सिकलसेल रोगिको पहिचान बढ्दै
Monday, June 13th, 2022, 8:18 pm
Kalpristha
बाँकेमा थारु बस्ती बढी भएको राप्ती सोनारीमा सिकलसेल तथा थालसेमिया रोगको पहिचान बढ्ने क्रममा रहेको छ । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै एक सय ५० जनाको स्याम्पल जाँच गर्दा २१ जनालाई सिकलसेल रोग देखिएको हो ।
स्वास्थ्य कार्यालय, बाँकेले दश दिनदेखि त्यस क्षेत्रमा सिकलसेल तथा थालसेमिया रोगको स्याम्पल जाँच गरिरहेको छ । कार्यालयले यो अवधिमा १ सय ५० जनाको स्याम्पल जाँच गरिसकेको छ । भने ३ सय जनाको स्याम्पल संकलन भई सकेको छ । जसको नतिजा आउँन बाकी रहेको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।
हाल सिकलसेल देखिएका मध्ये एकजना बिरामी रहेको श्रेष्ठले बताए । ५० जनामा उक्त रोग देखिएपछि भेरी अस्पतालदेखि डाक्टरसहितको टोली उपचारका लागि जाने उनले बताए ।
श्रेष्ठका अनुसार थारु जनसंख्याको १३ प्रतिशतमा सिकलसेल रोग देखिएको छ ।
हाल राप्ती सोनारीका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको जाँच गरिएको श्रेष्ठले बताए । उनले भने, ‘हामीले स्कुले बालबालिकाको मात्र स्याम्पल लिएर जाँच गरिरहेका छौं । अरु नतिजा आउन अझै बाँकी छ । रोगको पहिचान बढ्ने संकेत देखिएको छ ।’
संकलन भएर आएको नमूना भेरी अस्पतालमा चेकजाँच भई रहेको छ ।
स्वास्थ्य अधिकृत श्रेष्ठले दुई हजार मानिसको स्याम्पल जाँच गर्ने रणनीति अनुसार कार्यक्रम अघि बढेको बताए । गाउँघरमै पुगेर गरिएको परीक्षणमा भेटिएका रोगीलाई त्यही डाक्टर लगेर उपचार गर्ने तयारी रहेको छ । असार महिनाभरी स्याम्पल जाँच हुनेछ ।
बाँकेको कोहलपुरमा नगरपालिका आफैले सिकलसेल जाँच गरेको छ । कोहलपुर नगरपालिकाले नौ हजार मानिसको स्याम्पल जाँच गर्दा सात सयमा रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्तीसोनारीसँगै बैजनाथमा थारुको बसोबास बढी रहेको छ ।
पश्चिम तराईको बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरमा सिकलसेलको समस्या अधिक रहेको छ । यो क्षेत्रमा थारु समुदायको बसोबास बाक्लो छ । अरु समुदायमा पनि फाटफुट देखिएको सिकलसेल थारु समुदायमा अधिक रहेको रिपोर्टले देखाएको छ । थारु समुदायमा अधिक देखिएकाले सिकलसेललाई जनस्वास्थ्य समस्या मान्दै सरकारले उपचारको व्यवस्था मिलाएको छ ।
सिकलसेल लामो समयसम्म पत्ता नै लागेको थिएन । नेपालगन्जका डाक्टर राजन पाण्डेलगायतले यो रोग पत्ता लगाएको बताउने गरिन्छ । रोग पत्ता लागेपछि र थारुमा अधिक देखिएपछि सरकारले जनस्वास्थ्य समस्या मान्दै जाँच र उपचारको व्यवस्था मिलाएपनि बेलाबेलामा सुविधा रोकिने गरेको छ । रोग लागेका व्यक्तिको एकैपटक मृत्यु भइनहाले पनि विस्तारै यसले गलाउने गरेको छ । विगतमा औलोसम्म लडेर बसेका थारुलाई सिकलसेल देखिएको डा. राजन पाण्डेको भनाइ छ । ‘औलोले मर्ने मरिहाले । बचेकालाई सिकलसेल देखियो, डा. पाण्डेको भनाइ छ, यो बंशाणुगत रोग हो,’ पाण्डेले भने ।
सिकलसेल भएका व्यक्तिले अर्को समुदायसँग विवाह गरेमा जन्मिने बच्चामा रोग देखा नपर्ने सम्बद्धहरु बताउँछन् ।