आन्तरिक श्रोत वृद्धि गर्दै राप्ती सोनारी
Tuesday, June 14th, 2022, 1:09 pm
Kalpristha
राप्ती सोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अवैध घाटगद्दी तथा अवैघ उत्खनन् भएको पाइएपछि पालिकाका नवनिर्वाचित जनप्रतिनिधि कडाईका साथ क्रसर उद्योगहरुको अनुगमन गरे । बैशाख ३० गते निर्वाचित भएर आएका पालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकिय अधिकृत शिंहराज डाँगीसहित वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीलगायतको संयुक्त टोलीले जेठ १२ र १३ गते क्रसर उद्योगहरुको अनुगमन गरेका थिए ।
पालिकाले राप्ती सोनारीमा धेरै क्रसर उद्योग रहेको छ र ती उद्योगहरुले अवैध उत्खनन र घाटगद्दी गरेको पाएपछि कडाइ गरेको हो ।
पालिकाको ठूलो आन्तरिक श्रोतका रुपमा रहेको नदीजन्य पदार्थ उत्खननलाई कडाइ गर्दै राजश्वको दायरामा ल्याउन पालिकाले अनुगमन गरेको थियो । अनुगमनपश्चात पालिका अध्यक्ष पौडेलले राजश्व तिरेको रकम थोरै, तर सामाग्री धेरै राखेको देखिएको कालपृष्ठलाई बताएका थिए । सो वखत पालिकाले राप्ती सोनारीको वडा नम्बर २, ४, ५, ६, ८ र ९ का विभिन्न घाटगद्दी तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो ।
सो वखतमा पाकिलाले करिब ७० वटा घाटगद्दी नापजाँच गरेको थियो । अनुगमनबाट एउटै घाटगद्दीबाट पालिकाले दुई करोडसम्म राजश्व आउने अनुमान प्रक्षेपन गरेको अधिकृत डाँगीले बताए ।
१ हजार ४१ दशमलव ७३ वर्ग किलोमिटरमा फैलिएको राप्ती सोनारीमा दर्जन बढी साना तथा ठूला क्रसर उद्योगहरु रहेका छन् । प्राकृतिक स्रोतले भरिएको राप्ती सोनारीमा धेरै खोला नाला भएका कारण क्रसरहरुको संख्या पनि धेरै रहेको हो । तर धेरै जसो क्रसर मापदण्ड विपरित संचालन भएका कारण राप्ती सोनारीको आम्दानी अनुमानअनुसार हुन सकेको थिएन ।
गाउँपालिकाले विगत दुई वर्षदेखि राप्ती सोनारीका नदी खोलामा ठेक्का लगाउन पनि सकेको छैन् । दुई वर्षदेखि अवैधरुपमा चलेका क्रसर उद्योगको नियमन र अवैध उत्खनन् तथा घाटगद्दी रोक्न गाउँपालिकाले प्रयास गर्दा राप्ती सोनारीवासीले यतिबेला जनप्रतिनिधीको खुलेरै प्रशंसा गरिरहेका छन् ।
अब राप्ती सोनारीले नदीजन्य पदार्थबाट आन्तरिक अम्दानी बढाउन सक्ने देखिन्छ ।
अध्यक्ष पौडेललाई राप्ती सोनारीमा देखिएको नदीजन्य वस्तुहरुको दोहनलाई कसरी प्रभावकारी बनाउनु हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘राप्ती सोनारीको सबैभन्दा ठूलो आम्दानीको स्रोत भनेको नदीजन्य पदार्थ हो । नदीजन्य पदार्थको यहाँ जुन बेथिति छ, जति पनि क्रसरहरु संचालन भएका छन् । ती कुनै पनि क्रसरहरुको मापदण्ड पुगेको छैन । यहाँ तपाईको राष्ट्रिय गौरवका आयोजना भन्दै सम्झौता गर्ने, बालुवा प्रसोधनका नाममा क्रसरहरु चलाउने देखिएको छ । यो वेथितिका लागि कार्यपालिकाको बैठकले अनुगमन गर्ने निणर्य गरिसकेको हो । यो दोहनलाई रोक्नका निमित्त र यसलाई वैज्ञानिक व्यवस्थापन गर्नका लागि व्यवसायी, प्रशासन, जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा यसलाई मापदण्ड पूरा गराई करको दायरामा ल्याउने प्रयास रहन्छ । साथै अन्य करका क्षेत्रहरुलाई पनि हामीले आफ्नो दायरामा ल्याउन छलफल भई सकेको छ । यसरी काम गर्न हामीले सक्यौं भने राप्ती सोनारीको आन्तरिक स्रोत बढ्छ ।’
उसोत बाँकेका अन्य स्थानीय तहको भन्दा राप्ती सोनारीको आन्तरिक आम्दानी धेरै रहेको छ । जसमा सबैभन्दा धेरै राप्ती सोनारीले नदीजन्य पदार्थबाट आम्दानी गर्ने गरेको छ ।
राप्ती सोनारीको आर्थिक वर्ष २०७८/७९ को कूल बजेट ८७ करोड ४७ लाख ३२ हजार ३ सय ५१ मा अन्तरिक श्रोत ३६ करोड ४५ लाख ८५ हजार ३ सय ५१ रहेको छ ।
पालिकाले नदीजन्य पदार्थ बाहेक गाउँवासीमा जागृत गर्ने उद्देश्यले ‘कर तिरौं : गाउँ विकासमा योगदान गरौं’ भन्ने नारा लिएर यस वर्ष कार्यक्रम संचालन गरेको छ ।
.
