अल्लोबाट आत्मनिर्भर बन्दै दाङका महिला
Sunday, September 25th, 2022, 10:04 am
Kalpristha
लिलाधर वली
घोराही उपमहानरपालिका–१४ निवासी प्रेमकुमारी पुन मगर अल्लो उद्योगसँग जोडिएको वर्षौँ भइसक्यो । लामो समय शिक्षण पेसा गरेकी उनी करिव दुई दशकदेखि अल्लोको धागो उत्पादन, धागोबाट तयारी कपडा बनाउनेसँगै कपडाको बजारीकरण गर्ने व्यवसायमा बस्त छिन् ।
तत्कालीन माओवादी र सरकारबीचको दश बर्षीय सशस्त्र द्वन्द्वको समयमा शिक्षण पेसा छोडेर रुकुमबाट दाङको घोराही झरेकी पुनले १९ वर्षदेखि घोराहीमा चिनारी महिला साझेदारी अल्लो उद्योग सञ्चालन गर्दै आएकी छिन् । पुर्खाको पेसाका रुपमा रहेको अल्लो धागो उत्पादन गर्ने कामलाई व्यवसायीकरण गर्दै उद्योग स्थापना गरेकी पुनलाई पछिल्लो समय अल्लोले आम्दानीसँगै पहिचान समेत बनाईदिएको छ ।
‘सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्ने अवस्था नभएपछि शिक्षण पेसा छोडेर परिवारसँगै ज्यान जोगाउनलाई दाङ आएका थियौ तर के गरी बस्ने योजना थिएन’,उनले भनिन्,‘घोराही आएपछि केही समय त्यसै बसे । पछि सोच बनाए, पुर्खाले गर्ने गरेको अल्लोको धागो उत्पादन गर्ने काम गर्ने । त्यही अनुसार घोराहीमा काम सुरु गर्न थाले ।’ सुरुमा अल्लोबाट धागो उत्पादन गर्ने काम गरेकी उनले पछि गार्मेन्ट स्थापना गरेर घोराहीमै अल्लो धागोबाट कपडा समेत बनाउन थालिन । ‘सुरुमा अल्लो धागो उत्पादन गर्ने र बाहिर पठाउने मात्रै गरेका थियौ । केही समयपछि कपडा पनि उत्पादन गर्न थाल्यौ’,उनले भनिन्,‘कपडा उत्पादन गर्न थालेपछि गार्मेन्ट स्थापना गरेर अल्लो धागोबाट विभिन्न प्रकारका तयारी पोषकहरु बनाउन थालेका हौ ।’ अल्लोबाट उनले विभिन्न तयारी पोशाक कोट, स्टकोट, विभिन्न प्रकारका टोपी, पछ्यौरा, मगर जातीय पोशाक, गलबन्दी, जुत्ता, व्याग, सललगायतका विभिन्न कपडाहरु उत्पादन गर्दै आएको बताइन ।
५९ वर्षीय पुन लामो समयको संघर्षपछि आफूलाई सफल उद्यमीको रूपमा स्थापित गराउन सफल भएकी हुन् । जिल्लास्तरमा सञ्चालन हुने विभिन्न मेला, महोत्सवमा अल्लोको धागोबाट बनाइएका पोसाकहरूको राम्रो व्यापार हुने गरेको उनी बताउछिन । त्यँहीबाट हुने आम्दानीले उनले आफ्नो उद्योगमा दैनिक १७–१८ जना महिलालाई नियमित रूपमा रोजगारी समेत दिएकी छिन । ‘अल्लो धागोबाट उत्पादन भएका सामग्रीहरूको राम्रो व्यापार हुने गरेको छ’, उनले भनिन्,‘राम्रो व्यवसायले नै आम्दानीसँगै उद्योग महिलाहरूलाई रोजगारी समेत मिलेको छ ।’
प्रेमकुमारी जस्तै घोराही उपमहानगरपालिका–१४ निवासी प्रभा वलीपनि लामो समयदेखि अल्लो व्यवसायमा जोेडिएकी छिन् । आफु जस्तै ७ जना महिलाहरुसँग मिलेर डेढ बर्षअघि घोराहीमा सहनसिल दिदीबहिनी अल्लो धागो तथा उत्पादन प्रशोधन उद्योग स्थापना गरेर उनी अल्लो धागो उत्पादन, प्रशोधनसँगै तयारी कपडा बनाउने काम गर्दै आएको बताउँछिन । विशेष गरेर दाङमा अल्लोको धागो उत्पादन गरेर काठमाडौ पठाउने काम गर्दै आएको बताउने वलीले पछिल्लो समय तयारी कपडाहरु समेत उत्पादन गरेर विक्रि गर्ने गरेको बताइन । यसरी उत्पादन भएका कपडाहरु दाङसँगै विक्रिका लागि काठमाडौ, पोखरालगायतका सहरहरुमा पठाउने गरेको बताइन ।
.
