ठेकेदारको लापरबाही : सम्झौता सकियो काम भने ४० प्रतिशतमात्र
Sunday, July 10th, 2022, 9:53 am
Kalpristha
उक्त पुल निर्माणमा चरम लापरबाही भएको प्रष्ट हुन्छ । वैकल्पिक पुल निर्माण नगरी उक्त पुल निर्माण थालिएको थियो । निकासा नहुँने भन्दै भएको पुराना पुल पनि भत्काएर नयाँ पुल निर्माण गरिएको स्थानीय बताउँछन् ।
विक्रम बुढाक्षेत्री
खजुरा, २६ असार
बाँकेको नेपालगन्जस्थित परसपुर-गौघाट रोडअन्तर्गत खजुरा गाउँपालिका-२, सी गाउँमा निर्माणाधीन पुलको सम्झौता सकिँदासम्म ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ । असार २५ गतेसम्म सम्झौता अवधि रहेको उक्त पुलका कारण गौघाटवासीले सास्ती खेप्नु परेको छ । अघिल्लो वर्षातमा झै यो वर्ष पनि खजुरा गाउँपालिका वडा नम्बर १ र २ का वडावासीले सास्ती पाउने पक्का रहेको देखिन्छ ।
उक्त पुल निर्माणमा चरम लापरबाही भएको प्रष्ट हुन्छ । वैकल्पिक पुल निर्माण नगरी उक्त पुल निर्माण थालिएको थियो । निकासा नहुँने भन्दै भएको पुराना पुल पनि भत्काएर नयाँ पुल निर्माण गरिएको स्थानीय बताउँछन् ।
सो समयमा स्थानीयवासीले विरोध पनि गरेका थिए । उनीहरुले नयाँ पुल बनाएर मात्र पुरानो पुल भत्काउने माग गरेका थिए । तर नयाँ पुलको काम थालनि नगर्दै पुरानो पुल भत्काइयो ।
वैकल्पिक पुल नहुँदा स्थानीयहरुले उक्त स्थानमा सामान्य हेमपाइपसहितको बाटो बनाएका छन् । जुन आफैंमा जोखिमपूणर् रहेको छ ।
गत वर्षातको समयमा पुरानो पुल भत्काएर नयाँ पुल निर्माण सुरु भएपछि हिँड्डुलका लागि काठको पुल बनाइएको थियो । जसका कारण धेरै मानिस उक्त काठको पुलबाट लडेका थिए ।
वडा नम्बर २ सी गाउँका मुकेस बुढाथोकी गत वर्ष रातको समयमा पुलचोकदेखि सी गाउँ आउने क्रममा सोही काठको पुलबाट मोटरसाइलसहित खसेका थिए । पछि स्थानीयले थाहा पाएपछि उनलाई रातको समयमा नै उद्दार गरियो ।
किरण नाला पारी पुलचोकमा घर भएको राजा बाहुनको खेत किरण नाला वारी सी गाउँमा पर्छ । उनलाई पनि वर्षातको समयमा खेतीपातीका लागि आउन जान समस्या भएको छ ।
वडा नम्बर २ की सदस्य मिना सुनार वैकल्पिक पुल नहुँदा दिनहु स्थानीयले सास्ती पाउने गरेको बताउँछिन् । उनी स्वयम् कुटानीपिसानीका लागि पुलचोक जानुपर्ने भएका कारण समस्या हुने गरेको बताइन् । सुनारले वडा कार्यालयले वैकल्पिक पुल बनाउनका लागि वेवास्ता गरेको पनि बताइन् ।
वडावासीका लागि उक्त पुलको विकल्पमा ६ किलोमिटर उत्तरमा खजुरा वा दक्षिणमा जलपोखरीमा रहेको पुलको प्रयोग गर्नु पर्ने बाध्यता रहन्छ ।
प्रदेश सरकारको बजेटमा निर्माण भई रहेको उक्त पुल गत २०७७ फागुन १९ गते सडक पूर्वाधार विकास कार्यालय, नेपालगन्जसँग गल्भा/सिद्धार्थ दर्शन जेभिले २०७९ असार २५ गतेसम्म निर्माण सम्मन गर्नेगरी सम्झौता गरेको थियो । तर उक्त सम्झौता अनुसार गल्भा/सिद्धार्थले काम गरेको देखिएको छैन । उक्त पुलको लागत ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँ रहेको छ । जसमा २० प्रतिशत रकम निर्माण कम्पनीले लगिसकेको छ ।
