कथा : सम्मान
Saturday, June 25th, 2022, 11:45 am
Kalpristha
बोझिलो, निरसिलो, बिरक्तिएको समयमा पीडाको पहाड बोकेर जीवनगति हाँकी रहेकी कन्चन यात्राका क्रममा अक्षरहरूलाई साथी बनाएर मनका भावनाहरू शब्दको माध्यमबाट पोख्ने गर्थिन् । सुनिदिने कोही थिएनन् तर पनि दुखद् क्षेण होस् वा सुखद् क्षेण उनका आफ्ना प्रिय तिनै अक्षर थिए, तिनैसँग खेल्थिन रमाउने गर्थिन् । आँसु झर्दा फेरि त्यही कलम समाउने गर्थिन् । यसरी दिनहरू बितेका थिए, उनका ।
अक्षरसँग खेल्न रुचाउने भएको कारणले उनलाई विभिन्न साहित्तिक कार्यक्रमहरुमा बोलाउने गर्दथे । यसै सिलसिलामा रामेछापको एक कवि गोष्ठी कार्यक्रममा निमन्त्रणा आयो, उनलाई । जसमा साहित्तिक कार्यक्रमको अलावा सांगेतिक कार्यक्रम र अन्य विशेष कार्यक्रम रहेको जानकारी गराइएको थियो ।
रामेछाप कन्चनको पहिलो यात्रा थियो । त्यो पनि तीनन दिनको कार्यक्रम उनी एकदम उत्साहित थिइन् ।
रामेछाप जाने दिन बिहानैदेखि तयारीमा थिइन, उनी । सरसामानहरु झोलामा राखेर कोटेश्वरको लागि कलंकीबाट बसमा चढिन् ।
बस छुट्यो । नयाँ ठाउँको यात्रा । सबै अपरिचित यात्रु । काठमाडौँ, भक्तपुर कटेर काभ्रेका धुलिखेल, भकुन्डेबेसी, सिन्धुलीका नेपालथोक, दुम्जा, रातमाटा, खाल्टे हुँदै खुर्कोट पुगेर खाजा खानको लागि बस रोक्यो । कन्चनले पनि खाजा खाइन् । फेरी बस अघि बढ्यों । तामाकोसी, सुनकोसी नदीको किनारैकिनार हुँदै बस गुडिरहेको थियो । उनी नदीको गहिराइभन्दा गहिरिएर भावनामा डुब्दै गइन् । संगीतको मिठो धुनसँगै कल्पनामा बहकिएर गजलका सेरहरु गुनगुनाउँन थालिन् ।
तिमी र ममात्र हुन पाए प्रेमकहानीमा
कति खुसी हुन्थ्यौँ होला जिन्दगानीमा
आँखाभरि तिम्रै तस्बिर धड्कनमा छ तिम्रैनाउँ
यादमा तिमी नआइदिने कहाँ होला त्यस्तो ठाउँ ?
बस उकालो लाग्छ । घुमाउरो बाटो, डाँडाकाँडा, हरियाली, सलल बगेकी गङ्गाजी । प्राकृतिक सुन्दरताले भरिपूणर् छ वातावरण । मनमा चञ्चलता जागेको छ । कसैको साथको कमी, कताकता एक्लोपनको पनि महसुस गर्दै सम्झिन पुगिन काल्पनिक सहयात्रीलाई अनि फुर्यो अर्को गजल ।
प्रकृतिलाइै जिउने एउटा आधार बनाएर
यतै बसाइँ साराँै लाग्यो घरबार बनाएर
केही तिम्रा, केही मेरा सपना ती पूरा गरी
बाँचौँ सँगै प्रेमिल आफ्नै संसार बनाएर
मनभरी यस्तै प्रेमिल गजल फुराउँदै प्रकृतिको सौन्दर्यपान गरेर आनन्दित बनिरहेकी कन्चन आफ्नै काल्पनिक दुनियाँमा हराउँदाहराउँदै भंगेरी पो आइपुगेछ । भंगेरी वीर सहिद गङ्गालाल र नेकपाका संस्थापक कमरेड पुष्पलालको जन्मथलो थियो । अझै त्यो वर्ष गङ्गालाल जन्मेको १०० वर्ष पुगेकोमा उहाँको जन्म शताब्दी दिवस पनि मनाउने क्रममा आयोजना गरिएको कार्यक्रममा पनि आमन्त्रण गरिएकोले उनी बसबाट ओर्लिन अनि देश र जनताका लागि लड्दै सहिद बनेका वीर सपूतहरूको जन्मथलोमा पुगिन ।
