‘रोजगार सृजना गर्न किसानलाई उत्पादनसँग जोड्दै बजारीकरण गर्ने लक्ष्य लिएका छौं’
Sunday, June 5th, 2022, 10:26 am
Kalpristha
वैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न भई सकेको छ । बाँकेका सबै कार्यपालिकाले पूणर्ता पाई सकेका छन् । अब सबै स्थानीय तहहरु बजेट र नीति तथा कार्यक्रम बनाउनमा व्यस्थ छन् । बाँकेको धेरै भूभाग ओगटेको राप्ती सोनारीका नवनिर्वाचित जनप्रतिनिधि पनि आर्थिक वर्ष २०७९/०८० का कार्यक्रम बनाउन व्यस्थ छन् । यसै सन्दर्भमा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलसँग कालपृष्ठकर्मी विक्रम बुढाक्षेत्रीले गरेको कालपृष्ठ संवाद् ।
राप्ती सोनारी गाउँपालिकामा पुनः कांग्रेस जनप्रतिनिधिलाई गाउँवासीले किन जिताउनु भयो ?
राप्ती सोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राप्ती सोनारी गाउँवासीले जिताउनु भयो, भरोसा गर्नु भयो, विश्वास गर्नु भयो । यसको कारण के हो भने पछि, नेपाली कांग्रेस नेतृत्वले गर्छ । समग्र गाउँपालिकाको विकासका लागि नेपाली कांग्रेस पार्टीको नेतृत्व आवश्यक पर्छ भन्ने मतदाताले ठान्नु भएको हो । दोस्रोपटक छान्नुको कारण पहिलो कार्यकालमा गरेका राम्रा कामहरुको निरन्तरता र राप्ती सोनारीलाई समग्र विकासको गोरेटोमा डोर्याउन नै हो ।
नेपाली कांग्रेसले पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित्दै गर्दा वडा तहमा किन हार व्यहोर्नु पर्यो ?
पाहिलो त राप्ती सोनारी वासीले नेपाली कांग्रेसलाई विश्वास गर्नु भएको छ । म र उपाध्यक्षमा मनिषा थारुले जित्दै गर्दा हामीले वडामा हारेका छौं । वडा सदस्यमा पनि हार व्यहोरेका छौं । यसमा हाम्रो आफ्नै कमजोरी रहेको छ । हामीले पार्टीभित्रको व्यवस्थापन पनि गर्न सकेनौं । स्थानीय तहको निर्वाचनको परिस्थितिमा हामीले चुनाव लड्दै गर्दा हाम्रो पार्टी भित्रकै परिस्थितिलाई अनुकुल बनाउँदै जसरी हामी जानु पथ्र्यो त्यसरी जान सकेनौं । यसले हामीलाई एउटा सिख दिएको छ ।
विगतको पाँच वर्षे कार्यकालमा कांग्रेस नेतृत्वले राप्ती सोनारीलाई विकासको गतिमा डोर्याउन सफल भएको हो ?
यसलाई हो नै भन्नु पर्छ । केही विकास कुरामा त राप्ती सोनारीले फड्को मारेकै छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका वडा तहदेखि पालिका तहसम्मका प्रतिनिधिबाट स्थानीय शिक्षाको क्षेत्रमा विद्यालयहरुको विकासदेखि बाटोघाटोमा, बिजुलीबत्ति, कृषि, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा राम्रो काम भएको छ । दुर्भाग्य के भयो भनेपछि २०७४ को निर्वाचन पछि केही दिनमै ठूलो बाढी आयो जसले धेरै क्षतविक्षद बनायो । दुई वर्ष लगातार कोरोनाका करणा हाम्रो जनप्रतिनिधिलाई काम गर्ने वातावरण उपलब्ध भएन । सम्पूणर् पालिका कोरोना मै जुझ्न लागि पर्यो । जनताले चाहे अनुसारका सबै कामहरु भए त म भन्न सक्दिन तर जनप्रतिनिधिहरुले आफूले गर्न सक्ने कामहरु गर्नु भएको छ ।
आर्थिक वर्ष २०७९/२०८० को बजेटका लागि कसरी कामहरु गरिरहनु भएको छ ?
