आशीर्वादले हासिल भएको छविलाल खड्काको एउटा सफलता
Saturday, June 4th, 2022, 11:44 am
Kalpristha
म्यामराज राई
आरम्भ…
साहित्यकार छविलाल खड्कासँग मेरो भौतिकरुपमा चिनापर्ची छैन । विशेषतः साहित्यमा आख्यानको सानो रुप लघुकथा विधाले भने गजबको मित्रताको एउटै डोरीले बाँधिदियो । अझ भनौं, साहित्यिक साइनोमा एकार्कामा नजिकको भयौं । सामाजिक सन्जालमैत्री योसत्तरीको दशकमा हामी पनि मुहार पुस्तिकामा झण्डै वर्ष दिन अघि साथी बन्यौं । सामाजिक सन्जालमा साथी हुनु अगाडिबाट लघुकथाको माध्यमबाट मैले उहाँलाई पढिरहेको थिएँ । मेरो पनि लघुकथा विधा सबैभन्दा बढी मन पर्ने साहित्यिक विधाभित्र पर्दछ । त्यसकारण पनि उहाँ मेरो चासोभित्र पर्नुभयो । परिरहनु भयो । फलतः डिजिटिल प्रतिमा भए पनि यो सङ्ग्रह पढ्न मैले माग गरें ।
उहाँकोजन्म माता स्व. भिमकली खड्का तथा पिता स्व. भिउँदल खड्काको सुपुत्रको रुपमा वि.सं.२०२५ साल चैत २३ गते रुँघा, रुकुममा भएको हो । हाल कोहलपुर -६, बाँकेको स्थायी बसिन्दा हुनुहुन्छ । शैक्षिक योग्यतामा स्नातक तह पूरा गरी हाल निजामती कर्मचारीको रुपमा सेवारत हुनुहुन्छ । हाम्रो पूणर्िमा साहित्यिक प्रतिष्ठान, कोहलपुर, बाँके र राप्ती साहित्य परिषद् शाखा कार्यालय रुकुम पश्चिमको आजीवन सदस्य हुनुहुन्छ । उहाँ लघुकथा, साईनो र कविता आदि विधामा कलम चलाउनुहुन्छ । खड्काले ‘बहिनीलाई चिठ्ठी’ शीर्षकको कविता २०४५ सालमा राप्ती सन्देश पत्रिकामा प्रकाशन पश्चात आफ्नो साहित्य लेखनको श्रीगणेश गर्नुभएको थियो । लघुकथाको क्षेत्रमा भने ‘कोरोना क्याप्सुल’ शीर्षकको लघुकथा मिसन टु डे पत्रिकाको २०७७ साउन अंकमा प्रकाशित गरेर औपचारिक रुपमा लेखन थालनी गर्नु भएको हो ।
उहाँको सङ्ग्रहको रुपमा प्रकाशित कृतिहरूमा ‘शहिदको सन्देश लघुकाव्य – २०४९’, ‘बिरौटो साईनो सङ्ग्रह – २०७७’ तथा ‘आशीर्वाद लघुकथा सङ्ग्रह-२०७८’ बजारमा उपलब्घ छन् । जसमध्ये आज म आशीर्वाद लघुकथा सङ्ग्रह-२०७८ बारेमा केही चर्चा गर्न चाहन्छु ।
विषय प्रवेश…
म समालोचक हैन । तर, रहर गरेर यो उत्कृष्ट आशीर्वाद लघुकथा सङ्ग्रहमाथि लेख्ने प्रयास गर्दैछु । नेपाल प्रज्ञा-प्रतिष्ठानले उत्पादन गरेको डिजिटल नेपाली बृहत शब्दकोशको आधारमा ‘आशीर्वाद’ शब्द नाम हो । यसको अर्थ (१) प्राय मान्यजनले आफू मन्तिरकाको सफलतावा कल्याणको कामनाले प्रकट गर्ने शुभेच्छा । (२) ब्राह्मणवर्गबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना, आशिष, भनिएको छ । यही अर्थसहितको सुन्दर शब्दबाट कृतिको नाम जुराइएको छ । लघुकथाकारले यो सङ्ग्रह नेपाली साहित्यमा लघुकथा विधाको पहिलो सङ्ग्रह (झिल्का- २००७) प्रकाशन गर्ने लघु कथाकार पूणर्प्रसाद ब्राह्मणप्रति सादर समर्पण गर्नु भएको छ ।