…….
राप्ती सोनारीको पालिकाभित्र रहेका नदीबाट नदीजन्य पदार्थमात्र नभएर पर्यटक आगमनलाई बढवा दिएर पनि अन्तरिक स्रोत बढाउन सक्ने प्रवल सम्भावना रहेको छ । जसअनुसार राप्ती सोनारीमा रहको राप्ती नदीको सिक्टामा र्याफ्टिङको तयारी भई रहेको छ । कुसुमको गावरदेखि अगैयासम्मको करिब ८ किलोमटिर नदीमा र्याफ्टिङको सम्भावनालाई मध्यनजर गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।
अध्यक्ष पौडेल भन्छन्, ‘पर्यटनका क्षेत्रमा बाँके जिल्लामा सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र भनेकै राप्ती सोनारी हो । राप्ती सोनारी २ मा पनि प्रदेश सरकारले बजेट छुट्याएको पार्क छ । हामीले बोटिङको व्यवस्था वा मनोरञ्जनको व्यवस्था गर्न सक्यौ भने पर्यटनको सम्भावना छ ।’
यसका साथै पर्यटकको अर्को सम्भावना बोकेको बाँके राष्ट्रिय निकुञ्जको धेरै भू-भाग राप्ती सोनारीमा पर्दछ । पालिकाको वडा नम्बर १, २, ८ र ९ लाई निकुञ्जले छोएको छ ।
२०६७ असार २८ गते स्थापना भएको देशकै कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्र्टिय निकुञ्ज पर्यटकलाई खुला त गरिएको छ तर पर्यटकीय गन्तव्यको रुपमा निकुञ्जलाई विकास गर्न सकिएको अवस्था भने छैन् ।
बाँके राष्ट्रिय निकुञ्जमा जैविक विविधताको दृष्टिले आठवटा इकोसिष्टम, १ सय २४ बनस्पति प्रजाति, ८३ प्रजातिका रुख, पाँच प्रजातिका लहरा तथा ३६ प्रजातिका झाडी, ३४ प्रजातिका स्तनधारी, ३ सय बढी प्रकारका चरा, ५५ प्रजातिका माछा, ७ प्रजातिका सरिसृप तथा २४ प्रजातिका उभयचर, ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्टियस्तरमै दुर्लभ चराहरु पाइन्छ ।
वन्यजन्तुको अवलोकन, मनोरञ्जन र स्वच्छ वातावरणमा रमाउन खोज्ने पर्यटकका लागि बाँके निकुञ्ज राम्रो गन्तव्य हो । निकुञ्जमा गोठेरी, ठुरिया, जलसेनी, बुच्चापुर, खैरीफाँटा, कठालीखोला, चौकाफाँटा, चुनभट्टी गरी सानाठूला दर्जन बढी घाँसे मैदान छन् ।
राप्ती सोनारीमा बाँके राष्ट्रिय निकुञ्ज भएता पनि होमेस्टे बाहेक त्यहाबाट आम्दानी हुन सकेको अवस्था छैन्।
यस वर्ष पालिकाले ‘राप्ती सोनारीको धन : वन र पर्यटन’ नारालाई नीति तथा कार्यक्रममा समावेश गरेर आत्मसाथ गरेको छ । पालिकाले नारालाई मृर्तरुप दिन पर्यटन गुरुयोजना बनाई मुख्य पर्यटकीय क्षेत्रको विकास, प्रवद्र्धन र प्रचार-प्रसार गर्ने साथै धार्मिक स्थाल र अन्य ऐतिहासिक धरोहरलाई संरक्षण गरी सोन्दर्यता कायम गर्ने काम गरेको छ ।
त्यस्तै राप्ती सोनारीमा धार्मिक दृष्टिकोणले पनि अघि रहेको छ राप्ती सोनारी प्रशिट भूवरभुवानी मन्दिरलगायत अन्य धार्मिक स्थल, थारु बस्ती रहेका छन् । जसले प्रशस्त पर्यटकीय सम्भावना बोकेको छ ।
पालिका अध्यक्ष पौडेल पालिकामा रहेका धार्मिक धरोहरलाई विकास गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘पालिकामा प्रसस्त मठमन्दिरहरु, संस्कृत धरोहर बोकेका सम्पदाहरु पनि छन् । त्यसको पनि विकास गर्न सकेका छैनौं । हामीसँग ठूलो बस्तीका रुपमा आदिवासी थारु बस्ती छ । थारु संग्रालयलाई व्यवस्थापन गर्न सकेका छैनौं । यस्तो धेरै पर्यटकीय क्षेत्रहरु राप्ती सोनारीमा छन् । त्यसको विकास गर्ने हो भने आम्दानी स्रोत बढ्ने देखिन्छ । यसका लागि पनि केही योजना बनाएर काम गर्ने लक्ष्य लिएका छौं ।’
…….
