प्रदेशकै ठूलो क्षेत्रमा वृक्षारोपण
Sunday, July 17th, 2022, 9:57 pm
Kalpristha
लामो समयदेखि बाँझो रहेको क्षेत्रमा डिभिजन वन कार्यालयले वृक्षारोपण गरेको छ । वन कार्यालयले बाँझो जग्गाको सदुपयोग गरी लुम्बिनी प्रदेश कै ठूलो क्षेत्रमा बृक्षारोपण गरेको हो ।
गुलरिया नगरपालिका–२ संगमबस्ती स्थित बेलाफाँटामा वन कार्यालयले बृक्षारोपण गरेको छ । संरक्षणको अभावमा लामो समय देखि झाडी बुट्यान क्षेत्रको रुपमा रहेको खाली ठाउँमा समुदायको समन्वयमा डिभिजन वन कार्यालयले लोपउन्मुख प्रजातिलगायत अन्य जातको विरुवा वृक्षारोपण गरेको छ ।
खाली रहेको २५.२१ हेक्टर क्षेत्रमा तारवार गरी अघिल्लो साता देखि वृक्षारोपण गर्न सुरु गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए । ‘यो क्षेत्रमा ४४ हजार विरुवा बृक्षारोपण गर्ने छौं’ सहायक वन अधिकृत शर्माले भने,‘अधिकांश भागमा विरुवा लगाई सकेका छौं ।’ बाँकी रहेको भागमा एक दुई दिनमै वृक्षारोण गरिसक्ने सुनाए । जामुन, अर्जुन, शित्तलचिनी, खैर, सिसौं, शिरिश र मौहुवालगायतका विरुवा लगाएको सहायक वन अधिकृतले जानकारी दिए । यस क्षेत्रलाई संरक्षण गर्न सके संगमबस्तीका ७ सय उपभोक्ता यस वनबाट लाभाम्वित हुने सहायक वन अधिकृत शर्माले विश्वास ब्यक्त गरे ।
आफ्नै लगानीमा कार्यालयको परिसर भित्र उत्पादन गरेको विभिन्न जातका फलफुल र विरुवाको बेर्ना निःशुल्क रुपमा धमाधम डिभिजन वन कार्यालयले वितरण गरिरहेको डिभिजन वन कार्यालयका प्रमुख प्रबीन बिडारीले बताए ।
त्यसैगरी आर्थिक वष ०७८÷०७९ मा डिभिजन वन कार्यालयले गरेको कामको संचारकर्मी र सरोकारवालालाई शनिबार अनुगमन गराएको छ ।
मानव र वन्यजन्तुको द्वन्द्व न्युनिकरण गर्न डिभिजन वन कार्यालयले हात्ती प्रभावित मधुवन नगरपालिका–१ छोटकी टंडुवा स्थित मचान निर्माण गरेको छ । भलुनी भटुवा सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा वन कार्यालयको ५ लाखको लागतमा मचान निर्माणको कार्य भईरहेको सहायक वन अधिकृत शर्माले बताए । साउन र भदौमा हात्ताबाट यस क्षेत्रका स्थानीय बढी प्रभावित हन्छन् ।
डिभिजन वन कार्यालयको अनुदानमा मधुवन नगरपालिका–४ स्थित रहेको शिव बचत तथा ऋण सहकारी माफर्त जडिबुटी खेती बिस्तार, भण्डारण, प्रशोधन केन्द्रको अनुगमन गरिएको छ । वन कार्यालयको अनुदानले सहकारीलाई धेरै सहज भएको शिव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम बहादुर थापाले बताए । ‘वनको तीन चरणको अनुदानले हामीलाई धेरै सहज भएको छ’ अध्यक्ष थापाले भने,‘पहिलो चरणमा रु २१ लाख, दोस्रो चरणमा रु १३ लाख र तेस्रो चरणमा रु ७ लाख अनुदान आएको छ ।’ वनको अनुदान रकमले जडिबुटी खेती बिस्तार, भण्डारण र प्रशोधनमा गर्नमा सहयोग पुगेको उनले सुनाए ।
वन वन्यजन्तु जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वनले २० लाखको लागतमा बारबर्दिया नगरपालिका–८ औरी थानफेनामा ८ सय ५० मिटर जेआई मेस वायर फेन्स लगाएको, खाता सामुदायिक वन समन्वय समितिको परिसरमा स्थापना गरिएको डिसप्ले बोर्ड, मधुवन नगरपालिका–२ स्थित सोनाहा स्थित सोनाहाफाँटा सामुदायिक वन र मधुवन नगरपालिका–३ खाता स्थित गौरी महिला सामुदायिक वन लगाएको जेआई मेस वायरका साथै ईलेक्ट्रिक फेन्सको संचारकर्मी र सरोकारवालालाई वन कार्यालयले अनुगमन गराएको छ ।
अनुगमन कै क्रममा मधुवन नगरपालिका–२ चमेली गौरी सामुदायिक वनमा डिभिजन वन कार्यालयले लगाएको तारवारको स्थानीयले संरक्षण नगरेको भेटियो । वनले तारवार गरेको क्षेत्रभित्र स्थानीयले बाख्रा, भैंसी बाँध्ने गरेको पाइयो ।