कृति समीक्षा : ‘झरीको सौन्दर्य’ भित्र रुमलिँदा
Saturday, July 30th, 2022, 11:30 am
Kalpristha
साहित्यकार दीनानाथ शर्माको झरीको सौन्दर्य नामक निबन्ध सङ्ग्रह २०७६ सालमा नवौं कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र झरीको सौन्दर्य, हुदहुदीको हुटहुटी, मेरो लेखनी, फेरि पालुवा पलायो, पैयुँ फुलेछ, रङ्गीन जीवन लगायत विभिन्न शीर्षकका छब्बीसवटा यात्रा निबन्धहरु समेटिएका छन् । उनको निबन्ध यात्राको यो सातौ सन्तान भएको छ ।
यस सङ्ग्रहभित्रको झरीकोे सौन्दर्य शीर्षकको पहिलो निबन्धमा असारे झरी र किसानको अनौठो सम्बन्ध छ यी दुईमा । असारे झरी दिक्क लाग्छ होला सौकिन हुँ भन्नेलाई । विदेशी साडी र जुुत्तामा हिलो पर्छ कि भन्ने भयले चिटचिटाहट हुन्छ होला सम्भ्रान्तहरुलाई दीनानाथले भनेका छन् । हुदहुदको हुटहुटी शीर्षकको निबन्धमा सिमसिमे पानी परेको बेला एकतले छाप्रोमाथि खुला ठाउँमा बसियो । फेवा तलसम्म देखिन्छ त्यस ठाउँबाट भनेर लेखिएको छ । मेरो लेखनी शीर्षकको निबन्धमा समयको मिठो धुन घन्किरहेछ कानमा र लय र भाकाहरु गुञ्जिरहेछन् गाउँवस्तीहरुमा । रङहरु छल्किएका छन् बसुधाको आँगनमा । सौन्दर्यसुधाको रेखाचित्र कोर्न खोज्छ निबन्धकारको मनले ।
उनका निबन्धहरु जीवनयात्राका पछिल्ला अनुुभव र अनुभूतिका गुञ्जनहरु हुन् । कुशल स्रष्टा दीनानाथले यी निबन्धहरुमा प्रकृति र पर्यावरणका सुन्दर चित्रण प्रस्तुत गर्दै जीवन र जगतप्रतिको सघन चिन्तनद्वारा समाज र देशलाई पोषण र प्रवद्र्धन प्रदान गरेका छन् । मानवलाई नवशक्ति प्रदान गरेका छन् । फेरि पालुवा पलायो शीर्षकको निबन्धमा जनताको मनको पखेरोमा पालुवा पलाउन थालेको छ । अधिकार जनताको घरदैलो र मजेरीसम्मै पुगेको छ । दैलो कुचोमा सीमित गरिएको समूह न्यायाधिश बनेको छ । राष्ट्र र संविधानको रक्षक शक्तिमाताको रुपमा उदाउने अवसर प्राप्त भएको छ राष्ट्रपतिलाई ।
निबन्ध लेख्दा दीनानाथको आफ्नेै प्रकारकोे दृष्टि र अनुभवशीलता देखिन्छ । यस क्रममा उनका लेखकीय प्रभाव र अनुभवको गहिराइले यी निबन्धहरुलाई कलात्मक रुपमा उनले प्रस्तुत गरेका छन् । बौद्धिकता र एकोहोरो प्रस्तुतिले निबन्ध पाठकहरुको दृष्टिमा बोझिलो विषय मानिन्छ । तर सामयिकता, फरक शैली, रोचक प्रस्तुति र ससाना कलात्मक वाक्यहरुको संयोजनले निबन्ध पठनीय पनि हुन्छ भन्ने कुरालाई निबन्धकार दीनानाथले साबित गरिदिएका छन् । पैयुँ फुलेछ शीर्षकको निबन्धमा धेरै निर्वाचन देखे जीवनमा । कतिलाई बहिस्कार गरे । कतिलाई महत्व दिइन । शान्तिवार्तालाई सार्थक निकास दिन निकै जोतिएका थिए निबन्धकार दीनानाथ ।
सहज र सरल भाषा, तरल र कल्पनाशील भाव तथा सूक्ष्म व्यङ्ग्य चेतना भएका नेपाली निबन्धका स्रष्टा दीनानाथ नेपाली निबन्ध सृजनाका समवर्ती चरणका सफल साधकका रुपमा स्थापित बन्दै गएका छन् । छोटा, मझौला वा लामा जस्तासुकै आयामका भएपनि छोटाछरिता वाक्य र प्रवाहपूर्ण भाषिक विन्यासका कारण दीनानाथको यस सङ्ग्रहभित्र समावेश भएका सबै निबन्ध सहज पठनीय छन् । कतिपय निबन्ध त पढ्दापढ्दै झ्वाट्ट सकिँदा यति छिटै नसकिएको भए हुन्थ्यो भनी मन खिन्न हुने अवस्था पनि छ । रङ्गिन जीवन शीर्षकको निबन्धभित्र बिहानको रक्तिम किरण पोतिएको देखेछन् निबन्धकारले धवलागिरीको निधारमा । अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छे«को पखेरोमा सप्तरङ्गी इन्द्रेनी पोखियो उनको उत्साह देखेर । राताको आँखामा रातै संसार भयो जवानीमा ।
.
