दुर्गमबाट सुगम पालिका बनेको राप्ती सोनारी
Wednesday, June 15th, 2022, 11:12 am
Kalpristha
विक्रम बुढाक्षेत्री
२०७७ चैत १८ गतेलाई राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडावासीले जीवन परिवर्तन भएको दिनका रुपमा लिन्छन् । सायद उक्त दिन वडावासीको जीवनमा आएको सबैभन्दा ठूलो परिवर्तन थियो ।
कारण वडामा पहिलोपटक विद्युत्देखि बत्ति बलेको थियो । वडाभरी विद्युत् विस्तार भएको थियो । प्रचण्ड गर्मीमा विद्युत्देखि पंखा चलेका थिए ।वडाका पाँच हजार नौ सय १९ जनताका एक हजार दुई सय दुई घरधुरी विद्युत्को पहुँचमा पुगेको थियो । बैंशा, नवलपुर, भगवतीपुर, बेलासपुर, गगराबास, भवनीयापुर, वनघुस्री, नारायणपुर, विसुवा, खैरहनी, सिनावास, जंगपुर, शाहीपुर र बेलडाँडालगायतका गाउँले पहिलोपटक विद्युत् प्रयोग गर्न पाएका थिए ।
विद्युत्सुरु भएपछि स्थानीयले पञ्चेबाजा र थारु नाचगान गर्दै वडाको परिक्रमा गरेका थिए । विद्युत् सेवा विस्तार गर्ने गाउँपालिकाका जनप्रतिनिधि र विद्युत् प्राधिकरणका कर्मचारीले माला र अबिर लगाएर सम्मान गरेका थिए ।
गाउँपालिकाले वडा नम्बर ३ मा आफ्नै लगानीमा विद्युत् सेवा विस्तार गरेपछि बाँके पूणर् विद्युतीकरणको जिल्ला बनेको थियो । गाउँपालिकाले आफ्नै ३ करोड ५४ लाख ४५ हजार रुपैयाँको बजेटमा गाउँमा विद्युत् सेवा विस्तार गरेको हो ।
पालिकाले ५ वर्षमा पालिकावासीलाई पूणर्रुपमा विद्युत्को पहुँचमा पुर्याएको छ । सुगम जिल्लाको दुर्गम पालिकाको रुपमा पाएको राप्ती सोनारी अब सुगम बन्दै गएको । पालिकाले सम्पन्न गरेका ठूला योजना मध्येमा विद्युतीकरण पनि पर्दछ ।
राप्ती सोनारीले हालसम्म पालिका भित्र ६६.५ किलोमिटर विद्युत् विस्तार गरिसकेको छ । पालिकाले विद्युत्को पहुँच नभएका वडा नम्बर १, ३, ४, ५, ६ लगायतका वडाहरुमा विद्युत् विस्तार गरेको छ ।
पालिकाले वडा नम्बर १ मा २ किलोमिटर, वडा नम्बर ३ मा १५ किलोमिटर, वडा नम्बर ४ र ५ मा २०-२० किलोमिटर विद्युत् विस्तार भई सकेको छ । त्यस्तै वडा नम्बर ६ मा ४ किलोमिटर, वडा नम्बर ८ मा २.५ किलोमिट र वडा नम्बर ९ मा ३ किलोमिटर विद्युत् विस्तार भइ सकेको पालिका योजना शाखा प्रमुख बालानन्द पौडेलले जनाकारी दिए ।
पालिका अध्यक्ष तप्त पौडेल अब पालिका कुनै पनि वडाका वासिन्दा विद्युत्को पहुँचभन्दा बाहिर नभएको बताउँछन् ।
…….
