स्थानीयले उत्पादन गरेको लसुन बिकेन
Sunday, July 10th, 2022, 1:16 pm
Kalpristha
स्थानीय कृषकका अनुसार विगत वर्षमा सेवार गाउँमा उत्पादित लसुन जिल्ला बाहिर निकासा हुने गरेको थियो । व्यापारीहरु आफैं खरीद गर्न आउने गरेका थिए । सेवार उत्पादन भएको लसुन पोखरा, विराटनगर, जनकपुरसम्म जाने गरेको थियो तर यसवर्ष बिक्री हुन सकेको छैन ।
लिलाधर वली
दाङको घोराहीमा किसानले उत्पादन गरेको लसुन नबिक्दा किसान निराश भएका छन् । व्यवसायीहरुले भारतीय बजारबाट सस्तोमा मूल्यमा लसुन ल्याएर बिक्री गर्दा जिल्लामा स्थानीय किसानले उत्पादन गरेको लसुन बिक्री नभएको हो ।
लसुन बिक्री नहुँदा किसानले मेहनत खेर जाने अवस्था सिर्जना भएको स्थानीय बताउँछन् ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत घोराही उप-महानगरपालिका-८, सेवारका किसानले गएको चैतमा उत्पादन गरेको करिब २४ क्यून्टल लसुन नबिक्दा किसान चिन्तामा परेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत लसुन पकेट कार्यक्रममार्फत रोपेको लसुन नविकेको किसान कृष्ण चौधरीलले बताए । सिर्जनशील कृषि समूह सदस्यसमेत रहेका किसान चौधरीले लसुन नबिक्दा आफ्नो मेहनत र लगानी खेर जाने होकी भन्ने चिन्ता बढेको बताएका छन् । ‘मेहनत गरी उत्पादन भएको लसुन बिक्दैन’, चौधरीले भने, ‘लसुन नबिक्दा घरमा राखेका छांै । बिकाइदिने वातावरण बनाइदिनुहोस न ।’
उनका अनुसार सिर्जनशील कृषि समूहमार्फत घोराही उप-महानगरपालिकाबाट अनुदानमा लसुन खेती गरेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा १० लाखको अनुदानमा लसुन पकेट कार्यक्रममार्फत लसुन खेती गर्न सुरु गरेका किसानले राम्रै आम्दानी गर्न सफल भएका थिए । आर्थिक वर्ष २०७८-०७९ मा पनि ६ लाखको अनुदानमा लसुन खेती गरेका किसानले उत्पादन गरेको लसुन बिक्री गर्न पाएका छैनन् ।
लसुन पकेट कार्यक्रममार्फत खेती गरेर उत्पादन गरेको वस्तुको बजारीकरण हुन नसक्दा आफूहरु निराश भएको किसानहरुको गुनासो छ ।
‘हामीले निकै मेहनत गरेर खेती गर्छौँ, बल्लबल्ल उत्पादन हुन्छ, बजारमा लगेर बिक्री गरौँ भने बिक्दैन, निकै समस्या छ,’ किसान कृष्णले भने, ‘यसरी कृषकलाई निराश पार्ने काम हुँदा खेती नै नगरौँ जस्तो लाग्छ ।’
स्थानीय कृषकका अनुसार विगत वर्षमा सेवार गाउँमा उत्पादित लसुन जिल्ला बाहिर निकासा हुने गरेको थियो । व्यापारीहरु आफैं खरीद गर्न आउने गरेका थिए । सेवार उत्पादन भएको लसुन पोखरा, विराटनगर, जनकपुरसम्म जाने गरेको थियो तर यसवर्ष बिक्री हुन सकेको छैन ।
दाङमा प्राय सबै स्थानमा लसुन उत्पादन हुने हुँदा स्थानीय बजारमा यसको खपत कम हुन्छ । ‘गत वर्ष व्यापारी आफंै आएर लसुन किनेर लगेका थिए । लसुनको मूल्य पनि राम्रै थियो’, किसान भीमबहादुर चौधरीले भने, ‘अघिल्लो वर्ष प्रतिकेजी ८० रुपैयाँमा बिकेको थियो तर यसवर्ष बिक्री नै हँुदैन ।’ उनका अनुसार बजारमा भारतीय लसुन आउँदा स्थानीय उत्पादन लसुन बिक्री नै भएको छैन ।
करिब ५५ घरधुरी रहेको सेवारवासीको मुख्य पेसा नै कृषि भएको चौधरीले बताए ।
कृषि क्षेत्रलाई प्रोत्साहन गर्न स्थानीय सरकारले कृषकलाई उत्पादनसँग जोड्ने योजना ल्याए पनि उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने भन्ने समस्या भएको उनको भनाइ छ । ‘सरकारले खेती गर्न सिकायो तर उत्पादित वस्तुको बजारीकरण कहाँ कसरी गर्ने भन्ने ठाउँ दिइएन’, उनले भने, ‘जसले गर्दा अहिले उत्पादन भएको लसुन नै बिक्री हुँदैन ।’
घोराही उप-महानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खनालले कृषकले उत्पादन गरेको लसुनले बजार नपाएको बारेमा आफूलाई गुनासो आएकाले बजारीकरणका लागि सम्बन्धीत निकायसँग सम्वन्य गर्ने काम गरिरहेको बताएका छन् । स्थानीय सरकारले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन गर्न अनुदान, यन्त्र उपकरणमा सहुलियत दिनेदेखि प्राविधिक सहयोग गर्ने गरेपनि उत्पादित वस्तुको बजारीकरणमा सहयोग नगर्दा समस्या भएको किसानहरुले बताउने गरेका छन् ।