प्रेम पुनको तीन लघुकथा
Saturday, June 11th, 2022, 9:51 am
Kalpristha
प्रेम पुन मगर
दाइजो
हरिश्चन्द्र बाजे आठ भाइ छोराका धनी थिए । छोरी थिएनन् । पाठपूजा लगाउन जहाँ जहाँ पुग्थे, उनी भन्ने गर्थे । ‘समयले कोल्टे फेरीसक्यो। दाइजोप्रथा हटाउनुपर्छ। घुसप्रथा र दाइजोप्रथा समाजको विकृतिको जरोहरु हुन् ।’
हामीहरू उनका कुराको प्रसंसा गथ्र्यौँ ।
बर्सेनि जन्मिएका जेठो, माहिलो साइँलो, काइँलो सबैको बिहेको समय भएको थियो ।
अचानक हरिश्चन्द्र बाजेले पहाडको जायजेथा बेचेर मधेस झर्ने कुरा गर्नुभयो ।
सँगसँगै खेलेका साथीहरू जाने कुराले मन अमिलो बनाउँदै सोधेँ ।
‘बाजे किन अचनाक मधेस झर्नुपर्यो ?’
‘यत्रा छोराहरू छन् उता गएसि तन्न सम्पत्ति आउँछ यता केही पाइन्न ।’ उनले भने ।
कसम
‘आज निकै थकान लागेको छ। खाना बँगाली होटेलबाट लिएर खानुपर्छ ।’
दुवैजना कम्पनीको लामो डिउटी सकेर आएको भोलारामको आग्रहमा साथी गणेशमानले भन्यो ।
‘अहँ ! हँुदैन । म मरिगए होटेलको खान्न ।’
‘होटेलको किन नखाने ?’ भोलारामको जिज्ञासामा गणेशमानले भन्यो ।
‘काम गर्न यतै आउने क्रममा सहरमा रहेको एक बोर्डमा आँखा पर्यो । जहाँ लेखेको थियो । सस्तो खाना, मात्र १०० रुपैयाँमा अघाउन्जेल मासु भात खानुहोस् ।’
भिसा तैयारी नहोउन्जेल पेट भरि सयरुपैयाँमा मासुभात खाएँ…………।
‘अनि के भो त ? ठीकै त भएछ ।’ उसको कुरा बिचैमा काट्दै भोलारामले भन्यो ।
‘यहाँ आएपछि टेलिविजनमा समाचार हेर्दै थिएँ । रोगले मरेका कुखुरा ग्राहकलाई खुवाएको आरोपमा छापा परेको होटेलको बोर्ड त्यही थियो । त्योदिन देखि कसम खाएँ, होटलमा कहिल्यै खाने छैन ।’
उसले कारण बतायो ।
सर्वज्ञानी
‘कृष्णचरित्र, श्रीसोस्थानी, वेद, ऋगवेद, बिष्णुपुराण, सबै ज्ञान मसँग छ ।’
‘महाभारत, गीता, हनुमानचालीसा, रामायण, चण्डी, सम्पूणर् अध्यन मैले गरेको छु ।’
‘आहा ! हो र ?’
‘त्यतिमात्र कहाँ हो र ? इन्द्रजाल पनि पढेको छु ।’
‘आहा ! हजुर त सर्वज्ञानी विद्वान हुनुहुदो रहेछ ।’
‘हो नि दशरथको छोरा राम, रामको छोरा लव, लवको छोरा कुश् थिए ।’ उनले भने ।
पोखरा