खोपीलाई मुस्कान दिएको नेपालगन्जको हातेमालो अभियान
Tuesday, June 28th, 2022, 9:12 pm
Kalpristha
प्यूठानका ३५ वर्षीय खोपीराम रानामगर आफ्नो जीवन ह्वीलचियरमा बिताइरहेका छन् । उनको कम्मरदेखि तलको भाग पूर्णरुपमा शुन्न छ । दिसापिसाब गरेको समेत थाहा पाउँदैनन खोपी ।
उनी जन्मजात यस्तो भएका होइनन् । विगत ११ वर्षदेखि ह्वीलचियरमा रहेको खोपी विगतमा गाडी चालक हुन् । २०६८ कात्तिकमा रुखले च्यापिएर घाइते भएपछि उनको यो अवस्था भएको हो । तर अचम्म उनी आफ्नो र पारिवारिक जिविकोपार्जनका लागि तरकारी खेती र कुखुरा पालनमा सक्रिय छन् । यहासम्मकी आफूले उत्पादन गरेको तरकारी र कुखुरा आफूले प्रयोग गर्ने ह्वीलचियरमा राखेर बिक्री गर्न हिँड्छन् ।
खोपी भन्छन्, ‘कहिले काही त १०÷१२ किलोमिटरसम्म पनि ह्वीलचियरमा सामान बिक्री गर्न हिँडेको छु ।’
खोपीको परिवारमा बुबाआमा, श्रीमति, दुई छोरी र एक छोरा छन् । अन्य कुनै स्थायी आम्दानीको श्रोत नभएका खोपी तरकारी खेती र कुखुरा पालनबाट घर खर्च टर्ने गरेको बताउँछन् ।
…….
शारीरिकरुपमा अशक्त खोपीको अनुहारमा मंगलबार मुस्कुराहटले भरिएको थियो । उनीमात्र नभई उनीसँग नेपालगन्ज आएका उनकी ३४ वर्षीय श्रीमति अर्मिता रानामगर, उनका ६० वर्षीय बुबा टेकबहादुर रानामगर पनि मुस्कुराइ रहेका थिए । कारण खोपीले आफ्नो जिविकोपार्जनका लागि चार पांग्रे स्कुटर र नयाँ ह्वीलचियर पाएका थिए ।
‘खुसी लागेको,’ खोपीले मुस्कुराउँदै भने, ‘अब अलि केही सजिलो हुन्छ ।’
खोपीकी श्रीमति अर्मिता पनि मुस्कुराउँदै भन्छिन्, ‘अब तरकारी बेच्न सजिलो हुन्छ । अलि टाढा–टाढासम्म पनि जान सकिन्छ ।’
उक्त स्कुटर र नयाँ ह्वीलचियर उनलाई कुनै सरकारी संस्थाले दिएको होइन । नेपालगन्जबाट उनका लागि हातेमालो अभियान थालनी गरेका महिलाहरुले दिएका हुन् । उनीहरुले खोपीलाई प्यूठानदेखि नेपालगन्ज ल्याउने–लैजाने, स्कुटरका लागि सम्पूर्ण कागजी प्रक्रिया मिलाउने र उनको घरसम्म स्कुटर र ह्वीलचियर पु¥याउने काम गरेका छन् ।
…….
शारीरिकरुपमा असक्त खोपीको जिविकोपार्जनमा सहयोग गर्न जेठ २८ गतेदेखि नेपालगन्जबाट हातेमालो सहयोग अभियान थालिएको थियो । उक्त अभियानमा सक्रिय भएर नेपालगन्ज उप–महानगरपालिकाकी निवर्तमान उप–प्रमुख उमा थापामगर, महिला उद्यमी विन्दु चर्तीमगर, महिला उद्यमी धनमाया लुइटेल (रिचा)लगायत पत्रकारको समूह लागेको थियो ।
सुरुमा प्यूठान पुगेकी महिला उद्यमी चर्तीमगरले खोपीलाई देखेपछि उनको अवस्थाबारे बुझेको बताउँछिन् । उनले भनिन्, ‘प्यूठानमा खोपी मगरलाई ह्वीलचियरमा राखेर तरकारी बिक्री गरेको देखेँ । अनि उनको वास्वविकता बुझेँ । उनले आफैं आफूलाई स्कुटर आवश्यक परेको कुरा बताएपछि यो अभियान सुरु भएको हो ।’
निवर्तमान उप–प्रमुख थापामगर खोपीको जीविकोपार्जनमा केही सहयोग होस् भनेर आर्थिक संकलन अभियान थालनी गरेको बताउँछिन् । उनले भनिन्, ‘हाम्रो उद्देश्य खोपी मगरलाई सहयोग गर्ने भन्दा पनि उनलाई प्रेरित गर्ने हो । उनलाई हिड्डुल गर्न र आफूले उत्पादन गरेका सामानहरु सहज तरिकाले बिक्री गर्न उनका लागि स्कुटर खरिद गर्न रकम संलकन अभियान थालेका हौं ।’
…..
उक्त अभियानको लक्ष्य २ लाख रुपैयाँ उठाउने रहेको थियो । जसको प्रचार नेपालगन्जबाट फेसबुकको माध्यामबाट गरियो । उक्त सहयोग अभियानमा ५८ जना बाट २ लाख ९ हजार ५ सय ६५ रुपैयाँ संकलन भएको छ । जसमा नेपालका विभिन्न जिल्लासहित कतार, साउदी, अमेरिका, तान्जेनियालगायतका विभिन्न देशमा रहेको नेपालीहरुले सहयोग गरेका छन् ।
महिला उद्यमी रिचा यो अभियानमा सामान्य आयस्रोत भएका व्यक्तिहरु पनि जोडिएको बताउँछिन् । उनले भनिन्, ‘यो अभियानमा रहनु भएका सबैले पैसा पठाउनु भएको,’ रिचाले भनिन्, ‘१० हजारसम्म पनि सहयोग गर्नु भएको छ । कति सामान्य आयस्रोत भएका व्यक्ति पनि मेरो पसलमै आएर आर्थिक सहयोग गर्नु भएको छ ।’
खोपीका लागि उक्त चार पांग्रे स्कुटर भारतबाट नेपाल ल्याइएको हो । जसका लागि जिल्ला प्रशासन कार्यालय प्यूठानले नेपालगन्ज भन्सारलाई भन्सार छुट गर्नका लागि पत्राचार गरेको थियो भने नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयले पनि छिटो छरिँदो खोपीका लागि कागजी काम गर्दिएको छ ।
…….
यो हाम्रो समाजको एउटामात्र घटना हो जसले आज पनि मानवता हाम्रो समाजमा जिउँदै भएको उदाहरण दिन्छ । यस्ता सहयोग अभियानका घटना अन्य क्षेत्र र समयमा पनि देख्न र सुन्न सकिन्छ ।