लागूऔषध मुद्दामा १ सय ८५ पक्राउ
Saturday, June 25th, 2022, 7:49 pm
Kalpristha
बाँकेमा लागूऔषध मुद्दामा १ सय ८५ जना पक्राउ परेको तथ्यांकले देखाएकोछ । चालु आर्थिक वर्षको असार पहिलो सातासम्म लागूऔषधसहित १ सय ८५ जना पक्राउ परेका हुन् ।
लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शनिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । लागूऔषध प्रयोगकर्ता, कारोबारी, पुनःस्थापना केन्द्रका बारेमा जानकारी दिदैँ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले यस्तो जानकारी दिएका हुन् ।
गत आर्थिक वर्षमा बाँकेमा कूल १ सय ९६ जना पक्राउ परेका थिए । जसमा १ सय ८५ पुरुष र ११ महिला रहेकोमा १ सय २६ जनालाई मुद्दा चलाइएको थियो ।
चालू आर्थिक वर्षको असार पहिलो सातासम्म १ सय ८५ जना पक्राउ परेकाछन् । जसमा १ सय ७५ पुरुष र १० जना महिला रहेका छन् । भने १ सय १२ जनालाई मुद्दा चलाइएकोछ ।
पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ । गतवर्ष भन्दा चालू आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ ।
गत आर्थिक वर्षमा ब्राउन सुगर ५ सय ७० ग्राम, चरेस २० दशमलव ३ केजी, अफिम ३४ दशमलव ५ सय ७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव ४ लिटर, नाइट्रोजन एक हजार ३ सय १० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षको असार पहिलो सतासम्म ब्राउनसुगर ८ सय ९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १ सय ५८ केजी, गाँजा २४ दशमलव २८ केजी, कोरेक्स ८ दशमलव ४ लिटर, नाइट्रोजन ४ हजार २५ ट्याब्लेट र ट्रामाडोल २ हजार ४ सय ३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन ।
बाँकेमा २० वटा पुनःस्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । निःशुल्क परामर्श केन्द्रमा ९ जनाले सेवा लिइरहेका छन् ।
यसैबीच, लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागूऔषधीविरुद्ध काम गरिरहेका संघ संस्थाले जनचेतनामूलक विविध गतिविधि गरेका हुन् ।
दिवसको अवसरमा असार ८ देखि कार्यक्रमहरू गरिएको छ । लागूऔषधविरुद्धका जिंगलमार्फत प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरूमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ । १२ गते विहान ७ बजे प्रभातफेरिसँगै समापन हुनेछ ।