प्राविधिक शिक्षामा नमुना काम गर्दै १२ नम्बर वडा
Wednesday, December 21st, 2022, 5:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ पुष
नेपालगन्जको १२ नम्बर वडा सहरको मध्यविन्दुसँग जोडिएको छ । भौतिक पुर्वाधारको हिसाबले अन्य भन्दा अगाडी छ १२ नम्बर । विकसित सहरभित्रको वडा भएर पनि यहाँ थुप्रै समस्याहरु छन् जसले जनतालाई पिरोली रहन्छ । मुख्य समस्या मध्ये प्रमुख समस्या हो सामुदायिक विद्यालय र शिक्षाको स्तर दयनीय हुनु ।
१२ नम्बर वडामा रहेका थुप्रै निम्न वर्ग, अल्पसंख्यक, पछाडी परेका समुदायका बालबालिकाको शैक्षिक स्तर कमजोर छ । वडामा दुइ वटामात्रै सामुदायिक विद्यालय छन, ७ कक्षासम्म पढाई हुने बेलासपुरको बागेश्वरी आधारभुत विद्यालय र तीन कक्षा सम्म पढाई हुने कोरियनपुरको बाल्मिकी आधारभुत विद्यालय । जहाँ निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाहरु पढने गरेका छन् । आर्थिक समस्याकै कारण विद्यालयमा आउनेको संख्या निकै कम छ । हरेक वर्ष विद्यालय छोडनेको संख्या पनि बढिरहेको छ । यस्तो अवस्थामा उच्च शिक्षा र प्राविधिक शिक्षाको अवस्था त झन दयनीय छ ।

……..
सामुदायिक विद्यालयको शैक्षिक अवस्था र निम्न आर्थिक वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्ने कोष स्थापनाको लक्ष्य सहित नेपालगन्जको १२ नम्बर वडाले नयाँ योजनाको सुरुआत गर्दैछ । त्यो हो प्राविधिक तहमा अध्ययन गर्न चाहने अति विपन्न विद्यार्थीहरुको लागि शैक्षिक छात्रवृत्ति सहयोय कोष बनाउने । कोष कस्तो बनाउने र कसरी परिचाल गर्ने भन्ने बारेमा बुधबार वडा कार्यालयले सामाजिक विकास मञ्च(एसडिएफ)को सहयोगमा वडा भित्र रहेका अगुवा निजी व्यवसायी, सामाजिक व्यक्तित्व तथा संघ संस्थाहरुसँग समन्वयात्मक बैठक गरेको छ । वडा अध्यक्ष तरुण बज्राचार्यको अध्यक्षमा बसेको बैंठकले कोष स्थापना गर्ने कार्यलाई व्यवस्थित रुपमा अगाडी बढाउने तयारी सुरु गरेको छ ।
नेपालगन्जको १२ नम्बर वडाले गर्न लागेको कार्य बाँकेमा मात्र नभई नेपालकै स्थानीय तहका वडाहरुमा गरिएको नयाँ प्रयास हो । वडाभित्रको साझा समस्यालाई सामुहिक भावना र सहकार्यमा समाधान गर्ने पवित्र उद्देश्य राखेर योजना अगाडी सारेको बताउँछन् वडा अध्यक्ष तरुण बज्राचार्य । जुन आफनो विगतको भोगाईबाट पनि प्रेरित रहेको बताउँछन तरुण । उनले भने, ‘मैले भेरी प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङमा नाम निकालेको थिए । तर मसँग भर्ना हुनका लागि ५० हजार रुपैयाँ नभएर पढन सकिन । पछि महेन्द्र बहुमुखी क्याम्पसमा गएर पढे । म जस्ता धेरै भाईबहिनीहरु हाम्रो वडामा छन् । उनीहरुको प्राविधिक शिक्षा पढने चाहन भएर पनि आर्थिक अवस्था कारण पढन सकिरहेका छैनन । त्यस्तालाइ सहयोग गर्ने हाम्रो उद्देश्य छ ।’
प्राविधिक शिक्षानै किन रोजेको भन्ने प्रश्नमा तरुण भन्छन, ‘प्राविधिक विषय पढ्दा निश्चित कोर्ष पुरा गरेपछि रोजगार पाउने सम्भावना बढि हुन्छ । उनीहरुले आफनो सीपको प्रयोग गरेर पनि आर्थिक स्तर बढाउन सक्छन । त्यसैले अति विपन्न र आर्थिक अवस्था कमजोर भएकालाई हरेक वर्ष छात्रवृत्ति दिने योजना बनाएका छौं ।’

………..
कोष संचालन गर्नको लागि निजी क्षेत्रसँगको साझेदारीसँगै नगरपालिका, प्रदेश र संघीय सरकारसँग पनि सहकार्य गर्ने उनले बताए । आर्थिक विपन्नता कारण विचैमा विद्यालय छोडेका र छोड्ने सम्भावना भएका बालबालिकाहरुमा प्राविधिक शिक्षाको पँहुच बढाउने शैक्षिक छात्रवृत्ति कोषलाई दिर्घकालिन रुपमा संचालन गर्ने योजना रहेको अध्यक्ष बज्राचार्यले बताए ।
प्रारम्भिक रुपमा बनाइएको कार्यविधिमा डिप्लोमा(तिन वर्ष) मेडिकल तर्फ स्टाफ नर्स, फारमेसी, नर्सिङ, ईलेक्ट्रोनिक, सिभिल इन्जिनियरिङ, डेन्टल, फेशन डिजाईनर, होटल व्यवस्थापन, ओभरसियर, कम्प्युटर विज्ञान र १८ महिने प्रिडिप्लोमा अन्तर्गत सिभिल, अटोमोबाईल, कम्प्युटर अप्लिकेशन र सेक्रेटरियल म्यानेजमेन्ट, ईलेक्ट्रिकल, मेकानिकल, रेफ्रिजेरेशन र एसी इन्जिनियरिङ जस्ता विषयहरु पढाउन सकिने प्रस्ताव गरिएको छ ।

………..
बुधबार नेपालगन्जमा भएको बैठकबाट अक्षयकोष संचालकका लागि कार्यविधि मस्यौदा समिति गठन गरिएकोे छ । बाँकी कामहरु अब तिव्र गतिमा अगाडी बढाउने तयारी रहेको वडा कार्यालयले जनाएको छ । बैठकमा वडा सदस्य सुशिला पन्तले वडामा रहेका वास्तविक रुपमा पछाडी परेका व्यक्तिहरुलाई शिक्षाको माध्यमबाट माथि उठाउन कोषले सहयोग गर्ने बताईन । बागेश्वरी आधारभुत विद्यालयकी प्रअ सरिता श्रेष्ठले शिक्षा क्षेत्रमा पहिलो पटक वडामा अति आवश्यक काम हुन लागेकोले यसमा सबैले सहयोग गर्न अपिल गरिन् । सामाजिक विकास मंचले सहजीकरण गरेको बैठकमा करिब २ करोड रुपैयाँ सम्मको कोष निर्माण गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष बज्राचार्यले बताए ।
उनले भने,‘हामीले आफनो तर्फबाट अध्ययन गरेर बनाएको योजनाको बारेमा बैठकमा छलफल भयो । थुप्रै सुझाव र सल्लाह प्राप्त भएको छ । यसलाई आधार बनाउँदै कोष संचालन गर्ने कार्यविधिलाई छिटै अन्तिम रुप दिएर कार्यान्वयनमा लग्नेछौं । सम्भव भए यसै वर्ष हामी कार्यविधि अनुसार काम गर्नेछौं ।’