शिक्षामा बालबालिकाको पहुँच विस्तार गरेको राप्ती सोनारी
Monday, June 6th, 2022, 10:11 am
Kalpristha
शिक्षामा राप्ती सोनारीले प्रमुख चुनौतीका रुपमा रहेको शिक्षक दरबन्दीलाई पनि आफैंले सुल्झाएको छ । राप्ती सोनारीले पालिकामा रहेको विद्यालयलयका लागि शिक्षक नपुग भएका कारण १ सय ३९ जना शिक्षकलाई आन्तरिक स्रोतमा नियुक्त गरेको छ ।
विक्रम बुढाक्षेत्री
राप्ती सोनारी गाउँपालिकाको नाम आउँदा अझै पनि धेरै व्यक्तिको मानसपटलमा दुर्गम स्थानको झल्को आउँछ । यहाँसम्मकी सामान्य आधारभूत आवश्यकताको पनि पहुँच नपुगेको बस्तीको आकृति सम्झन्छन्, मानिसहरु । कारण सुगम जिल्लाको दुर्गम स्थानको उपमा पाएको राप्ती सोनारी ।
भूगोलको हिसाबले ठूलो हिस्सा ओगटेको राप्ती सोनारी वास्तवमै नेपालगन्ज जस्तो विकसित सहरदेखि धेरै अपरिचित ठाउँ थियो । अन्य विकासका पूर्वाधारसँगै केही वर्ष अगाडिसम्म शिक्षाको न्यून पहुँच देखिन्थ्यो राप्ती सोनारीमा । यहासम्मकी कतिपय मानिसहरुको बस्ती विद्यालयको पहुँचदेखि धेरै टाढा थिए । देश नै अस्थिरतामा भएको बेला स्थानीय सरकारको आगमनले अन्य पालिका सरह राप्ती सोनारीले पनि गाउँवासीलाई शिक्षाको पहुँचमा जोड्न सुरु गर्यो । फलत ५ वर्षको दौरानमा राप्ती सोनारीले शिक्षामा उल्लेखनिय प्रगति गरेको छ । शिक्षामा बालबालिकाको पहुँच विस्तार गरेको छ । यहाँसम्मकी राप्ती सोनारीमा अहिले विद्यालयसँग नजोडिएका बालबालिकाहरु धेरै नै न्यून रहेका छन् ।
राप्ती सोनारीले यो आर्थिक वर्ष २०७८/७९ मा मात्रै १ हजार १ सय ९० विद्यार्थीलाई आफ्नै स्रोतबाट ८० लाख रुपैयाँको साइकल वितरण गरेको छ । गाउँपालिकाले छोरी साक्षरता कार्यक्रमअन्तर्गत समुदायिक विद्यालयमा कक्षा ११ र १२ एवं सोभन्दा माथिल्लो तहमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको थियो ।
.
तत्कालीन गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीलगायतले छात्रालाई साइकल वितरण गरेकाल थिए ।
यसका अलवा यो वर्ष गाउँपालिकाले छात्रवृत्तिमा २८ लाख ५५ हजाररुपैयाँ विनियोजन गरेको योजना शाखा प्रमुख बालानन्द पौडेलले जानकारी गराए ।
गाउँपालिका निवर्तमान अध्यक्ष लाहुराम थारु तथा अध्यक्ष तप्त पौडेल शिक्षालाई हरेक वर्ष पालिकाले प्राथमिकतामा राख्नु पर्ने बताउँछन् ।
राप्ती सोनारीमा सामुदायिक विद्यालयको संख्या ५७ रहेको छ । त्यस्तै धार्मिक विद्यालय २, संस्थागत विद्यालय १७, बालबिकास केन्द्र ७१, सामुदायिक सिकाई केन्द्र ५, प्राविधिक धार संचालन विद्यालय २ रहेको छ । जसमा १५ हजार भन्दा बढी विद्यार्थी एवम् बालबालिकाहरु अध्ययनरत रहेका छन् ।
त्यस्तै गरी पालिकामा २ वटा उच्च शिक्षाका लागि सामुदायिक क्याम्पसहरु लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पस वडा नम्बर २ मा र जनसिद्धेश्वर सामुदायिक बहुमुखी क्याम्पस वडा नम्बर ६ मा रहेको छ ।
