ढाकामोहन बरालका तीन लघुकथा
Saturday, June 25th, 2022, 11:38 am
Kalpristha
पूर्वजन्म
हजुरबुबाले नातिलाई काठमाडौंको ईतिहास बताउँदै भन्नु भयो ।
‘धेरै वर्ष अगाडिको कुरा हो । काठमाडांै उपत्यका विशाल खेतीयोग्य भूमि थियो । किसानहरुले लगाएको बालीहरु जंगली जनावरहरु जस्तै बाँदर, भालु, हरिण, दुम्सीहरुले नस्ट गर्ने गर्थे । त्यसबाट जोगाउन किसानहरुले कुकुर पाल्न थाले । कुकुरको डुलुवा जात भागेर नै सताउने । किसानहरुले वुद्धि लगाए र कुकुरहरूको पुछार थोरै काटेर आगनमा गाड्न थाले । आफ्नो पुछारको गन्ध सुँघ्दै कुकुर टाढा भाग्न छाडेर घर वरिपरी नै बस्न थाले ।’
‘अनि ती कुकुरहरू के भए त हजुरबुबा ?’ हजुरबुबाको कुरा नसकिँदै नातिले प्रश्न गर्यो ।
आफूले भन्न खोजेको कुरा पूरा गर्न नपाउँंदै नातिको प्रश्नले उनको भनाइको शृखला भंग भयो ।
‘मरे होलान, अर्को जुनी पाए होलान ।’ हजुरबुबाले भन्नु भयो ।
‘अर्को जुनीमा मान्छे पनि भए होलान है हजुरबुबा ?’ नातिले सोध्यो ।
‘हुन सक्छ्न् ।’ हजुरबुवाको जवाफ थियो ।
‘कतै अहिले सिंहदरबार भएको ठाउँमा किसानहरुको घर त थिएन ? किसानको कुकुरहरूले अर्को जुनीमा नेता भएर पो जन्मिएका रहेछ्न् र काटिएको पुच्छर सिँहदरवार भित्रै गाडिएको रहेछ कि ।’ नातिले मनमनै कुरा खेलाउन थाल्यो ।
भुलेको बाटो
हरिप्रसादले पाखाबाट बिहान काटेर ल्याएको एक भारी घाँस र टौवाको पराल मेशिनबाट मसिनो बनाएर काटेर चोकरमा मोल्यो र गाईहरुलाई खान दियो । दिउँसोको गोवर त श्रीमतीले फाली सकेकी रहिछ्न् र गोठ ओभानो रहेछ । त्यसैले पेट भरिएपछि गाईहरु बसेर उग्राउन थाले ।
उ पनि पिढीमा बसेर आराम गर्दै रेडियोको समाचार सुन्न थाल्यो । उसको आँखा पालिमा सिउरेको पुरानो बाँसुरीमा पर्यो । उसले पृथ्वीनारायण क्याम्पसमा पढ्दा कति राम्रो बाँसुरी बजाउने गद्थ्र्यो ।
‘… अंधेरीमा पनि वीर बाटो भुल्दैन । खडेरीमा पनि फूल फुल्न भुल्दैन ….’ पुरानो गीत कानमा गुञ्जन थाल्यो ।
उता रेडियोमा भने प्रकाशलाई स्रोत नखुलेको अकुत सम्पत्ति जोडेकोमा पक्राउ गरेको समाचार आइरहेको थियो । उतिबेलाको गहिरा आँखा, दुब्लो शरीर, तार्किक क्षमता भएको प्रकाशको याद आयो ।
निम्न आर्थिक हैसियत भएलो परिवारबाट आएको थियो उ । नयाँ विद्यार्थीलाई सधैं सहयोग गर्न अगाडि सर्दथ्यो । कोठामा उ के खान्थो थाहा भएन तर उसको आत्म सम्मानमा ठेस नपुग्ने गरी साथीहरूले मिलाएर एक न एक जनाले खाजा ख्वाएका नै हुन्थे । उसैले त हो हरिप्रसादलाई पहिलोपटक प्रगतिशील चौरमा लगेको । सेतीको तीरमा बसेर अरु साथीको गीतारको स्वरमा हरीप्रसाद यही बाँसुरीको धुन मिसाउथ्यो ।
