चुनावबारे सम्झाउँदै फेसबुक
Friday, November 11th, 2022, 5:14 pm
Kalpristha
फेसबुकले आफ्नो नेपाली प्रयोगकर्ताहरूलाई आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनबारे सम्झाएको छ ।
फेसबुकले शुक्रबारदेखि नेपाली प्रयोगकर्ताहरूको न्युज फिडिमा चुनाव हुनेबारे जानकारी दिन सुरू गरेको हो ।
निर्वाचन आयोगले निर्वाचन हुने सम्बन्धी विभिन्न माध्यमबाट प्रचार–प्रसार गरिरहेको छ । यस्तैमा आयोगले विभिन्न व्यक्ति, समूह र कम्पनीहरूसँग सहकार्य गरेको पाइन्छ ।
फेसबुकले नेपाली प्रयोगकर्ताहरूको न्युज फिडमा देखाएको सूचनामा लेखिएको छ, ’(फेसबुक प्रयोगकर्ताको नाम), चुनाव हुने दिन मंसिर ४ हो ! २०७९ मंसिर ४ गते हुने नेपालको संसदीय निर्वाचनसम्बन्धी जानकारी निर्वाचन आयोगबाट प्राप्त गर्नुहोस् ।’
यसको तल उक्त जानकारी अन्य प्रयोगकर्तामाझ र फेसबुकमा सेयर गर्ने नेपालमा रहेका व्यक्तिहरूको संख्या उल्लेख गरिएको छ । त्यसको तल थप लेखिएको छ, ‘चुनावसम्बन्धी जानकारी हेर्नुहोस’।
यो विकल्प थिचेपछि निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज खुल्छ । प्रयोगकर्ताले ‘सेयर गर्नुहोस’ विकल्प पनि देख्न सक्नुहुन्छ । यो विकल्प थिचेपछि भने उक्त जानकारी प्रयोगकर्ताको फेसबुकमा सेयर हुन्छ ।