२०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय चुनावका लागि भोट माग्न जनताको घर-घर पुगेको क्षण अविश्मरणीय रहेको निवर्तमान पालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री बताउँछन् । पालिकामा कतै पनि मोटर गाडी गुड्न नसक्ने बाटोमा गाडीलाई धकेल्दै जनताको घरदैलोमा भोट माग्न गएको उनीहरु सम्झन्छन् ।
थारु मुस्कुराउँदै भन्छन्, ‘त्यो समय म कहिलै भुल्दिन । वैशाख महिनाको घाममा आफैं चडेको गाडी धकाल्दै भोट माग्दा सबै भन्दा पहिला राप्ती सोनारीका बाटोहरुलाई बनाउन पर्छ भन्ने अठोट आएको थियो । कतिपय बाटोमा त साइकल पनि गुडाउन नसकिने अवस्था थियो ।’ तर अहिले पालिकाले लगभग सबै बाटोलाई मर्मत गरिसकेको छ । थारु अब पालिकाका सबै ठाउँमा मोटर चडेर पुग्न सकिने बताउँछन् ।
राप्ती सोनारीले पहिलो वर्षदेखि नै पूर्वाधार निर्माणअन्तर्गत बाटोलाई पहिलो प्राथमिकता दिएर काम गरेको थियो । यहासम्मकी कोही व्यक्ति पाँच वर्ष पछि राप्ती सोनारी पहिलो पटक पुग्यो भने सायद उसलाई के यो राप्ती सोनारी नै हो भन्ने जिज्ञासा उत्पन्न नहोला भन्न सकिन्न ।
राप्ती सोनारीले पाँच वर्षमा सम्पन्न गरेको ठूला योजनामा बाटो निर्माण पहिलो स्थानमा आउँछ । पालिकाले हालसम्म ३२.७४५ किलोमिटर बाटो पिच गरिसकेको छ भने १ सय ६९.७ किलोमिटर बाटोलाई ग्राभेल तथा मर्मत गरी सकेको छ । साथै २.८७ किलोमिटर बाटो पीसीसी र ४ सय ३० मिटर बाटो आरसीसी भई सकेका छन् ।
राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर १ मा आर्थिक वर्ष २०७७/०७८ सम्म १८ किलोमिटर बाटोलाई स्तरोन्नति गर्न ग्राभेल तथा माटो पटान कार्य सम्पन्न भई सकेको छ । त्यस्तै १.५ किलोमिटर नयाँ ट्रयाक खोल्ने र ६० मिटर पीसीसी बाटो निर्माण गरिएको छ ।
त्यसैगरी १.३ किलोमिटर नाली निर्माण, ३० स्थानमा कल्भर्ट निर्माण १ स्थानामा पुल निर्माण र ३ स्थानमा झोलुंगे पुल निर्माण कार्य सम्पन्न भई सकेको पालिकाका योजना शाखा प्रमुख बालानन्द पौडेलले जनाकारी दिए ।
पालिकाको वडा नम्बर २ मा ४ वर्षभित्र १६ किलोमिटर पक्की सडक निर्माण भई सकेको छ । त्यस्तै २५ किलोमिटर माटो पटान तथा ग्राभेल, १ किलोमिटर नयाँ ट्रयाक निर्माण काम सम्पन्न भई सकेको छ ।
त्यस्तै १ किलोमिटर नाली निर्माण, १२ स्थानमा कलभर्ट निर्माण, १ पुल निर्माण काम सम्पन्न भई सकेको छ ।
साथै ३ किलोमिटर पक्की सडक, १५ किलोमिटर ग्राभेल, १.५ किलोमिटर नयाँ सडक खन्ने काम सम्पन्न भई सकेको छ भने १ सय २९ मिटर नाली निर्माण र ९ स्थानमा कल्भर्ट निर्माण काम सम्पन्न भई सकेको छ ।
वडा नम्बर ४ मा २.४ किलोमिटर पक्की सडक निर्माण, २० किलोमिटर ग्राभेल, ७ किलोमिटर नयाँ ट्रयाक, १.३ किलोमिटर पिपिसि र ३ सय ५० मिटर आरसिसि सडक निर्माण गरिसकेको छ । साथै १ किलोमिटर नाली निर्माण, ४ स्थानमा कल्भर्ट निर्माण काम सम्पन्न गरिसकेको छ ।
पालिकाले वडा नम्बर ५ मा पनि २० किलोमिटर विद्युतिकरण भई सकेको छ । त्यस्तै वडामा ४ किलोमिटर पक्की सडक निर्माण, ४.५ किलोमिटर ग्राभेल, ८ किलोमिटर नया सडक खन्ने काम सम्पन्न भई सकेको छ ।
त्यस्तै ३.५ किलोमिटर नाली निर्माण, ८ स्थानमा कल्भर्ट निर्माण, ३ वटा पुल निर्माणको पनि काम सम्पन्न भई सकेको पालिकाले जनाएको छ ।
पालिकाले वडानम्बर ६ मा ७ सय मिटर बाटो ग्राभेल, १ किलोमिटर नयाँ ट्रयाक खोल्ने, ७ सय मिटर पीसीसी, १४ मिटर नाली निर्माण, ५ स्थानमा कल्भर्ट निर्माण, १ पुल निर्माण र ३.५ किलोमिटर झोलुंगो पुल निर्माण पनि सम्पन्न भई सकेको छ ।
वडा नम्बर ७ मा २ किलोमिटर पक्की सडक निर्माण गर्नुका साथै २५ किलोमिटर सडक ग्राभेल, २ किलोमिटर नयाँ ट्रयाक र १ किलोमिटर पीसीसी बाटो निर्माण गरिसकेको छ ।
त्यस्तै ४.५ किलोमिटर नाली निर्माण, २ स्थानमा कल्भर्ट निर्माण र ३ स्थानमा पुल निर्माण गरिसकेको छ ।
वडा नम्बर ८ मा २.५ किलोमिटर पक्की सडक निर्माण, १५ किलोमिटर बाटो ग्राभेल, ५ किलोमिटर नयाँ ट्रयाक खोल्ने, १.५ किलोमिटर नाली निर्माण, ४ वटा कल्भर्ट निर्माण र १ झोलुंगे पुल निर्माण गरिसकेको छ ।
वडा नम्बर ९ मा ३ किलोमिटर बाटो पक्की निर्माण, १६ किलोमिटर ग्राभेल, ५ किलोमिटर नयाँ ट्रयाक, ३.५ किलोमिटर नाली निर्माण, ३ वटा कल्भर्ट निर्माण र १ पुल निर्माण भएको छ ।
…….