पृथ्वीनारायण क्याम्पस उनीहरुलाई ‘वणर् मन्दिर’ जस्तै थियो तर बाहिर भने, काल रात्री थियो । कष्टपूणर् खडेरी थियो । सबैलाई प्रकाशको नै चिन्ता हुन्थ्यो । तर उ निडर र शाहसी थियो । जस्तो अवस्थामा पनि संगठनको काममा निस्वार्थपूर्वक लाग्दथ्यो ।
समाचार सुन्दा सुन्न्दै लामो श्वास फेर्यो र मनमनै बोल्यो ‘आखिर प्रकाशहरुले बाटो अँधेरीमा मात्र भुल्दो रहेनछन्, उज्यालोमा कुबाटो लाग्ने रहेछन् । खडेरीमा फूलेका फूलहरु पनि वर्षामा झाडीमात्र हुँदा रहेछन् ।’
प्रतिनिधित्व
स्थानीय चुनाव सकिएर मत परिणाम घोषणा भएको साँझ उर्लापुर गाउँको पुछारमा समिक्षा छलफल भई रहेको थियो । परिणाम उनीहरुले सोचे जस्तै आएन । संविधानमा नै व्यवस्था भएबमोजिम यस वडाबाट एकजना दलित महिला सदस्य त निर्वाचित भएकी थिइन् । तर बस्तीमा उनको विजय कसैलाई पनि चित्त बुझेको थिएन ।
उनीहरु त पोखरा विश्वविद्यालयबाट छात्रवृत्ति पाउन सफल भएर ब्याचलर अफ डेभलपमेन्ट स्ट्डिज उत्तीणर् गरेकी राधिकालाई विजय बनाउन चाहेका थिए । राधिका जातीय उत्पीडनविरुद्ध खरो उत्रने महिला थिइन् । दुई वर्ष अगाडिको कोटको मन्दिर प्रवेश विवाद होस वा नहर सफा गर्न झारा जाँदा खाजा खाने क्रममा भएको अन्याय होस् । जहिले पनि त्यसको प्रतिकारमा राधिका अग्र मोर्चामा उभिएकी थिइन् । उनले प्रौढ शिक्षा प्रदान गरेर आमाहरुलाई ज्ञानको दियो बाल्न सिकाउँदै थिइन् । बस्तिमा सरसफाइ गर्न सिकाउँथिन् । परम्परागत पेशालाई व्यवसायिक कसरी बनाउने भनेर चिन्तित हुन्थिन् । विकासका नयाँ आयमबाट सिङ्गो बस्तीमा नै कसरी परिवर्तन हुन्छ भनेर बिचार गर्दथिइन् । तर निर्वाचनमा त उमा विजय भइन् ।
कुनै दलित आन्दोलनमा सहभागी थिइनन् उमा । जहिले पनि जिल्ला सदरमुकाममा मात्र बस्ने उनलाई गाउँमा ल्यएर उठाइयो र जितिन पनि । उर्लापुरको सिरान तर्फका बर्जू र बाबुसाहेबहरुले उठाएका थिए उमालाई ।
आँफू अनुकुलको पात्र खोजे होलान उनीहरुले पनि । के गर्नु उर्लापुरमा दलित भन्दा गैर दलितको संख्या बढी छ । माकुरी आमै भोलीको लागि चाहिने कोइला छुट्याएर ठिक्क पारिन र आइते बालाई दिँदै भनिन् ‘हाम्रा मुन्छे ठामामा पठाउन हाम्लेमात्र भोट हाल्नु पर्ने रैच ।’
समयले त सुन्यो तर नीति निर्माताले सुने वा सुनेन् थाहा भएन ।
पोखरा, कास्की