अल्लो धागो उत्पादन तथा प्रशोधन सम्वन्धी प्रशिक्षक समेत रहेकी वलीले आफु जस्ता दिदीबहिनीहरुलाई अल्लोले आम्दानीसँगै पहिचान दिएको बताउँछिन् । ‘अल्लोबाट धागो काट्ने काम पहिले रुकुम , रोल्पालगायतका पहाडी जिल्लातिर हुने गरेको थियो । तर यो व्यवसायीक थिएनन्’,उनले भनिन्,‘पछिल्लो समयमा अल्लोबाट धागो उत्पादन गर्ने र कपडा बनाउन थालेपछि यो व्यवसायीक रुपमा गएको छ ।’ व्यवसायीक रुपमा गएसँगै धेरै महिलाहरुलाई घरघरमै रोजगारी मिलेको उनी बताउँछिन । ‘उद्योगमा प्रत्यक्ष रुपमा हामी सात जना महिलाहरु जोडिएका छौ’,उनले भनिन्,‘तर गाउँगाउँमा अल्लो धागो उत्पादन गर्नेदेखि गार्मेन्टमा कपडा सिलाउनेसम्म करिव सय बढी महिलाहरु जोडिनु भएको छ ।’ अल्लो धागो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ राप्तीका पहाडी जिल्लाहरुसँगै कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुबाट आउने गरेको छ ।
अल्लो पकाउने, चर्खाबाट धागो काट्ने, तयारी पोशाक बनाउनेलगायतका काम उद्योगमा सबै महिला कामदारले काम गर्छन् । विगतमा दुई–चार पैसाका लागि पनि श्रीमानसँग हात थाप्नुपर्ने बाध्यतालाई कम गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने काम समेत उद्योगहरुले गरिरहेका छन् ।
उक्त उद्योगमा आर्थिक अवस्था कमजोर भएका महिला, एकल महिला र क्याम्पस पढ्दै गरेका किशोरीहरूले पनि काम गर्ने अवसर पाइरहेका छन् । साँझ–बिहान घरको काम गरेर बचेको समयको सदुपयोग गर्न पाइने र थोरै भएपनि आर्थिक सहयोग मिल्ने गरेकाले चिनारी महिला साझेदारी अल्लो उद्योगमा काम गर्दै आएको घोराही निवासी सरिता विकले बताइन । उद्योगसँग जोडिएपछि सिप सिक्नका साथै आफ्नो घर व्यवहार चलाउनका लागि पैसा समेत संकलन हुने गरेको उनी बताउँछिन ।
त्यस्तै घोराही निवासी आशा पुनले पनि उक्त उद्योगमा काम गर्न थालेको धेरै बर्ष भयो । उद्योगमा काम गर्न थालेपछि घर व्यवहार चलाउन समेत सहज भएको उनी बताउँछिन । ‘आफैले कमाउन थालेपछि घरपरिवारबाट पैसा मागेर पढ्नुुपर्ने बाध्यता अन्त्य भएको छ’,उनले भनिन्,‘आफुले काम नगर्दा घरमा सामान नहुँदा पैसा माग्नुपर्ने बाध्यता थियो तर अहिले त्यो हटेको छ ।’
लुम्बिनी प्रदेशका पहाडी जिल्ला रुकुम, रोल्पा, प्यूठानलगायतका महिलालाई समेत उनले अल्लो धागोका माध्यमबाट स्वरोजगार बनाउन भूमिका खेल्दै आएकी छिन । सरकारले आफ्नै देशको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र नागरिकलाई यस क्षेत्रप्रति आकर्षित गर्नसके विदेशको मुख ताकेर बस्नै नपर्ने चिनारी महिला साझेदारी अल्लो उद्योगकी सञ्चालक प्रेमकुमारी पुन बताउँीछन । उनले आफु जस्ता महिलालाई सीप, जाँगर र हौसलाले राम्रो सफलता हासिल गर्न सकिँदोरहेछ भन्ने प्रमाणित गरेको समेत बताउँछिन ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा अल्लो धागो प्रशोधन तथा तयारी कपडा उत्पादन सम्वन्धी तीन वटा र एउटा गार्मेन्ट गरेर चार वटा अल्लो धागो उत्पादन सम्वधी काम गर्ने उद्योगहरु रहेका छन् ।