लापरबाहीका कारण पर्खाल बनाउने काम अधुरै
Thursday, July 21st, 2022, 5:13 pm
Kalpristha
वर्षातले गर्दा डुवान भएको, घाटा भएको र पुरै रकम नपाएको गुनासो गर्छन् । रैदाश विद्यालयका प्रअलाई ७५ हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई ५ हजार सापटी दिएकोसमेत बताउँछन् ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक निर्माणअन्तर्गत पर्खाल बाउण्डरी कार्य सम्झौता सकिँदासम्म ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । २०७९ वैशाख १६ गते सम्झौता गरी २०७९ जेठ २० गते निर्माण कार्य सम्पन्न हुनेगरी ठेक्काको जिम्मा दिइएको थियो ।
लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज बाँके मार्फत आएको बजेट सोही वडाका एक स्थानीय ठेकेदार बाबादिन रैदाशले जिम्मा लिएका थिए । कूल १० लाख बजेट मध्येमा ८ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्नेगरी ठेकेदार बाबादिन रैदाशसँग सम्झौता भएको र बाँकी २ लाख रकम गेट निर्माणको लागी छुट्टयाइएको थियो ।
विद्यालयका प्रध्यानाध्यापक महेशकुमार कहार जेठ १३ गते ठेकेदार बाबादिनले रकम लगेको बताउँछन् । उनी पैसा पाइसकेपछि ठेकेदारले विभिन्न बाहानामा आलटाल गर्ने गरेको उनले बताए ।
ठेकेदर बाबादिन रैदाश आफूले ७ लाख रुपैयाँ लिएको स्वीर्काछन् । तर उनी वर्षातले गर्दा डुवान भएको, घाटा भएको र पुरै रकम नपाएको गुनासो गर्छन् । रैदाश विद्यालयका प्रअलाई ७५ हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई ५ हजार सापटी दिएकोसमेत बताउँछन् ।
गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव यस विषयमा आफूलाई थाहा नभएको बताउँछिन् । उनले कसको लापरबाहीले काम राकिएको हो सो कुरा बुझेरमात्र अगाडि बढ्ने बताइन् ।