‘कृषकले सुरक्षाको उपाय अपनाउँदैनन्’
Thursday, June 9th, 2022, 8:39 pm
Kalpristha
बाँकेका किसानलाई अझै पनि सामान्य सुरक्षाका उपाय थाहा नभएको पाइएको छ । कृषिमा किसानहरुले विषादी प्रयोग गर्दा आफूलाई सुरक्षित राख्न गर्नु पर्ने उपायका बारेमा अनविज्ञता भएको पाइएको हो ।
विश्व चिकित्सक (एमडिएम)ले बाँकेको नेपालगन्ज उप–महानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका १ सय ३६ किसानहरुमा गरेको सर्वेक्षणबाट ८० प्रतिशतभन्दा धेरै किसानहरुमा विषादीको असर देखिने गरेको तथ्यांक आएको छ ।
बिहीबार नेपालगन्जमा आयोजित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अभिमुखीकरण कार्यक्रममा एमडिएमका पब्लिक हेल्थ अभिसर गणेश कार्कीले किसानहरु लामो समयदेखि कृषिकार्यमा जोडिएता पनि उनीहरुलाई विषादी प्रयोगका बारेमा थाहा नभएको बताएका हुन् । कार्कीले कार्यक्रममा किसाानले १८ कट्ठा औषतमा देखि गर्ने र ३० वर्षदेखि कृषिखेती गर्दै आएको तथ्यांक आएको बताए ।
त्यस्तै कार्यक्रममा उनले किसानहरुलाई कुन विषादी प्रयोग गर्नु पर्ने वा गर्न नपाइने भन्ने बारेमा पनि अनिविज्ञता भएको बताए । उनले नेपाल सरकारले प्रयोग गर्न निषेध गरेको विषादी पनि किसानले प्रयोग गरेको बताए ।
तथ्यांकबाट किसानहरुले न्यूनतम सुरक्षाका मापदण्ड पनि प्रयोग नगरेको पाइएको कार्कीले बताए ।
नेपालगन्ज, डुडुवा र खजुरामा पेशागत तथा वातावरणीय स्वास्थ्य परियोजना
यसैबीच कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना लागू गरिएको जनाइएको छ । २०२० सेप्टेम्बरबाट उक्त परियोजना संचालनमा रहेको छ । नेपालगन्ज, खजुरा र डुडुवाको समन्वय र जिआईजेट, विश्वका चिकित्सक (एमडिएम) को सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (वी ग्रुप)ले उक्त परियोजना संचालन गरेको हो ।
कार्यक्रममा एमडिएमका कार्यक्रम प्रवन्धक बसन्त थापाले कृषक तथा सरसफाइकर्मीमा सामाजिक असमानता, उनीहरुमा आधारभूत स्वास्थ्यको पहुँचामा कमी र पेशागत स्वास्थ्य सुरक्षाका लागि पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना लागू गरिएको बताए ।
थापाले उक्त परियोजनाको उद्देश्यमा प्रकास पार्दै फोहर व्यवस्थापन तथा विषादि प्रयोग गर्दा हुने हामी रोक्न, सरसफाइकर्मी तथा किसानहरुको व्यक्तिगत तथा सामुहिक क्षमता विकास गर्दै वातावरणीय जोखिम न्यूनिकरण तथा स्वस्थ्य र समृद्धिमा योगदान गर्न परियोजना संचालन गरेको बताए । साथै कार्यक्रमले पेशागत स्वास्थ्य तथा गुणस्तरीय सेवामा पहुँच बढाउन, स्थानीय सरकार र सरोकारवालाबीच समन्वय गर्ने, फोहोर व्यवस्थापन र जैविक खेतीमा दिगो विकल्प र समुदायको स्वास्थ्य र वातावरणीय सुधारमा परियोजनाले सहयोग गर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले साना–साना कुराबाट नै हाम्रो स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा असर परेको बताए । उनले उक्त परियोजनाले किसानलाई आफ्नो आफूले उत्पादन गरेको वस्तुहरुको स्वास्थ्य सुधारमा गर्न ठूलो सहयोग पुग्ने बताए । विष्ट उक्त कार्यक्रमलाई कार्यक्रममा मात्र सिमित नराखी परिणाममूखी बनाउन जोड दिए । साथै उक्त परियोजनालाई साथ दिने विष्टले प्रतिबद्धता समेत जनाए ।
त्यस्तै विशिष्ठ अथितिका रुपमा रहेका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’ले उक्त परियोजनाले किसान र सरसफाइकर्मीलाई मात्र नभइ उनीहरुसँग जोडिएका सबै व्यक्तिहरुको स्वास्थ्यमा परिवर्तन गर्न भूमिका खेल्ने बताए ।
कार्यक्रममा वी ग्रुपका अध्यक्ष टेकबहादुर पुनले परियोजना सफल बनाउन स्थानीय सरकारको पनि भूमिका रहने बताए । उक्त परियोजनाको अवधि २ वर्षको रहेको पुनले बताए ।