राप्ती सोनारी क्षेत्र प्राकृतिक स्रोतसाधनले भरिपूणर् पालिका हो । यहाँ राप्ती नदीबाहेक दर्जन बढी खोलानाला रहेका छन् । जसका कारण वर्षेनि पालिकामा बाढीको उच्च प्रभाव रहन्छ । वर्षातको समयमा यहाँका जनतालाई सुरक्षित स्थानमा राख्न पालिकालाई ठूलै चुनौतिको सामान गर्नु पर्ने अवस्था थियो ।
पालिकाले गाउँवासीका लागि वाढी प्रभावित क्षेत्रमा सेल्टर भवनको निर्माण गरेको छ । जसमा बाढी प्रभावित जनतालाई गाँस, बास, कपासको व्यवस्था रहेको छ । पालिकाले आफ्नै स्रोतले पालिका भरी ४ वटा सेन्टर भवन निर्माण गरेको छ । जसमा ५ हजार जनालाई सुरक्षित राख्न सकिन्छ ।
पालिका अध्यक्ष पौडेल भन्छन्, ‘बाँकेमा बाढीबाट बढी प्रभावित क्षेत्र नै राप्ती सोनारी हो । बाढीलाई हामीले रोक्न त सक्दैनौ तर त्यसबाट हुने क्षेतिलाई कम गर्न हाम्रो प्रयास जारी छ । जनताको ज्युधनको क्षति रोक्नु नै हाम्रो लागि उपलब्धी हो ।’
पालिकाले वडा नम्बर २ मा १ वटा, वडा नम्बर ३ मा २ वटा र वडा नम्बर ४ मा १ वटा सेल्टर भवनको निर्माण गरेको छ । जसमा शौचालय, खानेपानी, सुरक्षित बासस्थान, खाना, दैनिक आवश्यक पर्ने वस्तुहरुको व्यवस्था पालिका आफैंले गरेको छ ।
यो पनि पालिकाले गरेको महत्वपूणर् उपलब्धी हो ।
.
…….
शिक्षामा बालबालिको पहुँच पुर्याउन राप्ती सोनारीले धेरै ठूलो चुनौतीको सामना गर्नु परेको थियो । पालिकामा रहेको विद्यालयमा पर्याप्त भवन नहुँदा कतिपय बालबालिका चउरमा बसेर पढ्ने गरेको अध्यक्ष पौडेलले बताए । त्यसका लागि पालिकाले विभिन्न विद्यालयमा ५७ वटा कोठाहरु निर्माण गरिसकेको छ । यससँगै पर्खाल निर्माण, खानेपानीको व्यवस्था पनि पालिका आफैंले गरेको छ ।
पालिकाले हालसम्म वडा नम्बर १ का ३ विद्यालयका भवन निर्माण, वडा नम्बर २ मा ८ वटा विद्यालयका भवन निर्माण, वडा नम्बर ३ मा रहेका विद्यालयमा १९ कोठे ४ वटा भवन निर्माण, वडा नम्बर ४ मा विद्यालयमा ३ वटा शौचालय निर्माण,वडा नम्बर ५ मा५ वटा विद्यालयमा भवन निर्माण, वडानम्बर ६ मा १० विद्यालयमा भवन निर्माण, वडा नम्बर ८ मा ६ वटा विद्यालयमा भवन निर्माण र वडा नम्बर ९ मा ३ विद्यालयमा भवन निर्माण गरी सकेको छ ।
यसका अलवा पालिकाले गरेको अर्को ठूलो योजना भनेको सबै पालिकामा स्वास्थ्यको पहुँच पुर्याउनु हो । पालिकाका वडा नम्बर १ देखि ८ सम्म प्रत्येक वडामा स्वास्थ्यचौकी र वडा नम्बर ९ मा नागरिक आरोग्य केन्द्रको पनि स्थापना भई सकेको छ ।