लेखनको निरन्तरताको कारणले दीनानाथका निबन्धहरुमा विचारको गहनता र शील्पको उत्कृष्टता एकातिर छँदैछ भने त्योभन्दा ठूलो कुरा निबन्धमा व्यक्त विचारहरु प्रतिको इमानदारिताको कारणले पनि निबन्धको उचाइ बढेको छ । प्रस्तुत निबन्धहरुमा उनका लागि शब्द जाल र टेढोमेढो भाषिक जञ्जालभन्दा पर उनको आफ्नो जीवनशैलीको अनुहार पनि हो । उनले लेखेका निबन्धहरुमा भाषागत उत्कृष्टता र मिठास प्रशस्तै पाइन्छ । कोरलाको सपना शीर्षकको निबन्धमा यात्राको मजा आफ्नै प्रकारको छ । सबैको मनमा गन्तव्यमा पुग्ने चासो छ । त्यसबाहेक केही चिन्ता छैन । सबै व्यावहारिक, पारिवारिक बन्दव्यवसाय समेतका झमेला बिर्सिएर निस्केको हुन्छ यात्रामा भनिएको छ ।
साहित्यिक विधाका रुपमा निबन्धलाई कान्छो विधा भनिए पनि नेपाली साहित्यमा निबन्धको इतिहास अन्य गद्यविधाकै हाराहारीमा थालिएर दुतगतिमा विकास र विस्तार भएको देखिन्छ । भाषामा राम्ररी खेल्नसक्ने खुबी भएका निबन्धकार दीनानाथको यस सङ्ग्रहमा समावेश भएका निबन्धमा गृहीत विषयलाई वर्णनात्मक, विवरणात्मक र संवादात्मक शैलीमा अभिव्यक्ति गरिएको पाइन्छ । यस सङ्ग्रहभित्र रहेका सबैजसो निबन्धका शीर्षक छोटा, छरिता, स्पष्ट सार्थक र सामञ्जस्यमूलक छन् । काठमाडौंदेखि बेलायतसम्म शीर्षकको निबन्धमा कतारको माटोमा पाइला राख्न नपाउदै प्लेनको भ¥याङबाट दूतावासका दुुईवटा गाडी सहित मणिलार्ई छेवैमा उभिएको निबन्धकारले देखे ।
यस सङ्ग्रहका सबै निबन्धहरु दीनानाथका भावनात्मक उत्कृष्टताका नमूना हुन् । यस सङ्ग्रहभित्रका निबन्धहरु सरल भाषामा लेखिएका छन् । दीनानाथका निबन्धमा सरल र शुद्ध नेपाली भाषाको सहज, सरस र स्वाभाविक प्रयोग गरिएको छ । उनका निबन्धहरु निकै सरल छन् । भाषामा सरलता र प्रस्तुतिमा रोचकताको कारण दीनानाथको निबन्धहरु पढ्दा कुनै बेला पनि असजिलो महसुस हुँदैन । निबन्धको लेखनक्षेत्रमा स्थापित हुन पुगेका दीनानाथ निरन्तर निबन्ध सिर्जनामा एकछत्र आफ्नो लेखनकलाको वर्चस्व राख्दै नवीनता तिर उन्मुख छन् । नयाँ भाव, नयाँ भाषा, नयाँ शैली र नयाँ समाजको परिकल्पनामा उनले आफूलाई क्रमबद्ध रुपमा साधनारत तुल्याएको कुरा उनले लेखेका निबन्धको चर्चा ख्याति र सामाजिक स्वीकृतिलाई मान्दछौं । उनका निबन्ध पढिरहदा पाठकहरुले दीनानाथका अनुभूतिहरुलाई आफ्ना अनुभूतिसँग एकाकार गर्न सक्छन् र निबन्धले उठाएको विषय र सन्दर्भलाई सहज रुपमा बुझ्न सक्छन् ।
