कृति समीक्षा : अतीत आमन्त्रणभित्र पसेपछि
Saturday, July 2nd, 2022, 10:27 am
Kalpristha
सरल र मिठासयुक्त भाषाशैली, घटनाको रोचक प्रस्तुति, लेखनमा इमान्दारिता र राष्ट्रप्रेम उनको नियात्राका विशेषता हुन् । आफ्नो लेखनीमा सरोकारवालाहरुलाई सम्बोधन गरेर उनले धेरै ठाउँमा प्रश्न उठाएका छन् ।
अतीत आमन्त्रण नामक नियात्रासङ्ग्रह साहित्यकार नियात्राकार खगेन्द्र गिरि कोपिलाको २०७४ सालमा नवौ कृतिको रुपमा प्रकाशित भएको छ । उनको पहिलो कृति उस्तै उस्तैै नदीका उस्तै उस्तै छालहरु नामक गजल सङ्ग्रह २०५९ मा निस्केको थियो । यस सङ्ग्रहभित्र अन्तरङ्गसित अन्तरङ्ग, रानीमहलको आँगन, रिडीको बगर र रेसुङ्गाको उकालो, फेरि ठोक्किए कालीका छालसित, वीरपथमा लङ्मार्चलगायत विभिन्न शीर्षकका तेइसवटा नियात्राहरु राखिएका छन् । नियात्राकार कोपिलाले आफूले भ्रमण गरेको स्थानको राजनीतिक तथा भौगोलिक स्थिति, विकास, निर्माण, प्राकृतिक दृष्य, सामाजिक संरचना, व्यक्ति चेतना, संस्कार, स्थानीय संस्कृति, ऐतिहासिक धरोहर आदिको वणर्नसहित आफ्ना भावनाहरु प्रस्तुत गरेका छन् । अन्तरङ्गसित अन्तरङ्ग शीर्षकको पहिलो नियात्रामा घामको उज्यालो बढ्दै जाँदा काठमाडौंका दैनन्दिनी समस्याहरु कुस्ती खेल्न आइपुगे । समस्याका सिलसिलाहरुको सुरुवात भयो पानीको कन्जुस्याइँबाट भनेर नियात्राकारले लेखेका छन् ।
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । रानीमहलको आँगन शीर्षकको नियात्रामा रानीमहलको आँगनै मुन्तिरको जमीनलाई छोएर बग्ने कालीगण्डकी नदीले कुनै दिन वर्षातमा उर्लेर आई यस महललाई बगाएर लैजाने सम्भावना प्रबल देखिन्छ । नदी कटान र भूक्षयको रोकथामका लागि कसैले पहल नगरेको देखिनु उदेक लाग्दो कुरा हो भनेर नियात्राकार कोपिलाले लेखेका छन् ।
सरल र मिठासयुक्त भाषाशैली, घटनाको रोचक प्रस्तुति, लेखनमा इमान्दारिता र राष्ट्रप्रेम उनको नियात्राका विशेषता हुन् । आफ्नो लेखनीमा सरोकारवालाहरुलाई सम्बोधन गरेर उनले धेरै ठाउँमा प्रश्न उठाएका छन् । रिडीको बगर र रेसुङ्गाको उकालो शीर्षकको नियात्रामा बतासेडाँडाबाट हामी जोगीपानी, समोवारी, सामाकोट हुँदै भैरवस्थान पुग्दासम्म पनि हाम्रा आँखा थाकेका छैनन् । हल्लिरहेको बसको झ्यालबाट पल्याकपुलुक पल्याकपुलुक घरी यता घरी उता हेर्दा हेर्दा घाँटीको पछाडिपट्टि घुच्चुक दुख्न थालिसक्यो तर आँखाको धीत भने अझैँ मरेको छैन भनेर कोपिलाले लेखेका छन् । फेरि ठोक्किए कालीका छालसित शीर्षकको नियात्रामा म जन्मेको बाजुरा जिल्ला मेरो मातृभूमि हो, जन्म दिने आमा हो ।
म हुर्केबढेको कञ्चनपुर जिल्ला मलाई हुर्काउने-बढाउने धाईआमा हो, सानीआमा हो भनेर उनले लेखेका छन् । वीरपथमा लङमार्च शीर्षकको नियात्रामा एउटै सल्लाको रुख काटेर, ताछेर सुलुत्त पारेर बनाइएको साँगुरो ढुङ्गाबाट थापा र शाह थर भएका दुई जनाले स-साना वहनाले खियाउँदै खियाउँदै नदी पार गराउँदा साच्चिकै रोमाञ्चित पनि भइदो रहेछ र डर पनि लाग्दो रहेछ भनेर उनी लेख्दछन् ।
आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा कोपिलाले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन् । साथै यस सङ्ग्रहभित्रका नियात्राहरुमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात पाइन्छ ।
अमरगढी र बाघको डमरु शीर्षकको नियात्रामा असोजको अन्तिम हप्तामा एकाएक आएको हुतहुत तुफानले मौसममा आद्र्रता ल्याएको छ । आकाशभरि टम्म बादल लागेको छ भनेर कोपिलाले लेखेका छन् ।
आत्मपरक र निजात्मक शैलीमा लेखिने नियात्राहरु पाठकमाझ अत्यधिक लोकप्रिय हुने गरेका छन् । अनेकौ लेखकहरुले राम्रा राम्रा यात्रा निबन्ध लेखेर नेपाली साहित्यमा नियात्रा बिधालाई स्थापित र लोकप्रिय बनाउँनमा महत्वपूणर् भूमिका खेलेका छन् । कोपिला सङ्ख्यात्मक र गुणात्मक दुबै रुपमा निरन्तर लेखिरहने सिर्जनशील र उर्वर कलमजीविका रुपमा चिनिन्छन् । झझल्को पु्रान्धाराको शीर्षकको नियात्रामा उडुस र लामखुट्टेको आक्रमणले रातको निद्रा प्रीतिकर हुन सकेन । भोलिपल्ट बिहानीपख एकछिन आँखा लागेका थिए । बाहिरबाट आएको बसको चर्को आवाजले निद्रा बिथोलियो भनेर उनले लेखेका छन् ।
आजको समयमा यात्रा बृत्तान्तका लेखहरु निकै देखिन थालेका छन् । कतै निबन्धको रुपमा भेटिन्छन् भने कतै घुमन्ते कथाको रुपमा । पाठक आफूले नटेकेको ठाउँ, आफ्नो आँखाले नदेखेको दृष्य लेखकको वणर्नवाट त्यहाँ पुग्न सक्ने र देख्न सक्ने रहेछ । सबैले सबै ठाउँ घुम्ने र देख्ने कुरा पनि सम्भव हुँदैन । त्यसैले यात्रा वृत्तान्त पढ्दा आफैं त्यो ठाउँ पुगेजस्तो लाग्नु स्वाभाविकै हो । यात्राले पाठकलाई त्यहि पुर्याउन सकिने गर्भिलो भावना उमार्दो रहेछ । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ ।
यसमा नियात्राकारको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत छन् । अन्त्यमा समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस्तै अन्य कृतिहरु पढ्न पाइरहने अपेक्षा गर्दछु । अन्त्यमा उनका अन्य राम्रा राम्रा नियात्रासङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु ।
लेखकः खगेन्द्र गिरि कोपिला
विधाः नियात्रा
प्रकाशकः सर्वदा साहित्य सङ्गम, नेपालगन्ज
प्रकाशनः पहिलो वि.सं. २०७४ फागुन
पृष्ठः १७५
मूल्यः ने.रु.२००।-
काठमाडौं