाको जेठ ९ गते बसेको बैठकले जेठ १३ गते यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको थियो ।
निकुन्जका अनुसार यो वर्ष ५ करोड ८७ लाख ५ हजार बरावरको क ख र ग श्रेणीका ५८९ ठेली रसिद पठाइएको छ । यो वर्ष यार्सागुम्बाबाट के कति राजश्व उठ्छ भन्ने कुरा काटिएका रसिद ठेली प्राप्त भएपछि मात्र थाहा हुने निकुन्जले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले सके सम्म यार्सागुम्बाको राजश्व छलिनहोस भनेर तीनै तहका सुरक्षा संयन्त्रलाई निर्वाचन पछि सबै क्षेत्रमा परिचालन गरिएको बताए ।
डोल्पाका अन्य सामुदायिक वनहरुमा प्रवेशको लागि पछाडि नै खुला गरिएकोले विवरण नआइसकेको जिल्ला डिभिजन बन कार्यालयले जनाएको छ ।
साविकको माझफाल गाविस हालको ठुलीभेरी नगरपालिका ५ र ६ मा पर्ने बाघडाँडा, तरपरे, रुपपाटन, माटे र साइक्वारी यार्सापाटनमा मात्र बर्षेधि ४० हजार भन्दा धेरै यार्सा संलकहरु प्रवेश गर्ने गरेको जिल्ला डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ ।
वर्षेनि हजारौको संख्यामा मनिसहरु डोल्पा प्रवेश गर्ने र अव्यवस्थित संकलन पद्दतिका कारण यार्सागुम्बाको उपलब्धतामा ह्रास दाउराको अधिक प्रयोग वन्यजन्तुको शिकार आगलागी जस्ता कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिदिएको छ ।
अव्यवस्थित संकलन कार्यलाई समयमा रोक्न नसके निकट भविश्यमा नै यार्सागुम्बा लोपभएर जाने कुरा अहिलेसम्म गरिएका अध्यायनहरुले औल्याउँदै आएको पाइन्छ ।
यर्सागुम्बाबाट जिल्लामा करोडौ आम्दानी हुँदै आए पनि यसको उपलब्धता र जीवनचक्रमा पर्ने असरको कुनै लेखाजोखा गरिने आधार छैन ।
…