कतिपय लघुकथाकारहरूले ब्राह्मण नै पहिलो लघुकथाकार हुन्समेत भन्ने गरेका छन् । यसै सन्दर्भमा थोरै प्रसँग कोट्याउन चाहें । मुहार पुस्तिकामा लघुकथा कुनो पेजको व्यवस्थापक नारायण तिवारी लघुकथा कुनोको दसौं वार्षिकोत्सवको अवसरमा लेख्नुहुन्छ, ‘इतिहास पल्टाइ हेर्दा फुटकर लघुकथा सर्जकको रुपमा पहिलो व्यक्ति भीमनिधि तिवारी हुन् । उनको लघुकथा – दान शीर्षक(वि.सं. १९९६ मा शारदा मासिक पत्रिकाको वर्ष ५,अंक १, पृष्ठ ९) मा प्रकाशित छ, जुन पेजमा समेत पोष्ट गर्नु भएको छ । उहाँ अगाडि थप्नुहुन्छ,’ समय कालखण्डको आधारमा तिवारी पछि भूपी शेरचन, पर्शुराम रोका र पूणर्प्रसाद ब्राह्मण हुन् ।’ आवरण चित्र अन्तर्गत अमूर्तमा निकै आकर्षक छ । प्रतीकात्मक स्पष्ट देखिन्छ । प्रकाशकमा हाम्रो पूणर्िमा साहित्य प्रतिष्ठान रहेको छ । मूल्य रु.२७५ तोकिएकोछ । आवरण चित्र विक्रम शिशिर तथा कथागत भावचित्र सुरज सुवेदीको छ । यस सङ्ग्रहलाई शुभकामना दिनुहुनेमा डा. रवीन्द्र समीर रलता केसी हुनुहुन्छ ।’
आशीर्वादभित्र लघुकथाकार छविलाल खड्का’ भन्ने शीर्षकमा डा. शेखर कुमार श्रेष्ठले कथागत मिहिन ढङ्गले चिरफारसहित भूमिका लेख्नु भएको छ । अन्तिमबाट दोस्रो पातोमा लघुकथाकारले प्रत्यक्ष सहयोग दिने महानुभावहरूप्रति आभार व्यक्त गर्नुभएको छ ।
‘कथातत्वले पूणर् भएका ससाना कथा – बृहत् नेपाली शब्दकोश ।’ प्रस्तुत कृति ‘आशीर्वाद’का ५१ ओटै लघुकथाहरू यही भावनामा रहेका छन् । कथागत चित्रले लघुकथालाई सुनमा सुगन्ध थपेको छ । पुस्तकमा हरेक लघुकथा दुई पृष्ठमा समापन गरिएको छ । सुहाउककंदापात्रहरू छनौट गरिएको महसुस हुन्छ । पुरुष पात्रमात्र भएका लघुकथाहरूमा सरप्राइज, कर्मको फल, वातावरण दिवस, चुनाव, सम्मान, गुनको पैंचो, भूमिका, नालायक, चतुर्याइककं र भ्रममार्ग आदि छन् । त्यसैगरी, महिला पात्रहरू मात्रै प्रयोग गरेर उठाइएका कथाहरू पनि छन् । जस्तै – पर्दाफास, डर र बाघभालु आदि । जंगली जनावरहरू बाँदर, गुना/गुनेनी, बाघ र सिंह आदि प्रतीकात्मक रुपमाप्रयोग गरिएका छन् ।
बाँदर, गुना/गुनेनी पात्रको रुपमा लघुकथा ‘जुक्ति’ मा तथा बाघ र भालु पात्र बनाइएको लघुकथाहरू ‘झ्यालखाना’ र ‘बुद्धिको बिर्को’ हुन् । मानवेतर पात्रहरू पनि छन् । जस्तै – मृतात्मा, नाङ्गो खुट्टा, कुर्सी र खाट आदि । ‘हाकिम पुराण’मा पात्रहरू मानव (नारी) र मानवेतर कुर्सीको सम्वाद छ । ‘घात’मा मानव पात्र सँगसँगै मानवेतर पात्रहरू कुर्सी र खाटको समेत सहभागिता रहेको पाइन्छ भने ‘सम्मान’मा नाङ्गो खुट्टालाई पात्रको रुपमा पाइन्छ । देखाउने दाँत, आश्चर्य, विजय भोज, समय, योग्यता, उपहार आदि शीर्षकका लघुकथाहरूमा नारी पात्रनेपथ्यतिर हुन सक्ने देखिन्छ।बाँकी सत्ताइस ओटा लघुकथाहरूमा भने नारी र पुरुष पात्रहरूलाई प्रत्यक्ष स्थान दिइएको भेटिन्छ । पात्रको अवस्था, परिवेश, चरित्र र भूमिकानुसारका भाषाहरू पनि प्रयोग गरिएका छन् जुन अस्वाभाविक लाग्दैन ।