शिक्षामा राप्ती सोनारीले प्रमुख चुनौतीका रुपमा रहेको शिक्षक दरबन्दीलाई पनि आफैंले सुल्झाएको छ । राप्ती सोनारीले पालिकामा रहेको विद्यालयलयका लागि शिक्षक नपुग भएका कारण १ सय ३९ जना शिक्षकलाई आन्तरिक स्रोतमा नियुक्त गरेको छ । नियुक्त गरिएको शिक्षकहरुमा बालविकास र प्राविमा अध्यापन गराउने शिक्षकलाई पालिकाले मासिक १५ हजार रुपैयाँ दिने गरेको छ । साथै निमावि शिक्षकलाई १७ हजार र मावि शिक्षकलाई २२ हजार मासिक पालिकाले दिई रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपानेले बताए।
गाउँपालिकाले यो वर्ष शिक्षामा २८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा बालबालिकाको दिवा खाजाका लागि १ करोड १५ लाख, विद्यालय भौतिक पूर्वाधार निर्माणमा १ करोड ८ लाख, प्रारम्भिक बालबालिका शिक्षक १ करोड ५० लाख ८० हजार रहेको छ । त्यस्तै आधारभूत तह शिक्षक तलव ११ करोड ६२ लाख, मावि तह शिक्षक तलब ३ करोड १२ लाख, प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति १५ लाख र नमूना विद्यालय विकासका लागि १२ लाख रुपैयाँ विनियोजन रहेको छ । नमूना विद्यालयका रुपमा रहको वडा नम्बर १ को बालशान्ती प्राविलाई २ लाख, वडा नम्बर ८ मा रहेको जनशक्ति निमावी जो हाल मावि भई सकेको छ । उसलाई ३ लाख र वडा नम्बर २ मा रहेको नेरा माविलाई ५ लाख उपलब्ध गराई सकिएको छ । बजेटमा उल्लेखित अधिकांश योजनाहरु सम्पन्न हुने क्रममा रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपानेले बताए ।
.
पालिकाले यो वर्ष नीति तथा कार्यक्रममा गुणस्तरीय र जीवनोपयोगी शिक्षामा लगानी भन्ने नाराका साथ सबै बालबालिकाको बढ्ने अधिकारको सुनिश्चित गर्न अनिवार्य आधारभूत शिक्षा सुनिश्चित कायम गर्दै माध्यामिक तहसम्म निःशुल्क कार्यक्रम संचालन गरेको छ । त्यस्तै विद्यालय शिक्षालाई निरीक्षण, सुपेरीवेक्षण, अनुगमन र मूल्यांकन गर्न स्थानीयस्तरबाट शिक्षा समिति, विषय विज्ञ, प्राध्यानाध्यापक र स्रोत शिक्षकको व्यवस्था गरी शैक्षिक गुणस्तर मापन, संस्थागत विद्यालयमा न्यूनतम मापदण्डअनुसार संचालन हुनु पर्ने, शुल्क निर्धारण, छात्रवृत्तिलगायत अन्य क्रियाकलाप संचालन गरे नगरेको एकीन गर्ने साथै सार्वजनिक र निजी विद्यालयको विचको असल अभ्यास आदानप्रदान कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरेको छ ।
त्यसैगरी कम्प्युटर र इन्टरनेट जस्ता सूचना तथा प्रविधिको माध्यमबाट शिक्षक, कर्मचारी र विद्यार्थीलाई त्यससँग सम्बन्धित आधारभूत ज्ञान, सिप प्राप्त गर्न अभिप्रेरित गर्दै शिक्षण सिकाई क्रियाकलापमा आईसिटिको प्रयोग र ई लाइब्रेरीको व्यवस्थापन गरी सूचना प्रविधिको माध्यमबाट सिकाई गर्ने वातावरणको लागि पनि राप्ती सोनारीले काम गरिरहेको छ ।
पालिकाले अनुगमनका लागि निजी स्रोतबाट एकजना कर्मचारीको पनि व्यवस्था गरेको छ । जनप्रतिनिधिसहित कर्मचारीहरुले पनि महिनामा एकपटक पालिकामा रहेका विद्यालयको अनुगमन गर्ने गरेका छन् ।
पालिकाले स्थानीय पाठ्यपुस्तक पनि लागू गरिसकेको छ । पालिकाले १ देखि ८ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम सुरु गरेको हो । जसमा यो वर्ष ७ कक्षासम्मको स्थानीय पाठ्यपुस्तक लागू भई सकेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताए ।