उसोत सडक पूर्वाधार कार्यालयले निर्माण कम्पनी गल्भालाई ताकेता नगरेको पनि होइन । सडक पूर्वाधारले १ वर्षको अवधिमा चार पटकसम्म गल्भालाई चिठी पठाएर ताकेता गरेको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका कार्यालय प्रमुख सरतकुमार अधिकारीले बताए । तर पनि गल्भाले पुनः निर्माणमा लापरबाही गरिरहेको अधिकारीले बताए ।
गल्भा/सिद्धार्थ दर्शन जेभी नरहरी थपलियाको निर्माण कम्पनी हो । उनले उक्त पुल निर्माण गर्न पेटी ठेकेदार चक्रबहादुर शाहलाई जिम्मा दिएका हुन् । तर शाह भने सम्पर्कविहीन रहेको प्रमुख अधिकारीले बताए ।
‘अहिले चक्रबहादुर शाह सम्पर्कविहीन हुनुहुन्छ । उहाँको फोन त लाग्छ तर फोन उठ्दैन,’ अधिकारीले भने । शाहलाई जिल्ला प्रशासन कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले पनि धेरै पटक फोन गरेको तर नउठेको अधिकारीले बताए ।
यसअघि सडक पूर्वाधारले पहिलो चिठी २०७८ वैशाख ९ गते निर्माण कम्पनीलाई चाडो काम सुरु गर्न पठाएको थियो । सम्झौता भएको दुई महिनासम्म पनि काम सुरु नभएपछि काम सुरु गर्न कार्यालयले चिठी पठाएको सडक पूर्वाधार विकास कार्यालयका टेक्निकल अफिसर ओमप्रकास पौडलेले बताए ।
उनले भने, ॅसम्झौता भयो तर दुई महिनासम्म काम नै सुरु भएन । अनि हामीले पहिलो चिठी २०७८ वैशाख ९ गते काम सुरु गर्न निर्माण कम्पनीलाई पठायौं । त्यसपछि काम सुरु त भयो तर वर्षातका कारण फेरि काम रोकियो ।’
सो समयपछि पुनः सडक पूर्वाधारले २०७८ कात्तिक २५ गते अर्को चिठी पठायो । ठेकेदारले फेरि काम बन्द गरेपछि सडकले काम सुरु गर्न सचेत गराएको थियो । यो सिलसिला त्यही रोकिएन फेरि २०७८ मंसिर २५ गते तेस्रोपटक सडकले सचेत गराउन चिठी पठाएको थियो ।
.
प्रमुख अधिकारीका अनुसार चिठी पठाएपछि केही दिन काम गरेजस्तो गर्ने फेरि रोक्ने क्रम भई रहेको थियो । अन्तत तीनपटक चिठी पठाइ सकेपछि सडक पूर्वाधारले निर्माण कम्पनीको बैंक ग्यारेन्टी थुत्न चौथोपटक चिठी पठायो । सडकले २०७८ माघ ९ गते बैंकलाई उक्त निर्माण कम्पनीको बैंक ग्यारेन्टी थुत्न चिठी पठाएको थियो । त्यसपछि माघ २३ गते समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता पत्र निर्माण कम्पनीले दिएको थियो ।
प्रमुख अधिकारी भन्छन्, ‘हामीले चिठी पठाएपछि केही कामदार लगेर काम गरेजस्तो गर्ने । फेरि काम रोकिने क्रम भएपछि अन्तिममा बैंक ग्यारेन्टी खोस्न चिठी पठायौं । पछि काम सक्ने प्रतिवद्धता आयो । तर पनि फेरि उस्तै हालत छ ।’
अधिकारीका अनुसार ठेकेदार कम्पनीले छडको मूल्यमा वृद्धि भएकाले सम्झौता रकममा काम गर्न नसक्ने जनाएको छ । तर नियमअनुसार सम्झौता पत्रमा उल्लेख गरिएको रकमबाहेक अन्य रकम थप हुने प्रवधान भने रहेको छैन ।
अधिकारी राम्रोसँग काम गरे डेढ महिनामा काम सम्पन्न हुने बताउँछन् । ‘ठेकेदारले राम्रोसँग काम गर्ने हो भने एक/डेढ महिनाको काम हो,’ उनले भने, ‘प्रमुख काम भनेको जग उठाउने हो । त्यो सबै भई सकेको छ । अब पिल्लरको काम सम्पन्न गरेर ढलान गर्नेकाम हो जुन जगभन्दा सजिलो काम हो ।’
अब ठेकेदार कम्पनीसँगको सम्झौता रद्ध गर्ने प्रक्रिया रहेको अधिकारीले बताए । उनका अनुसार गल्भ/सिद्धार्थसँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा जानु पर्ने नियम रहेको छ ।