त्यस्तै पालिकाले गाउँवासीलाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाई पालिकाको आन्तरिक स्रोतलाई बलियो बनाउन तर्फ पनि केन्द्रित रहेको छ । पालिकाले यो वर्ष कृषक तथा पशुपालकको समूह बनाउन पहल नै गरेको थियो ।
राप्ती सोनारी गाउँपालिकालाई कृषि तथा पशुपालनबाट आत्मनिर्भर बनाउन सकिने पालिका अध्यक्ष तप्त पौडेल बताउँछन् । उनी भन्छन्, ‘राप्ती सोनारीले कृषि तथा पशुपालनको माध्यमबाट देशलाई केही प्रतिशत सहयोग गर्न सक्छ । हामीले कृषि र पशुपालनको माध्यमबाट धेरै ठूलो पुँजी भित्र्याउन सक्छौं भन्ने मलाई विश्वास छ ।’
पालिकाको वडा नम्बर १, कुसुमलाई तरकारी खेतीका रुपमा परिचित छ भने वडा नम्बर २ टिकुलिपुर धान उत्पादन, वडा नम्बर ७ मकै खेती, वडा नम्बर ५ को ललै बगरे खेतीका रुपमा परिचित छ ।
आर्थिक वर्ष २०७८/७९ मा पालिकाले कृषि शाखाका लागि ७८ लाख ७५ हजार रुपैयाँ र पशु शाखाका लागि ६७ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाले पशुपालनलाई एक अब्बल पेशाको रुपमा स्थापित गर्न बाख्रापालन बंगुरपालन, माछापालन र कुखुरापालन जस्ता पकेट क्षेत्र निर्धारण गरी तदनुरुपको अनुदान तथा राहत कार्यक्रम संचालन गर्न उक्त बजेट विनियोजन गरेको हो ।
त्यस्तै पालिकाले हरेक वडामा प्राविधिक टोली राखेको छ । पशुपालकले केही समस्या आएमा उनीहरुसँग समन्वय गर्ने गरेको कार्कीले बताए । कार्की राप्ती सोनारीमा बाख्रा पालनको अधिक सम्भावना रहेको बताउँछन् । उनीले यसअघि २०५६ सालमा राप्ती सोनारीको ढकेरीमा रहेको बाख्रा स्रोत केन्द्रमा काम गर्दाको अनुभव सुनाउँदै राप्ती सोनारी क्षेत्रमा बाख्रा, गाई, भैसी र अहिले बंगुर पालनको धेरै सम्भावना रहेको कालपृष्ठसँगको कुराकानीमा बताए ।
उसोत ठूलो पालिका भएका कारण पालिकामा कृषि तथा पशुपालन गर्ने किसानको संख्या ५ हजारभन्दा धेरै रहेको छ । जसका कारण कृषि तथा पशु शाखा प्रमुख चन्द्रा शाही र जयबहादुर कार्की पालिकाले किसानको आवश्यकताका आधारमा बजेट विनियोजन गर्न नसकेको गुनासो गर्छन् ।
यस विषयमा पालिका अध्यक्ष तप्त पौडेल समर्थन गर्छन् । उनी भन्छन्, ‘विगतका वर्षहरुमा पालिकाले कृषि तथा पशुपालन शाखालाई कम बजेट दिएको थियो । पालिका पूर्वाधार निर्माणमा बढी केन्द्रित भएको थियो । अब यो वर्षदेखि हामी कृषि र पशुमा पनि केन्द्रित रहने योजना बनाएका छौं ।’