लघुकथा : भनरुद्र
Saturday, June 4th, 2022, 11:37 am
Kalpristha
छायादत्त न्यौपाने
थाहा पायौ अनरुद्र ? के काका अनरुद्रले भनरुद्रसँग प्रतिप्रश्न गरे ।
तिमी खुब वकालत गर्छौ नि महिला ठगिए, दुख पाए भनेर भनरुद्र अलि जङ्गिए ।
अनरुद्र अलिक नजिक सरे । उनले भने कुरा के भो काका ! पहिला स्पष्ट पार्नु न ।
तिमी सुन्न सक्छौ ? भनरुद्रले अउला ठड्याए ।
ल, काकाले मलाई चिन्नुभएकै रैन्छ ! म त अनरुद्र हुँ अनरुद्र ! जस्तो सुकै अप्ठ्यारोमा नआत्तिने मान्छे ।
हेर न फुर्ती त्यो पनि भनरुद्रसँग । तिमी को हौ तिम्रो स्वभाव कस्तो छ ? मलाई थाहा छैन भन्ठान्या !
ल भन्नू न त कुरा के हो ? किन जिब्रो लरबराउनुभा छ त !
लौ, मलाई जिब्रो लरबरा पो भन्छन् बा झन् उनैले थाहा पाउनुपर्ने महत्त्वपूणर् जानकारी दिन लाइराछु उल्टो मलाई जिब्रो नअड्काउ भन्ने। गुन गर्न त हुँदै हुँदैन आजको मान्छेलाई ।
कुरा त्यसो हैन नि काका लामो भूमिका नबाँध्नु सुन्न हतार भो भनेर तपाईंको कुरालाई महत्त्व दिइरा छु काका पनि !
हो यसरी कुरा गर न भनिहाल्छु नि भन्न त बोला नि तिमीलाई यया, ल सुन त्यो तलखर्के जेठाकी बुढी नर्मलीले त भएभरको सम्पत्ति लट्टीपट्टी पारेर जेठालाई छाडिदिइछ नि ! बिचरो रनाहामा छ ।
ए हो र काका ? अनरुद्र झसङ्ग झस्के ।
हो त नभा कुरा गर्छु र म ! भनरुद्रले स्पष्ट पारे ।
छेउमै बसेका सनकमानले थपे त्यो जेठे मोरो रातसाँझ नभनी कमाउँदै उसैका हाताँ थमाउँदै गयो । अलिकति त चासो राख्नुपर्छ नि आफ्नो पसिना कहाँ कसरी पोखिइरहेको छ भनेर, मतलबै गरेन ।
हो हुन त अति विश्वास गरेको थियो । श्रीमतीका कारण कति आफन्त र साथीभाइ समेत टाढिए । ऊ भएपछि सबै पुग्छ कोही चाहिँदैन झै गर्थ्यो । अनरुद्रले विगत सम्झे ।
हैन कति छट्टू रहेछ त्यो आइमाई ! अंश लाग्ला, दिनुपर्ला भनेर आफ्नो पैसाले किन्दा पनि आमाको नाममा पास गराउने अनि आमाबाट आफूले बकस लिने गरेर भएभरको जग्गा आफ्नो नाममा पारिछ ।
स्वास्नीले जाल बुनिरहँदा पत्तो नपाउने त्यो जोइटिङ्ग्रे जेठो आज धोती न टोपी भएर पुर्पुरो समाएर डेरा खोज्दै छ । दुख पाइस् मङ्गले आफ्नै ढङ्गले भन्या थाहा पायौ अनरुद्रे कस्ता हुँहदारहेछन् आइमाई मान्छे ?
ध्वस्तै पारिछ है ! तर काका जे भए पनि हाम्रो समाजले महिलालाई त पछि पारेकै छ नि । यो त एउटा अपवाद हो । ऊ सिरुखर्के कान्छाले विनासित्ति कति दुख दिन्छ भाउँजूलाई ? आरुपाटे माहिली विनाकसुर घरबाट निकालिइन् । खोज्नुस् त यस्ता घटना कति भेटिन्छन् कति !
आज तिमीहरू काका भतिजको बहस टुङ्गिएला जस्तो छैन म त हिँडे भन्दै सनकमान सन्किए ।
के को नटुङ्गिने हो ! एक सिक्काका दुइपाटा , दुवैतिर ठिक भए सिक्का चल्छ खोटो भए चल्दैन । जीवन पनि त्यही हो । लोग्ने स्वास्नी मिलेर हिँडे चल्छ जीवन, नमिले थेच्चिन्छ । यहाँ पनि भाको यही हैन ? भनरुद्र भन्दै गए….!!
काठमाडौ