अब निर्वाचन एनअनुसार कार्यपालिकाले पूणर्ता पाई सकेको छ । हामीले समग्र पालिकावासीका पक्षमा बैठक बसेर निणर्य पनि गरिसकेका छौं । समग्र विषयगत समिति पनि बनाई सकेका छौं । अब २८ गतेसम्म वडास्तरीय बजेटका योजनाहरु पठाउन भनिसकेका छौं । योसँग हाम्रो अर्को तयारी नीति र कार्यक्रम रहेको छ । असार १, २ गते तिर नीति कार्यक्रम सम्मेलन गर्नेछौं । त्यसको तयारी हामीले गरिसकेका छांै । हामीले सरोकारवालासँग, राजनीतिक दलहरुसँग समन्वय गरेर नै हामीले बजेट तथा नीति कार्यक्रम ल्याउँदै छौं । यसमा सबैभन्दा ठुलो समस्या रहेको भूमिसम्बन्धी समस्याका लागि पालिकास्तरीय सहजिकरण समिति पनि बनि सकेको छ ।
तपाईहरुले नीति तथा कार्यक्रम बनाउँदै गर्दा राप्ती सोनारीमा देखिएको नदीजन्य वस्तुहरुको दोहनलाई कसरी प्रभावकारी बनाउनु हुन्छ ?
राप्ती सोनारीको सबैभन्दा ठूलो आम्दानीको स्रोत भनेको नदीजन्य पदार्थ हो । नदीजन्य पदार्थको यहाँ जुन बेथिति छ, जति पनि क्रसरहरु संचालन भएका छन् । ती कुनै पनि क्रसरहरुको मापदण्ड पुगेको छैन् । यहाँ तपाईको राष्ट्रिय गौरवका आयोजना भन्दै सम्झौता गर्ने, बालुवा प्रसोधनका नाममा क्रसरहरु चलाउने देखिएको छ । यो वेथितिका लागि कार्यपालिकाको बैठकले अनुगमन गर्ने निणर्य गरिसकेको छ । जसअनुसार हामीहरु बिहीबार र शुक्रबार अनुगमनमा थियो । यो दोहनलाई रोक्नका निमित्त र यसलाई वैज्ञानिक व्यवस्थापन गर्नका लागि व्यवसायी, प्रशासन, जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा यसलाई मापदण्डा पूरा गराई करको दायरामा ल्याउने प्रयास रहन्छ । साथै अन्य करका क्षेत्रहरुलाई पनि हामीले आफ्नो दायरामा ल्याउन छलफल भई सकेको छ । यसरी काम गर्न हामीले सक्यौं भने राप्ती सोनारीको आन्तरिक स्रोत बढ्छ ।
राप्ती सोनारीले पूर्वाधार विकासमा बढी बजेट दिने गरेको र कृषि तथा पशुपालनमा आवश्यकता भन्दा पनि कम बजेट विनियोजन गर्ने गरिएको गुनासो शाखा प्रमुखले नै गर्नु हुन्छ । यसमा तपाईको पहल कदमी कस्तो रहला ?
हो, यो एकदमै सही हो । राप्ती सोनारीले कृषि, पशुपालक किसानका लागि अपेक्षकृत बजेट दिन सकेको छैन् । हिजोका दिनमा किसानहरुका लागि प्रभावकारी योजनाहरु नआएको स्वभाविक नै हो । मैले पनि विषयगत शाखासँग बस्ने क्रममा उहाँहरुले पनि यो गुनासो गर्नु भएको छ । अब यो पटक हाम्रो पहिलो प्राथमिकता पूर्वाधार सँगसँगै कृषि, पशुपालन र शिक्षा पनि हुनेछ । लगभग सबै वडाहरु बाटोले जोडि सकेको छ । कहि कतै नजोडिएको छ भने यो हाम्रो प्राथमिकतामा हुन्छ ।
कसरी कृषि र पशुपालनबाट राप्ती सोनारीलाई आत्मनिर्भर बनाउन सकिएला ?