छविलाल खड्काका लघुकथाहरू अधिकांश समसामयिक विषयवस्तुका छन् । विश्वलाई तहसनहस बनाउने कोभिड-१९, कोरोनाकाल सँग सम्बन्धित लघुकथाहरू विजय भोज, ए ग्रेड, भोक, गुनको पैंचो आदि छन् । कोरोना संक्रमण भएको बखत छिःछिः दुरदुर गरे पनि उनैले कोरोना संक्रमण मुक्त भएको अवसरमा आयोजना गरेको भोजमा भने स्वार्थी गाउँलेहरू भेला भएको देखिन्छ । ‘ए ग्रेड’मा कोरोनाले शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर गरेको देखिन्छ । पात्रले आफ्नो वास्तविक क्षमताभन्दा नातावादले परीक्षामा ‘ए’ ग्रेड ल्याएको देखाएर कथाशीर्षकले सार्थकता पाएको छ । सहारा छोरो थिए तर बितेपछि आमा पात्र भोक मेटाउ बाहिर निस्केकी छिन् । कोरोनाको डरले भन्दा भोकले मरिने कुरो ‘भोक’ कथामा मर्मस्पर्शी तरिकाले देखाइएको छ । ‘गुनको पैंचो’मा जीवन-मरणको दोसांधमा पुगेका कोरोना संक्रमितलाई असहयोग गर्ने बैगुनी चरित्रको नेतालाई चुनावमा पख्लास् भनी चेतावनी दिइएको छ । ‘कुलांगार’मा आफूले कमाएर दिनुपर्नेमा उल्टै सरकारबाट पाएको आमाको वृद्धाभत्ता भट्टीमा सकाउने कुलांगार छोरोको पर्दाफास गरिएको छ । भनाइ र गराइन मिलाउने राजनीति र राजनेताहरूप्रति खड्का खरोरुपमा उत्रिनु भएको छ । उदाहरणको रुपमा आश्चर्य, गुनको पैंचो, योग्यता, चुनाव प्रचार, नालायक, चतुर्याई आदि हेरे पुग्छ । अस्पताल, आशीर्वाद, चिसो ताप, परिणाम, बा, मातृत्व, भगवानको कृपा, सतबिउ, मर्निङवाक, ईश्वरको खोजी र नपुङ्सक आदि पारिवारिक कथाभित्र विवाह, माया, विछोड, पीडा, घृणा, यौन चाहना, झगडा आदि सजिलै महसुस गर्न सकिन्छ ।
‘ओखती’मा हिस्टेरियाको बिरामी केन्द्रमा छ । घरको बोझ बोक्ने श्रीमानको भार थाम्नुपर्ने कारण बाध्यतावश यौनकर्मी हुनु परेको मार्मिक कथा छ ‘बाध्यता’मा । ‘सन्तान’मा साक्षात् भगवान बुबाको स्याहार गर्न परपर भाग्ने तर अंश, सम्पत्ति चाहिए अघिअघि चाहिने कुपुत्रहरूको कथा छ । ‘गुरुदेव’मा नारीप्रति आसक्ति धर्मगुरु देखिन्छ । बालमनोविज्ञानमा आधारित कथाहरू ‘प्रार्थना’ र भोक दिवस’ हुन् । गलत आचरण भएका कर्मचारीहरूको कर्तुत ‘सुब्बाहरू’, ‘उपहार’, ‘वातावरण दिवस’ आदि कथाहरूमार्फत उजागर भएको छ ।
व्याकरणात्मक हिसाबले डर लघुकथाको अन्तिम अनुच्छेदको पहिलो हरफमा ‘आमा’ र ‘मानिन’ शब्दहरू हुनुपर्ने थियो । त्यस्तै, भ्रममार्गको अन्तिमबाट दोस्रो अनुच्छेदको पहिलो हरफमा ‘एकोहोरो’ शब्द हुनुपर्नेमा अन्य भयो कि ! लघुकथाकार छविलाल खड्काले केही अपवादका कामहरू गर्नु भएको देखें । जस्तो कि ! प्रायः स्रष्टाले सङ्ग्रह प्रकाशनसम्म आइपुग्दाका क्षणहरू शब्दमा समेटेर लेखेको हुन्छ तर उहाँले लेख्नु भएको छैन । त्यसैगरी अधिकांश कृतिहरूमा सबैभन्दा पछाडि स्रष्टाको फोटो तथा सामान्य परिचय बुँदागत रुपमा भेटिन्छ तर उहाँको यो सङ्ग्रहमा त्यो भेटिँदैन । प्रकाशकको नियम वा नयाँ प्रयोग गरिएको पनि हुन सक्छ ।
निचोड…
लघुकथाकार छविलाल खड्काले यो सङ्ग्रहमा एउटा समय पक्रनु भएको छ । देश तथा समाजका विकृति, कुसंस्कारलाई खुलेर पर्दाफास गर्नु भएको छ । समकालीन घट्नाहरू अटेका छन् । पठनीय सङ्ग्रह बनेको छ । समग्रमा उत्कृष्ट कथाहरू समावेश भएका छन् । तराजुमा जोख्ने हो भने एकाध बाहेक बराबर वजनका छन् । मलाई व्यक्तिगत रुपमा असाध्यै मन परेको लघुकथाहरूमा सरप्राइज, आशीर्वाद, पर्दाफास, परिणाम, देखाउने दाँत, चुनाव, ऐलानी, सुब्बाहरू, बुद्धिको बिर्को, नालायक, ईश्वरको खोजी, प्रार्थना, भोकदिवस आदि हुन् ।
कृति सफलताको हार्दिक शुभकामना ।
भोजपुर, हाल जापान