कार्यक्रममा सम्पूणर्ले आ-आफ्नो अनुभूति मन्तव्य राख्नुभयो । सहिद गङ्गालालका विषयमा लेखिएको क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठनामक पुस्तक विमोचन गरियो । कार्यक्रम निकै रमाइलो भयो ।
कसैले गीत, कसैले कविता, कसैले गजल, गीत र कसैले मुक्तक पनि वाचन गर्नुभयो । उनले पनि वीर सहिदको स्मरण गर्दै मुक्तक वाचनगरिन ।
ज्यानको बाजी थाप्दै लडेर पो सहिद भयौं
हाँस्दै-हाँस्दै शुलीमा चढेर पो सहिद भयांै
आलै छ अझैसम्म जमिनमा खुनको टाटा
बहादुरीको छवि छोडी मरेर पो सहिद भयौं
कार्यक्रम सकिएलगत्तै चिया-बिस्कुट खाएर अर्को कार्यक्रमको लागि सिर्जना नगरतर्फ लागिन ।
कविता प्रतियोगिता राखिएको रहेछ । सिर्जनानगर साँच्चै साहित्यको खानी नै रहेछ । प्रत्येक घरमा कम्तीमा एक-एकजना कवि रहेछन् । कन्चनलाई निणर्ायकमण्डलको जिम्बेवारी दिइयो । । कविता सबैका निकै उत्कृष्ट थिए । कसलाई पहिलो, दोस्रो, तेस्रो गर्ने, उनलाई मूल्याङ्कन गर्न कठिन थियो र पनि उचित मूल्याङ्कन गरिन । कविहरूमाथि पक्कै न्याय गरियो भन्ने ठानीन । सोही गाउँबाट असल बुहारी छान्ने र सम्मान गर्ने अर्को कार्यक्रम पनि रहेछ । त्यो कार्यले बुहारीहरूलाई हौसला मिल्ने, सासूससुराको अझै राम्रो सम्मान हुने, परिवारलाई मिलाएर, जोडेर, बाँधेर राख्ने काम घरको प्रमुख भूमिका बुहारीको हुने कन्चनले महसुस गरिन ।
पुस्तक विमोचनलगायत सम्मान कार्यक्रम, रचना वाचन र प्रतियोगीलाई पुरस्कारलगायत विभिन्न कार्यक्रमहरू सम्पन्न गरिए । कन्चनले मन्थली बजार घुम्दै आकासेमा रहेको तीन लाल सालिकमा सहिदहरूलाई सलाम गरिन । खुर्कोटका महान् सहिद आजादले खनेको पोखरी अवलोकन गरीन । कन्चनको दिमाखमा विद्रोही र क्रान्तिकारीहरूको केन्द्र निर्माण गर्ने क्रममा सिन्धुलीको भिमानमा मध्यरातमा गिरफ्तार गरी जङ्गलमा पुर्याएर पञ्चायती शासकहरूले क्रूरतापूर्वक हत्या गरेको घटना ताजा भएर आयो । काठमाडौं फर्कने क्रममा तीनदिने यात्राको कार्यक्रम आफंैले समीक्षा गर्दा रूढिवादी समाजले अग्रजहरूलाई बाँचुन्जले श्रद्धा नगर्ने, अपमान गर्ने राम्रोसँग स्याहार नगर्ने दुख कटाउने तर मृत्युपछि नानाभाँती तामझाम गरेर किरिया गरी अनावश्यकरुपमा दान दक्षिणामा खर्च गर्ने र सराद्दे गर्ने कुचलनलाई तोड्दै बुबा आमाको मृत्युपछि सम्मान र श्रद्धाको संस्कार बसाल्न स्मृति दिवसलाई एकीकृत पर्वका रूपमा विकास गरिरहेको रहेछ ।
सो अवसरमा आफन्त घरपरिवारका सदस्य जम्मा हुने विभिन्न कार्यक्रम जसले समाज परिवर्तन गर्नमा मुख्य भूमिका खेलेको होस् । यस्ता गतिविधिहरु गर्ने चलनले कन्चनको मन जितेको थियो । बाटोभरी सोंची रहिन म पनि बुबा आमाको नाममा इतिहासमा जीवन्त रहने कार्य गर्नेछु तर मेरो इतिहास कस्ले जीवन्त राखिदेला ? मनभित्र यिनै प्रश्न चिन्ह लागिरहेँ ।
खजुरा, बाँके