राप्ती सोनारीमा सिक्टा सिँचाइको हेडअफिस हुँदा पनि राप्ती सोनारीका किसानहरुले सिँचाइ पाइरहेको अवस्था छैन् । सिक्टा कै कारण किसानहरुलाई अझ बढी समस्या थपिएको छ । किसानहरुको जमिन सुख्खा भएका छन् । सिक्टा कै कारण खोला नालामा बाढीहरुआएको तर सिक्टा मौन छ । यो गौरवको आयोजना पनि कछुवाको गतिमा छ । यहाँका खेतहरुमा सिँचाइ गर्न सक्यौ भने, किसानहरुका समूह बनाउने, सहकारीसँग जोडेर बजारी करण गर्न लाग्नु पर्छ । यहाँ धेरै किसानहरु बाच्नका लागि मात्र किसानी गर्नु भएको छ । किसानलाई उत्पादनसँग जोड्न सक्यौ भने, दूध, मासु उत्पादनलाई पनि जोड दियौं भने राप्ती सोनारीले बाँकेलाई मात्र नभएर समग्र देशको केही प्रतिशतलाई धान्न सक्छ भन्ने मेरो विश्वास रहेको छ । तर यसका लागि सबैको सहयोग र कार्यक्रम चाहिन्छ । साथै हामीले खेतीलाई प्रविधिमैत्री बनाउनु पर्छ ।
तपाईले राप्ती सोनारीको विकासका लागि कस्तो भिजन लिनु भएको छ ?
म यहि भिजन त भन्न सक्दिन तर हामीसँग धेरै ठूलो मात्रामा युवाहरु बेरोजगार हुनु हुन्छ । अर्को जीवन उपयोगी शिक्षा प्रयाप्त छैन् । त्यसैले शिक्षालाई जीवन उपयोगी बनाउँदै कृषिलाई बजारीकरणसँग जोड्न मेरो भूमिका रहन्छ । यसमा हामीले कृषिलाई उत्पादनसँग जोड्ने र उत्पादन भएका वस्तुहरुलाई बजारीकरणसँग जोड्न सक्यौ भने युवाहरुलाई विदेशीनु पर्दैन । हामीले यहाँ उत्पदान बढायौ भने धेरै ठूलो पुँजी भित्रिन्छ । यसका लागि पालिकामा रहेका सहकारी तथा विभिन्न गैरसरकारी संघ-संस्थाहरुसँग समन्वय गरेर युवाहरुलाई रोजगारमा जोड्ने कार्यक्रम हामीले ल्याउँछौ । राप्ती सोनारीलाई समृद्ध र सुखी पालिका बनाउने हाम्रो प्रयास रहन्छ ।
अन्त्यमा, पर्यटनको क्षेत्रमा पनि राप्ती सोनारीलाई अघि बढाउने सम्भावना छ । यसमा तपाईको योजना के छ ?
पर्यटका क्षेत्रमा बाँके जिल्लामा सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र भनेकै राप्ती सोनारी हो । राप्ती सोनारी २ मा पनि प्रदेश सरकारले बजेट छुट्याएको पार्क छ । हामीले बोटिङको व्यवस्था वा मनोरञ्जनको व्यवस्था गर्न सक्यौ भने पर्यटनको सम्भावना छ । राप्ती सोनारीमा बाँके राष्ट्रिय निकुञ्ज भएता पनि होमेस्टे बाहेक त्यहाबाट आम्दानी हुन सकेको अवस्था छैन् । अर्को हामीसँग प्रसस्त मठमन्दिरहरु, संस्कृत धरोहर बोकेका सम्पदाहरु छन् । त्यसको पनि विकास गर्न सकेका छैनौं । हामीसँग ठूलो बस्तीका रुपमा आदिवासी थारु बस्ती छ । थारु संग्रालयलाई व्यवस्थापन गर्न सकेका छैनौं । यस्तो धेरै पर्यटकीय क्षेत्रहरु राप्ती सोनारीमा छन् । त्यसको विकास गर्ने हो भने आम्दानी स्रोत बढ्ने देखिन्छ । यसका लागि पनि केही योजना बनाएर काम गर्ने लक्ष्य लिएका छौं ।