छविलाल खड्का तीन लघुकथा
Saturday, July 9th, 2022, 11:29 am
Kalpristha
मन्त्री ज्यू मुसुक्क मुस्कुराउँदै बोले, ‘ह्या भाइहरुले के दुःख बेसाउन खोज्या ! छोड्नोस् यी मल, बीउ र सिँचाइका कुरा । हामीले किसान पेन्सनको व्यवस्था गरेका छौं !’
छविलाल खड्का
कृषि क्रान्ति
विदेशमा कृषि अध्ययन गरेर आफ्नै देशमा केही गर्ने अठोटकासाथ रजव स्वदेश फिर्ता ।
कृषि प्रधान देश । जि डि पी को ठूलो हिस्सा कृषि क्षेत्रले अोगटेको । सरकारद्वारा नयाँ नयाँ स्किम घोषणा ।
रजवबाट खाद्यान्न आयातलाई विस्थापन गर्ने उद्देश्यकासाथ कृषिमा क्रान्ति गर्ने घोषणा । आफूले देखेका सपना साकार गर्नका लागि कृषि फर्म स्थापना ।
धान रोपाइँको समय । आकासे पानीको भर । बीउ र बिषादीको अभाव र रासायनिक मलको हाहाकार । पहिलो गासमै ढुङ्गा ।
रजवसहित केही युवा कृषकहरु कृषिमन्त्री कहाँ डेलिगेसन ।
रजवले ज्ञापनपत्र बुझाउँदै भन्यो, ‘मन्त्री ज्यू ! हामी युवा कृषकहरुले कृषिमा क्रान्ति गर्ने सपना देख्का छौं । सरकारले सहजरुपमा सिँचाइ, बीउ र मलको व्यवस्था गरिदिनु पर्यो ।’
मन्त्री ज्यू मुसुक्क मुस्कुराउँदै बोले, ‘ह्या भाइहरुले के दुःख बेसाउन खोज्या ! छोड्नोस् यी मल, बीउ र सिँचाइका कुरा । हामीले किसान पेन्सनको व्यवस्था गरेका छौं !’
वैकल्पिक भगवान्
‘रिठे कामीको घर यही हो ?’ सरकारी कर्मचारी जस्तो देखिने आगन्तुकले सोध्यो ।
‘यही हो हजुर ।’ रिठेकी स्वास्नीले भनी ।
रिठेबिरुद्धको मुद्दाको म्याद तामेली गरेर गयो ।
म्याद पत्रमा लेखिएको थियो, ‘आफूले मौलिकरुपमा बाँच्न पाउने हक हनन् भएको भनी वादी ढुंगाले दिएको उजुरीमा प्रतिवादी लाउन बाटाको म्याद बाहेक सात दिनभित्र अदालतमा उपस्थित हुनुहोला अन्यथा कानून बमोजिम भै जानेछ ।’
रिठेले चित खायो । आफूले कसैलाई केही नगरेको । अझ अनौठो कुरा ढुंगाले मुद्दा दिएको ।
ऊ अदालतमा हाजिर भयो ।
पूणर् इजलासमा सुनुवाई सुरु भयो ।
वादीको तर्फबाट बहस गर्दै वकीले सोध्यो, ‘कुनै पनि वस्तुको मौलिकरुपमा बाँच्न पाउने हक हुन्छ । उक्त हक हनन् गर्ने तपाईं को हो ?’
‘श्रीमान् म मुर्तिकार हुँ । खोला – खोल्सामा फ्यालिएका ढुंगालाई कुँदेर मन्दिरमा सजाउने मेरो कर्म हो । मैले त उसको महत्व बढाइदिएको छु । दुनियाँले पूजा गर्ने । दुनियाँले ढोग्ने भगवान बनाइदिएको छु ।’ रिठेले आफ्नो दलिल पेश गर्यो ।
‘नियम आपत्ति श्रीमान् ! मलाई ढ्वँगी भगवान बन्नु छैन । आफ्नै गाउँ ठाउँमा बाँच्न पाउनु पर्यो ।’ ढुंगाले भन्यो ।
फैसला आयो, ‘ढुंगाको बिकल्प खोजेर भगवान् बनाउनू ।’
भेदभाव
धार्मिक गाउँ । धर्मभीरुहरुको बस्ती । पूण्यभूमि ।
भगवानको मन्दिर र मूर्ति पुरानो भई जिणर् अवस्थामा । धर्मात्माहरुको निणर्य नयाँ मन्दिर र मूर्ति निर्माण गर्ने ।
सबैले आ-आफ्नो गच्छे अनुसार सहयोग गरे । कसैले पैसा । कसैले श्रम र सीप । मन्दिर बन्यो । अब मूर्तिको कुरा रह्यो । छलफलकै क्रममा गेरुबस्त्र, पहेंलो पिताम्बर, निधारमा चन्दनको टीका लाएका पण्डितले भनें, ‘तल्लो गाउँको तोर्पे कामीलाई भन्नू पर्यो । सिपालु छ मोरो । राम्रो मूर्ति बनाउँछ ।’
सबैले हो मा हो थपे ।
तोर्पेले पनि दिल दिमाग लगाएर भने झै मूर्ति बनायो । हेर्दै साक्षात् भगवान् जस्तै देखिन्थ्यो । सबैले उसको प्रशंसा गरे ।
शुभ साइतमा सप्तऋषिहरुको समूहबाट यज्ञादि यज्ञ, महायज्ञ लगाएर पूजापाठ गरी मूर्तिमा भगवानको प्राण भरियो ।
भोलिपल्टदेखि भगवानको दर्शनका लागि मन्दिर खुला गरियो ।
हात हातमा पूजा सामग्रीहरु लिएर भक्तजनहरु लाइन बसे । पालै पालो पूजाआजा गरे । तोर्पेको पालो आयो । पुजारीले रोके । प्रवेश निषेध भयो । उसले विस्फारित नेत्रले हेर्दै सोध्यो, ‘किन ?’
पुजारीले भने, ‘अछुतहरुले भगवानको पूजा गर्न हुँदैन । भगवान रिसाउनुहुन्छ । अनिष्ट हुन्छ ।’
अछुतहरुको समूहले विरोध गर्यो । आक्रोशित मुद्रामा भने, ‘मन्दिर बनाउने हामी ! मूर्ति बनाउने हामी ! पूजा गर्न अशुभ् !’
पुजारीले सम्झाउँदै थिए, ‘ ॅकुरा बुझ् तोर्पे । तैंले मूर्ति बनाउँदा पत्थर थियो । निर्जिव पत्थर । पत्थरमा केको छुवाछुत ? अब त सप्तऋषि ब्राहमणहरुले विधि विधान अनुसार मूर्तिमा भगवानको प्राण भर्नुभयो । तँ आफै भन् त ! तिमीहरुले कसरी छुन हुन्छ ?’
कोहलपुर, बाँके