यिनले लेखेका निबन्धमा भाषा र भावको सुन्दर नृत्य छ । उनी छोटा छोटा वाक्य तथा वाक्यांश मार्फत जीवनका सन्दर्भलाई कोट्याउने, काव्यात्मक बिम्बको झलक दिने शब्दहरुको संयोजन गर्ने तथा पाठकलाई ताल्ने खालको कलात्मक वाक्य प्रयोग गरी निबन्धकौ प्रारम्भ गर्छन् । झैतेको फाँटमा ढुङ्गाको बिस्कुन शीर्षकको निबन्धभित्र कागबेनीदेखि मुस्ताङ गेटसम्मको भूगोेल अनौठो र आश्चर्यजनक लाग्छ उनलाई । सायद त्यसैले होला लाखौ विदेशी पर्यटकहरु आकर्षित भएका । प्राचीन पौराणिक कथामा पाइने किल्लासँगै बुर्जाहरु भव्य महलका आकृति देखिन्छन् राता र खैेरा बलौटे पहाडहरुमा ।
निबन्धकार दीनानाथ साहित्यकारका रुपमा जति लोकप्रिय छन् । नागरिक मर्यादाभित्र राजनीतिकर्मीको रुपमा पनि उति नै चर्चित छन् । उनी आफ्ना निबन्धहरुमा देश र नागरिक हितको नाममा सत्ता, शक्ति र पदको लागि राजनीति गरेर देशलाई कुठाराघात गर्नेहरु प्रति सचेत रहँदै देश र नागरिकलाई अहित भएमा आफ्नै दलको बिरुद्धमा पनि निबन्धहरुमा निर्धक्क बोलेका छन् । अविस्मरणीय भेट शीर्षकको निबन्धमा शताब्दीपुरुष सत्यमोहन जोशीलाई उनले पहिले नै भेटिसकेका थिए । दुईचारवटा कार्यक्रममा सँगै भएका पनि थियौ । तर यसरी घरमै पुगेर भेट्दा निबन्धकारलाई औधी खुसी र सोन्दर्यानुभूति भयो ।
दीनानाथको प्रस्तुत निबन्ध सङ्ग्रह नेपाली साहित्यको निबन्ध बिधामा एउटा महत्वपूर्ण सङ्ग्रह मान्न सकिन्छ । सरल भाषा, सहज अनुभूति र सुन्दर कलात्मक प्रस्तुतिमा सिर्जना गरिएका उनका निबन्धमा आफ्नै प्रकारको मौलिक आकर्षण पाइन्छ । दीनानाथका निबन्ध अरुको निबन्ध जस्ता एकै ठाउँमा थुप्रिएर र एउटा कीलामा बाँधिएका नभई यी कहिले कथानकसितै शिल्पको नदी उर्लेका छन् कहिले बिम्बका अनुपम फूल फक्रेका छन् । निबन्धलाई मुक्तान्त विधा भनिएको छ । किनभने यसमा सधैँ अन्त्यको अभाव हुन्छ । अझैँ बगिरहुँजस्तो हुन्छ । पाठकलाई पढीरहुँजस्तो । निबन्ध लेख्ने स्रष्टा कम छन् । मस्तिष्क र हृदय दुबै तत्वलाई स्वतन्त्र रुपले विचरण गर्ने ठाउँ नै निबन्ध हो । यो निबन्ध सङ्ग्रह सबै पाठकहरुले पढ्नै पर्छ । मैले यो कृतिलाई दोहो¥याएर पढे । यस कृति जस्तै अन्य कृतिहरु पनि आगामी दिनमा प्रकाशित भएर पढ्न पाउने अपेक्षा राखेको छु ।
पुस्तकः झरीको सौन्दर्य
प्रकाशकः शमी साहित्य प्रतिष्ठान, अनामनगर
संस्करणः प्रथम, वि.सं. २०७६, साउन
मूल्यः रु.३५०।–
पृष्ठः २२४
काठमाडौं (नेपाल)