यससँगै पालिकाले शिक्षकहरुलाई पनि नियमित तालिम दिई रहको छ ।
पालिकाले शिक्षा तथा खेलकुदलाई प्राथमिकतामा राखेर हरेक वर्ष राष्ट्रपति मेयर रनिङ शिल्ड प्रतियोगिता पनि संचालन गर्दै आएको छ । पालिकामा रहेका विद्यालयलाई समावेश गरेर यो वर्ष राप्ती सोनारी वडा नम्बर २ मा रहेका लक्ष्मी माविमा प्रतियोगिता संचालन गरेको थियो । जसका लागि पालिकाले संघीय बजेटबाट १ लाख र पालिकाको बजेटबाट ४ लाख ५० हजार लक्ष्मी माविलाई उपलब्ध गराएको छ ।
अघिल्ला वर्षहरुमा पनि पालिकाले वडा नम्बर १ मा रहेको सिद्धेश्वर मावि, वडा नम्बर ५ रहेको भुवरभुवानी मावि र वडा नम्बर ८ मा रहेको जनशक्ति माविमा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको थियो ।
राप्ती सोनारीले हरेक वर्ष शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधारको पनि निर्माण गर्दै आई रहेको छ । पालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/७८ सम्म विभिन्न वडाका विद्यालयमा ५० बढी कोठाहरु निर्माण गरी सकेको छ ।
हालसम्म वडा नम्बर १ मा ३, वडा नम्बर २ मा ८, वडा नम्बर ३ मा १४ कोठे ४ भवनसहित १ जिम भवन, वडा नम्बर ४ मा ३ भवनसहित ३ शौचालय, वडा नम्बर ५ मा ५, वडा नम्बर ६ मा १०, वडा नम्बर ८ मा ६ र वडा नम्बर ९ मा ३ वटा भवन पालिकाले निर्माण गरी सकेको छ ।
यसर्थ शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपानेलाई कालपृष्ठकर्मीले राप्ती सोनारीले शिक्षामा फड्को मारेको हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीले शिक्षामा फड्को मारेका भन्दा नि शिक्षामा हामीले सक्दो परिवर्तन गर्ने कोसिस गरेका हौं । यसमा पालिकाले पनि धेरै काम गर्दै आएको छ । संघ र प्रदेशले पनि बजेट दिएको हुन्छ । कतिपय शिक्षाका कार्यक्रम २/४ वर्ष पुराना नै छन् । त्यसलाई निरन्तरता र बढवा दिँदै आएका छौं भने केही नयाँ योजना थपिँदै जाने हो । शिक्षामा फड्को मार्न पालिकाको बजेटले मात्रै नपुग्ने अवस्था देखिन्छ ।’
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपाने
न्यौपानेलाई शिक्षामा केही चुनौति देख्नु भएको छ भन्ने थप प्रश्नमा उनी भन्छन्, ‘चुनौति त छन् । हामीसँग अझै प्रयाप्त शिक्षकको दरबन्दी छैन । परम्परागत शिक्षण अझै कायमै छ । विकट बस्तीहरु पनि पालिकामा छन् । हामीले शिक्षामा सूचना संचारको प्रयोग अझै कम गरिरहेका छौं । कितपय विद्यार्थीहरुमा नियमितता छैन । शैक्षिक सुशासन कायम गर्न हामीलाई समस्या भई रहेको छ । यस्तै यस्तै समस्या हुन् । जुन विस्तारै कम हुँदै जान्छ ।’
पालिका अध्यक्ष पौडेल यो वर्ष पनि शिक्षामा भएका कमिकमजोरीलाई व्यवस्थापन गर्न नीति तथा कार्यक्रम बनाउने बताउँछन् । उनी भन्छन्, ‘शिक्षालाई व्यवस्थापन गर्न अझै बाँकी छ । कतिपय स्थानमा अव्यवस्थित देखिएको छ । यसका लागि हामीले नीति तथा कार्यक्रम बनाएर काम गर्ने योजना बनाएका छौं ।’