ढलेपछि मात्रै पोल ‘रिप्लेस’ गर्ने : वितरण केन्द्र
Monday, July 4th, 2022, 11:21 am
Kalpristha
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र भने यी पोलहरु डल्ने प्रतिक्षामा रहेको छ । वितरण केन्द्रका प्रमुख देवागर प्याकुरेल स्वयम् बिजुलीको पोलहरु नढलेसम्म वा नबांगेसम्म नयाँ पोल लगाउने नगरेको बताउँछन् ।
विक्रम बुढाक्षेत्री
तस्बिरमा देखिएका दुईवटै बिजुलीका फलामे पोलहरु नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ न्यू रोडको हो । जुन पोलहरु जिणर् अवस्थामा पुगिसकेका छन् । यद्यपी यी दुवै पोलहरु डल्ने संघारमा रहेको देख्न सकिन्छ ।
तर नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र भने यी पोलहरु डल्ने प्रतिक्षामा रहेको छ । वितरण केन्द्रका प्रमुख देवांगर प्याकुरेल स्वयम् बिजुलीको पोलहरु नढलेसम्म वा नबांगेसम्म नयाँ पोल लगाउने नगरेको बताउँछन् ।
तस्बिर १ मा रहेको बिजुलीको फलामे पोल सेतु विक चोकदेखि लगभग तीन सय मिटर उत्तरको हो । उक्त पोलको फेद खिया लागेर नाजुक अवस्थामा छ । पोल सडकको पश्चिमतर्फ रहेका घरतीर नुघेको छ ।
तस्विर २ मा रहेको बिजुलीको फलामे पोल पनि सेतु विक चोकदेखि २ सय ५० मिटर उत्तरमा रहेको गुम्बा अगाडिको हो । उक्त पोलको पनि फेद खिया लागेर नाजुक अवस्थामा पुगेको छ ।
सेतु विक चोकदेखि बसपार्कसम्म जाने बाटोसम्म अन्य फलामे पोलहरुमा पनि खियाको प्रभाव देख्न सकिन्छ । यसअघि ती फलामे पोलहरुमा फलामको बेल्डिङ गरिएता पनि खिया लागेर पुनः जिणर् हुने अवस्थामा रहेका छन् ।
नेपालगन्जमा हरेको विद्युत् वितरण केन्द्रको मातहतमा रहेको खजुरादेखि नरैनापुरसम्मको क्षेत्रमा यस्ता बिजुलीका फलामे पोलहरुको संख्या ५ सय भन्दा बढी रहेको प्रमुख प्याकुरेलले बताए ।
यी फलामे पोलहरु कहिले लगाएको एकिन तथ्यांक विद्युत् वितरण केन्द्रसँग छैन । तर पनि नेपालगन्जको बस्ती विकाससँगै यी पोलहरु लगाइएको हुन सक्ने प्याकुरेल बताउँछन् । यसरी हेर्दा यी पोलहरुको इतिहास ४० वर्षभन्दा माथि भएको अनुमान लगाउन सकिन्छ ।
विगतमा विद्युत् विस्तारका लागि प्रयोग भएका यी पोलहरु विस्तापित हुने क्रममा रहेका छन् । वितरण केन्द्रले यी पोलको स्थानमा नयाँ आधुनिक पोलहरु लगाउने गरेको प्याकुरेलले बताए ।
प्याकुरेललाई यी फलामे पोलहरुको आयू कति हुन्छ भनि प्रश्न गर्दा उनी जबसम्म ढल्दैन वा बांगिन्न तबसम्म हुने जवाफ दिन्छन् । उनी भन्छन्, ‘यी फलामका पोलहरुको आयू यति नै हुन्छ कसरी यसै भनम् । जबसम्म ढल्दैनन, बांगिन्न तबसम्म ।’
उसोत विद्युत् वितरणसँग यस्ता जिणर् भएका फलामे पोलहरुको यकिन तथ्यांक भने छैन । प्याकुरेल सामान्य रुपमा प्रविधिकहरुलाई थाहा भई हाल्ने गरेको बताउँछन् ।
विद्युत् प्राधिकरणलाई वार्षिक रुपमा मर्मतसम्भारका रुपमा बजेट आउने गरेको हुन्छ । आर्थिक वर्ष २०७८/०७९ मा ६० लाख रुपैयाँ मर्मतसम्भारमा बजेट आएकोमा सबै खर्च भई सकेको प्याकुरेलले बताए । उनी मर्मतसम्भारमा आएको सबै बजेट बिजुलीका पोलहरु परिवर्तन गर्नमात्र प्रयोग गर्न नसकिने बताउँछन् ।
‘मर्मतसम्भारमा आएको सबै बजेट बिजुलीका पोलहरु रिप्लेस गर्नमात्र खर्च गर्न सकिन्न । तरहरु हाल्नु पर्यो, कतै मर्मत गर्नु पर्यो,’ प्याकुरेलले भने ।
उनलाई वितरण केन्द्रको मातहतमा रहेका सबै फलामे बिजुलीका पोलहरुलाई परिवर्तन गर्न सकिन्न ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘सबै एकैपटक रिप्लेस गर्न सम्भव नै छैन । यसमा बजेट धेरै चाहिन्छ ।’ उसोत उनी १/२ वटा पोल परिवर्तन गर्न पनि धेरै खर्चिलो हुने बताउँछन् । प्याकुरेलका अनुसार १/२ वटा पोल परिवर्तन गर्न सामान्यताया २०/३० हजार बढी खर्च लाग्ने गर्दछ ।
उसोत वितरण केन्द्रले वार्षिकरुपमा पुराना, ढलेका वा खराब भएका बिजुलीका पोलहरुमा नयाँ पोलहरु लगाउने गरेको छ । प्याकुरेलका अनुसार वार्षिक ४० देखि ५० वटा बिजुलीका नयाँ पोलहरु परिवर्तन गरिन्छन् ।
तर तस्बिरमा रहेका पोलहरु कहिले ढल्छन् भनेर पर्खिनु भनेको क्षति निम्त्याउनु है न र ?