अनुदान रकम दुरुपयोग हुँदा सरकारको लगानी खेर
Friday, December 23rd, 2022, 6:30 am
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ७ पुष
२०७६ भदौं पहिलो साता एक करोड २५ लाख रुपैयाँको लगानीमा नेपालगन्जको बिपी चोकमा अत्याधुनिक मिटमार्ट स्थापना भयो । सो मिर्टमार्टको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले गरेकी थिइन् ।
नेपालगन्ज उप–महानगरपालिका १२ स्थित बीपी चोकमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५० लाख र व्यवसायीहरुको ७५ लाख गरेर एक करोड २५ लाखको लगानीमा सञ्चालन गरिएको थियो । तर, अहिले त्यहाँबाट मासु बिक्री गरिंदैन । तत्कालिन अस्थामा प्रदेश सरकार अन्तर्गत लुम्बिनी प्रदेशमा ४ वटा मिटमार्ट पसल मध्ये बाँकेकै ३ वटा पसलले अनुदान प्राप्त गरेका थिए । कोहलपुरमा रहेको ‘‘एमके पिग फर्म’’ मात्रै आफ्नो पहिलेकै स्वरुपमा सञ्चालनमा छ ।
प्रदेश सरकारबाट प्रदान गरिएको ५० लाख अनुदानको व्यवस्थापन कुशलतापूर्वक हुन नसक्दा एकातिर लगानी खेर गएको छ, भने अर्कोतिर सरकारको उदेश्य पुरा हुन सकेन । सरकारले जहिलेपनि चिनजान र पहुँचका भरमा अनुदानको रकम जथाभावी बाँड्ने गरेकाले वास्तविक रुपमा काम गर्ने युवा जहिलेपनि सरकारको सहुलियत र अनुदानको कार्यक्रमहरुबाट बञ्चित हुने गरेको युवा व्यावसायी प्रदिप सोनकर बताउँछन् ।
प्रदिप भन्छन, ‘चिनजान र भनसुनकै आधारमा नेताका गोजी भित्रका मान्छेहरुले मात्रै सरकारको अनुदान पाउँछन्, त्यही रकम हामी जस्ता पुराना व्यवसायीहरुलाई दिएको भए व्यवसाय बिस्तार गर्न कति सहज हुन्थ्यो , मलाई नै दिनु पर्छ भन्ने होईन, कमसेकम सरकारको पैसा खेर नजाओस् भन्ने हो ।’ उनले अगाडी भने, ‘जथाभावी बाँडेको सरकारको अनुदानको त्यो पैसा न उत्पादनशिल काममा लाग्छ न त आवश्यक परेको व्यक्तिले नै अनुदान पाउँछ, त्यै भएर सरकारले अनुदान दिंँदा अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ ।’
तर, लुम्बिनी प्रदेशका तत्कालिन मन्त्री आरती पौडेलको तर्क फरक छ । आफु सरकारमा हुँदा अनुदान प्राप्त गरेका सबै व्यावसायहरुको नियमित अनुगमन गर्ने गरेको र त्यस समयमा सबै व्यावसायहरु नियमित रुपमा सञ्चालनमा रहेको लुम्बिनी प्रदेशका तत्कालिन कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री समेत रहेकी पौडेल बताउँछिन् ।
आफु अहिले सरकारमा नभएको र सम्बन्धित व्यवसाय र व्यवसायीको अवस्थापनि आफुलाई थाहा नभएको बारे तत्कालिन कृषि, सहकारी तथा भूमी व्यवस्था मन्त्री पौडेलले स्पष्ट पारिन् । ‘म मन्त्री भएको बेला अनुगमन गर्न गएकै हो, त्यतिखेरको अवस्था पनि ठिकै थियो । तर, अहिले उनीहरुको अवस्थाबारे म जानकार छैन,’ उनले भनिन् ।
कृषि ज्ञान केन्द्र बाँकेका निमित्त कार्यालय प्रमुख सकिल अहमद भने अनुदानका नाममा आउने रकमको हिनामिना गर्नेमा साना–ठुला सबै कृषक तथा व्यावसायीहरु रहेको बताउँछन् । ‘अनुदानको ठुलो रकम मात्रै दुरुपयोग भएको छ, भन्ने छैन, साना र मझौला किसानहरु पनि छन्, जसले अनुदानको रकम हिनामिना गरेका छन्, तर अब पहिलेको जस्तो छैन,’ उनी भन्छन् ‘हामी प्राविधिकहरु अधिकांश समय फिल्डमै हुन्छौं, कृषि ज्ञान केन्द्र बाँकेबाट सञ्चालित कार्यक्रमहरुमा पछिल्लो समय अनुदान प्राप्त रकमको दुरुपयोग गरेको पाईएको छैन, तर कसैले त्यसो गर्छभने हाम्रो नजरबाट उम्किन सक्दैन ।’
अनुदान रकम कृषकलाई दिगो समयसम्म यसै क्षेत्रमा टिकाउन र उनीहरुलाई सशक्त बनाउनका लागि प्रदान गरिन्छ । तर, यसको सही सदुपयोग हुन नसक्दा न वास्तविक किसानले सो रकम पाउन सकेका छन, न त अनुदान पाउनेहरुले नै त्यस रकमको सही सदुपयोग गर्न सकेका छन् ।